मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा यार्तुङ महोत्सव सुरु

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा यार्तुङ महोत्सव सुरु

जोमसोम : हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा शुक्रबारदेखि यार्तुङ महोत्सव सुरु भएको छ। 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका १९ वटा गाउँहरूमा बर्सेनि आलोपालो महोत्सव सञ्चालन हुँदै आएको छ।

यस वर्ष छुक नरसिंह युवाक्लव छुसाङको आयोजना तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आर्थिक सहयोगमा चौथो संस्करणको यार्तुङ महोत्सव सञ्चालन गरिएको हो।

बर्खायामको मौसममा खेतीपातीको काम सकेर अन्नबाली घरभित्र भित्र्याई सकेपछि वारागुङ मुक्तिक्षेत्रका गुरुङ समुदायका मानिसहरूले यार्तुङ पर्व मनाउने गरेका छन्। 

वारागुङका १९ वटै गाउँहरूमा पर्व मनाइने गरिएपनि पछिल्लो समय महोत्सवको रूपमा मनाउन थालिएको हो। यार्तुङ पर्वमा सबै गाउँका ईष्टमित्र, छरछिमेक र आफन्तहरू एकै ठाउँमा भेला हुने, मौलिक भेषभुषामा सजिएर सांस्कृतिको उजागर गर्ने, मिठो खाने र आत्मियता साटासाट गर्ने प्रचलन छ।

यातुङ पर्वमा पुरुषहरू घोडा दौडाएर साहसिकता प्रदर्शन गर्ने, तारो हान्ने खेल खल्ने गर्छन भने महिलाहरू सांस्कृतिक कार्यक्रममा सरिक भएर स्याब्रो नाच देखाउन गर्छन्।

केही वर्षदेखि धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यो पर्वलाई स्तरवृद्धि गर्दै विभिन्न प्रतियोगिता समावेश गरेर महोत्सवको रूपमा सञ्चालन गर्ने गरिएको छ।

महोत्सवमा कलासंस्कृति र परम्परालाई संरक्षण गर्दै सेभेन ए साईड फुटबल, तारो हान्ने खेल, डोरी तान्ने खेल र घोडा दौड प्रतियोगिता सञ्चालन हुने छुक नरसिंह युवा क्लवले जनाएको छ।

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले महोत्सवको उद्घाटन गरे। उनले यार्तुङ महोत्सव २०७९ लेखिएको ब्यानरमा हस्ताक्षर पनि गरेका छन्। 

महोत्सवको उद्घाटन गर्दे मन्त्री गुरुङले सांस्कृतिक पर्वलाई संस्थागत गर्दै खेलकुद क्षेत्रको विकास गर्न पर्याप्त सम्भावना रहेको बताए। हिमाली जिल्ला मुस्ताङमा कृषि र पर्यटनका साथसाथै हाईअल्टिच्युड खेल पर्यटनले समेत जोड्न सके पर्यटन क्षेत्रको विकासमा योगदान पुग्ने उनको भनाइ छ। 

गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले यार्तुङ पर्वले खेलकुद क्षेत्रको विकास र आपसी सम्बन्धलाई घनीभूत बनाएर लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले मुस्ताङमा खेलकुदको प्रचृर सम्भावना रहेको र वारागुङ-२ को छेङ्गुरमा हाईअल्टिच्युड खेल पूर्वाधार निर्माण गर्न जग्गा समेत प्राप्त भइसकेको बताए।


महोत्सव अवलोकन गर्न वारागुङ मुक्तिक्षेत्रका १९ वटै गाउँका मानिसहरू उपस्थित भएका छन्। महोत्सवका खेलकुद संयोजक एवं छुक क्लवका अध्यक्ष टसी नाम्ग्या गुरुङ (कान्छा)ले वारागुङ मुक्तिक्षेत्रको १९ वटै गाउँहरूलाई चिनाउन महोत्सव आयोजना गरिएको बताए। 

परम्परागत सांस्कृतिक पर्वलाई संस्थागत गर्दै खेलकुद क्षेत्रको विकास गर्न यार्तुङ पर्व महोत्सवको रूपमा सञ्चालन हुन थालेको उनले उल्लेख गरे।

महोत्सव तीन दिनसम्म सञ्चालन हुने छ। 

महोत्सवमा परम्परागत घोडा दौड प्रतियोगिताको च्याम्पियनलाई नगद ५० हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेलाई ३० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।

तारा खेलतर्फ प्रथम हुने टोलीले क्रमशः २० हजार र १० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र, सेभेन ए साईड फुटबल तर्फको च्याम्पियनले ५० हजार र उपविजेता टिमले ३० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन्।

बर्सेनि जनैपूर्णिमाको सेरोफेरोमा वारागुङ मुक्तिक्षेत्रमा यार्तुङ पर्व मनाउने चलन रहेको वारागुङ मुक्तिक्षेत्र गापाका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले बताए।

धर्मसंस्कृतिलाई साथसाथै लिएर गाउँपालिकाले खेलकुद क्षेत्रको विकास र प्रर्वद्धन गर्न यार्तुङ महोत्सवलाई बजेट विनियोजन गर्ने गरेको अध्यक्ष गुरुङले उल्लेख गरे। पालिका भित्रका कुनै वडाले यार्तुङ महोत्सव सञ्चालन गर्न चाहे बर्सेनि आलोपालो बजेट उपलब्ध गराउने उनले बताए।

वारागुङ मुक्तिक्षेत्रका कूल १६ वटा क्लवले यार्तुङ महोत्सवको विभिन्न खेलमा भाग लिने छुक नरसिंह युवा क्लवले जनाएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको पुराङ रानीपौवाबाट सुरु गरिएको यार्तुङ महोत्सव कागबेनी, फल्याक हुँदै यसवर्ष छुसाङले आयोजना गरेको हो। 

महोत्सवका लागि वारागुङ मुक्तिक्षेत्रले १० लाख विनियोजन गरेको छ। महोत्सवको क्रममा साँझ विभिन्न सास्कृतिक कार्यक्रमसमेत आयोजना गरिने बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.