मिटर ब्याजी पीडित आमाको वेदना : १४ लाखको ४४ लाख ब्याज तिर्दा पनि छोरो ३ महिनादेखि जेलमै

मिटर ब्याजी पीडित आमाको वेदना : १४ लाखको ४४ लाख ब्याज तिर्दा पनि छोरो ३ महिनादेखि जेलमै

वीरगन्ज : मिटर ब्याजीको चंगुलमा फसेर छोरो ३ महिनादेखि जेलमा परेपछि आमा ७३ वर्षीया सुनैनादेवी यादव बिलखबन्दमा परेकी छन् ।

घर व्यवहार चलाउन भन्दै रौतहटको मौलापुर नगरपालिका -२ सोनरनियाकी सुनैना देवीका छोरा दयाशंकर प्रसाद यादवले २०७६ असोजमा नाता पर्ने बाराको कलैया उपमहानगरपालिका- ५ घुसुकपुरका अनिल यादव प्रियदर्शीसँग १४ लाख रुपैयाँ ऋण लिएका थिए । अनिल , बाराकै प्रसौनी गाउँपालिका -३ नौतन गण्डकस्थित रामजानकी आधरभूत विधालयमा कार्यरत शिक्षक पनि हुन् । 

उक्त ऋणको ब्याज बापत दयाशंकरका परिवारले अनिललाई ४९ लाख रुपैयाँ तिरिसकेका छन् । तर ऋण लिदाका बखत पटक-पटक गरि दिएको चेक बाउन्सको मुद्दामा दयाशंकर गत जेठदेखि गौर कारागारमा कैदी जीवन बिताइरहेका छन् । 

बुधबार वीरगन्जमा पत्रकार सम्मेलन गरेकी वृद्दा सुनैना देवीले गहभरि आँशु पार्दै भनिन्, '१४ लाखको कर्जाको ब्याज ४९ लाख रुपैयाँ तिरिसकेका छौं, तैपनि छोरो ३ महिनादेखि जेलमै छ । '

अनिललाई ब्याज बापत आफूहरुले १० लाख , ८ लाख र २६ लाख गरि तीन पटकमा ४४ लाख रुपैयाँ बुझाइ सकेको भएपनि ऋण लिदाका बखत धितोस्वरुप दिएको चेक बाउन्सको मुद्दा हालेर अनिलले छोरालाई जेलमा हालेको सुनैनाको दावी छ।

उनी  भन्छिन् ,‘ऋण लिदा धितो भनेर अनिलको आफ्नै साला रामदिनेश यादवको नाममा २८ लाखको चेक काट्यौं , अनिलको भान्जी रुबी कुमारीको नाममा पनि ११ लाखको चेक काटेर दियौं , त्यहि दुईवटा चेक बाउन्स गराएर अनिलले मुद्दा हाल्यो अहिले छोरो जेलमा छ । '

पीडित सुनैना देवीको परिवारले १४ लाख रुपैयाँ ऋणको ब्याज तिर्ने क्रममा बापत १२ कठ्ठा खेत बेचेर र २ बिघा खेत दृष्टिबन्धकमा राखेर ऋण लिइ अनिललाई तीन पटकमा गरि ४४ लाख रुपैयाँ बुझाइ सकेका छन्।
पत्रकार सम्मेलनमा सुनैनाकी बुहारी सन्ध्या यादवले भनिन् ,'ऋण लिने बेलामा अनिल आफ्नै नातामा पर्ने र सरकारी विधालयको शिक्षक पनि भएकाले विश्वास गर्यौं तर अहिले आएर १४ लाख ऋणको ४४ लाख रुपैयाँ तिरिसक्दा पनि चेक बाउन्स गराएर मेरो श्रीमान्लाई जेलमा हालेको छ ।'

हालै सरकारले मिटर ब्याजीविरुद्ध उजुरी हाल्न आह्वान गरेपछि शिक्षक अनिलविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा सुनैना देवीसँगै तीनजनाको उजुरी परेको छ । अनिलविरुद्ध सुनैनासँगै बाराकै कलैया उपमहानगरपालिका वडा नम्बर १ का युगल किशोर यादव र महागढीमाइ नगरपालिका वडा नम्बर ७ का किशोरी प्रसाद यादवले पनि उजुरी हालेका छन् । 

तीनैजनाको उजुरीमा शिक्षक अनिलले आफ्ना साला समेत रहेका सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम दिनेश प्रसाद यादव र साथी कलैया उपमनपा ८ का सुनिल कुमार ठाकुरसँगै मिलेर मिटर ब्याजीको धन्दा चलाउँदै आएको उल्लेख छ । 

उजुरीकर्ता युगलकिशोरका अनुसार, शिक्षक अनिल , उनका साला वडा अध्यक्ष राम दिनेश र साथी सुनिलले गरी २७ लाख रुपैयाँ ऋण दिएर ८१ लाख रुपैयाँको कपाली तमसुक बनाएका छन् । ऋण बापत लिएको साँवा र त्यसको ब्याज बापतको सबै रकम चुक्ता गरिसकेको भएपनि ती तीनैजनाले कपाली तमसुकको कागज भने फिर्ता नगरेको पीडित भनिएका युगल किशोरको आरोप छ ।

युगलकिशोर भन्छन्, 'ऋणमा लिएको सावाँ र ब्याज सबै चुक्ता गरिसके तर उल्टै उनीहरुले ऋण तिरेको छैन भनेर कपाली तमसुक गराएको कागज फिर्ता नगरी अदालतमा मुद्दा हालि दिएका छन् । '

अर्का उजुरीकर्ता किशोरी प्रसाद यादवका अनुसार , उनले अनिलसँग मिटर ब्याजमा ७५ लाख रुपैयाँ ऋण लिएका थिए । तर उक्त ऋणको ब्याज मात्रै ५ करोड रुपैयाँ तिरिसकेको छ।  तर, अनिलले ऋणको साँवा र ब्याज अझै तिर्न बाँकी रहेको भन्दै आएका छन् ।

किशोरी भन्छन्,‘१ दिनको १ लाख रुपैयाँ ब्याज तिर्ने शर्तमा ७५ लाख लिएको थिए , अहिलेसम्म ५ करोड रुपैयाँ बुझाइसकेको छु तै पनि उसले अझै साँवा र ब्याज तिर्नुपर्छ भन्दै आएको छ ।'

किशोरीले अनिलको साला वडा अध्यक्ष रामविनेशको नाममा १ करोड १० लाखको र उसको साथी सुनिलको नाममा ४२ लाख रुपैयाँको चेक काटेर दिएको प्रमाण आफूसँग सुरक्षित रहेको पनि बताए । 
यसका अतिरिक्त अनिलको श्रीमती रम्भा देवीको नाममा आफूले तीन कठ्ठा जग्गा पास गरिदिएको पनि किशोरीले बताए । 

किशोरी भन्छन् ,‘अनिललले आफ्नो साला वडाअध्यक्ष रामदिनेश र साथी सुनिलसँग मिलेर वर्षौदेखि मिटर ब्याजीको धन्दा चलाउँदै आएको छ । यता शिक्षक अनिलले भने आफू मिटर ब्याजीको धन्दा चलाउने व्यक्ति नै नभएको दाबी गरेका छन् । 

बुधबार अन्नपूर्णकर्मीसँग कुरा गर्दै यादवले आफूलाई बदनाम गर्न केहि व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको बताए । अनिलले भने ,‘दयाशंकरलाई मैले ८ लाख रुपैयाँ सापटीको रुपमा दिएको थिएँ , पछि उसले रकम फिर्ता गर्‍यो , मैले उसँग एक रुपैया पनि ब्याज लिएको छैन , सबै आरोप निराधार हुन् । '

अर्का उजुरीकर्ता युगलकिशोर र किशोरीका सम्बन्धमा अनिलले भने ,‘उनीहरु त आफै ठग हुन्  , गाउँका मान्छेको करोडौं रुपैयाँ ठगि गरेर बसेका छन् , मलाई बदनाम गर्न उनीहरुले झुठा उजुरी हालेका छन् । 

अनिलले आफूविरुद्ध लगाइएका आरोपको खण्डन गर्न आफूले पनि केहि दिनमै पत्रकार सम्मेलन गर्ने पनि बताए । अनिलले भने,‘म पनि पत्रकार सम्मेलन गरेर उनीहरुको पर्दाफास गर्छु ।'  उनले पीडित भनिएकाहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालिसकेकाले प्रहरी प्रशासनले गर्ने छानबिनबाटै सत्यतथ्य कुरा बाहिर आउने पनि बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.