'अफ सिजन' पर्यटकले खुम्बुका व्यवसायी उत्साहित
सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौं हिमालहरूको प्रवेशद्वार मानिने खुम्बुमा यस वर्ष 'अफ सिजन'मा पनि पर्यटक आवागमन रोकिएको छैन।
सगरमाथा क्षेत्रमा सिजनमा पर्यटकले भरिभराउ हुने र 'अफ सिजन'मा प्रायः सुनसान हुने गर्दछ। तर यस पटक भने 'अफ सिजन'मा पनि पर्यटक आवागमन नियमित हुँदा व्यवसायीहरू उत्साहित बनेका छन्।
खुम्बुमा वर्षको दुई सिजन वैशाख, जेठ, असार, असोज, कार्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ। विगतका वर्षहरूमा सिजन सकिएपछि सुनसान हुने खुम्बु क्षेत्रमा यस वर्ष पर्यटकको आवागमन नियमित हुँदा आफूहरूमा उत्साह थपेको नाम्चेकी होटल व्यवसायी आङ डोल्मा शेर्पाले बताइन्।
सिजनमा पर्यटकले भरिभराउ हुने यस क्षेत्रमा यो वर्ष भने सिजन सकिएपछि पनि पर्यटक आवागमन नरोकिदा लुक्लामा हवाई उडान समेत बाक्लिएको छ। तर मौसमले भने केही चुनौति थपेको तारा एयरलाइन्स लुक्लाका इन्चार्ज अमृत मगरले बताए।
उनले भने- 'मौसमले च्यालेन्ज दिँदा उडान प्रभावित भइरहेको छ। उडान हुँदा त विदेशी तथा स्वदेशी पर्यटकहरू आइरहेका छन्, राम्रो छ यो सिजन त पर्यटकको। अघिल्लो वर्ष 'अफ सिजन'मा बन्द हुने होटलहरू पनि अहिले खुला छ। पर्यटकको चाप अझ बढ्दै छ।'
'अफ सिजन'मा खुम्बु भ्रमण गर्ने पर्यटकहरूबाट सगरमाथा राष्ट्रिय निकुञ्जले ३२ लाख ७० हजार १०० रुपैयाँ राजस्व संकलन गरेको छ। गत असारदेखि भदौ १५ सम्म १२९९ विदेशी र १७६ नेपाली पर्यटक प्रवेश शुल्कबाट सो राजस्व संकलन भएको हो।
निकुञ्जले सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति १५००, अन्य मुलुकका पर्यटकबाट ३००० र नेपाली पर्यटकबाट १०० रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ।
पर्यटक संख्या बढेसँगै उनीहरूको इन्ट्रि तथा चेक जाँच गर्नमा निकुञ्जका कर्मचारीहको व्यस्तता बढेको निकुञ्जका निमित्त प्रमुख विष्णु रोकायले बताए।
'अघिल्लो वर्ष तिर त यतिखेर पर्यटक आगमन ठप्प नै हुन्थ्यो, हाम्रा निकुञ्जका कर्मचारीहरू पनि फु्र्सदिला हुन्थे, तर यो वर्ष त 'अफ सिजन' मा पर्यटक आवागमन बढेसँगै चेकपोष्टका हाम्रा साथीहरूमा पनि व्यस्तता बढेको छ,' उनले भने।
अघिल्लो वर्षहरूमा कोरोनाका कारण लामो समय घर तथा कोठाभित्रै सीमित बनेका पर्यटकहरू अहिले 'अफ सिजन'को समेत प्रवाह नगरि भ्रमणमा निस्किन थालेका छन्।
लामो समय कोरोनाले थलिएको पर्यटनलाई उकास्नका लागि स्थानीय सरकारसँगै होटल व्यवसायी संघले विशेष प्याकेजका कार्यक्रम सञ्चालन गर्न सकेमा अफ सिजनमा पनि खुम्बुमा पर्यटकको आवागमन हुने सरोकारवाला बताउँछन्।