सिनेमाको करिब शतक
होटल ग्य्रान्ड क्याफे फ्रान्सको राजधानी पेरिसको पुरानो होटल हो। जहाँ सन् १८९५ डिसेम्बर २८ मा पहिलोपटक सिनेमा देखाइएको थियो। त्यसको ठीक ५२ वर्ष अर्थात् आधा शताब्दीपछि मात्र नेपालमा सिनेमा देखाइएको थियो, सिंहदरबारको नाचघरमा। अर्थात्, १९९० भदौ १७ गते अंग्रेजी भाषाका छोटा सिनेमा देखाइएका थिए।
नेपालमा सिनेमा प्रदर्शन भएको आज ठीक ८९ वर्ष भयो। जनसाधारणले सिनेमा हेर्न पाएका त २००६ सालदेखि मात्र हो। विश्व समुदायले त्यसबेला हेरेको पहिलो फिल्म थियो, विश्वमै पहिलो बनेको अगस्त्य लुमिएर र उनका भाइ लुई लुमिएरले बनाएको मूक चलचित्र। जुन करिब ५२ सेकेन्ड मात्र लामो थियो। नेपालीले त्यो सिनेमा पछि आएर वा युट्युबको आगमन भइसकेपछि भाग्यवश त्यही विधामा हेर्न पायौं। त्यतिबेलासम्म त्यो सिनेमाले ११० वर्षको उमेर कटाइसकेको थियो।
अब रह्यो, नेपालमा देखाइएको पहिलो सिनेमाका बारेमा। कुञ्जर शमशेरको दाबीअनुसार शासनसत्तामा भएका राणा परिवार र तिनका निकटवर्तीका लागि गेहेन्द्र शमशेरको व्यवस्थापनमा देखाइएका ती छोटा सिनेमा युद्धसम्बन्धी थिए। ती सिनेमामा ध्वनि जडान भइसकेको थियो। विश्व सिनेमामा ध्वनि सन् १९२६ जोडिएको हो। ती विकास र त्यसको आरोह–अवरोहसित परिचित नभए पनि नेपालीले एकैपटक सवाक चलचित्र हेर्न पाएका थिए।
दरबारभित्र सिनेमा देखाइएको १६ वर्षपछि मात्र जनसाधारणले हलमा गएर सिनेमा हेर्न पाए। काठमान्डू टाउन हलको सिनेमा घरमा जसको पछि जनसेवा नामकरण गरियो। राणा शासकद्वय जुद्ध शमशेरको शासनकालमा दरबारमा सिनेमा आयो। उनका भाइ पद्म शमशेरको शासनकालमा हलमा सिनेमा आयो। र पद्म शमशेरकै कालमा जनसाधारणका निम्ति हल खोलियो। त्यसपछिका राणा प्रधानमन्त्री मोहन शमशेरकै कृपाले हप्तामा एकदिन महिलाको व्यवस्थापनमा महिलाले मात्र जनसेवा हलमा सिनेमा हेर्न पाउने व्यवस्था सुरु भयो।
९० पछिको चलचित्र यात्रा
भनिन्छ, ९० सालमा नेपालमा दुई कुरा आए, भदौ महिनामा सिनेमा। माघ महिनामा भुइँचालो। १९९० सालदेखि २००६ सालसम्ममा नेपालमा विभिन्न ठाउँमा प्रोजेक्टरमार्फत सिनेमा देखाउने पहल नभएका होइनन् तर असफल भए। जब साहु श्यामशंकर श्रेष्ठले काठमान्डू टाउन हल (हालको विशाल बजार रहेको स्थान) बनाए, त्यही काठमान्डू सिनेमा हलको जन्म भयो।
श्यामशंकरले लामो समय चलाउन नसकेको यो हलपछि ताहाचल निवासी कृष्णबहादुर चित्रकार र दयारामभक्त माथेमाले संयुक्त रूपमा चलाए। यो हलमा हिन्दी र अंग्रेजी फिल्म देखाइएको थियो। हेर्नेहरूको संस्मरण अहिले पनि सुन्न पाइन्छ। काठमान्डू जनसेवा हल चलेपछि विस्तारै अन्य साहु महाजनले पनि हल बनाउन थाले। त्यसमध्ये थबही (हालको ठमेल) को चलचित्र भवन, जमलको प्रभा हल र विश्वज्योति हल, थापाथलीको मुनलाइट, हात्तीसारको जय नेपाल, पाटनको अशोक, भक्तपुरको नवदुर्गा प्रमुख भए। केही मान्छेले ललितपुरस्थित जावलाखेल (हालको स्टाफ कलेज भएको स्थान) मा पनि एउटा हल भएको चर्चा गर्छन् तर त्यसको प्रामाणिक दस्तावेज भेटिएको छैन।
काठमान्डूको विश्वज्योति हलको महाकवि लक्ष्मीप्रसाद देवकोटाले उद्घाटन गरे। उनैले नामकरण गरिदिएका हुनाले यो २०१६ सालअघि नै बनेको हो भन्ने प्रमाण देखिन्छ। यसका प्रथम सञ्चालक देवेन्द्रशमशेर राणा थिए। पछि यो हल गरिबदास सराफले किने। थापाथलीको मुनलाइट हल नेपालमा संसदीय दल स्थापना भएयता सबैभन्दा चर्चामा रहेको हल मानिन्छ। यही हलमा भाषण गर्दै गर्दा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला यहीँबाट गिरफ्तार भएका थिए। पछि विस्तारै यो हलको नाउँ हराउँदै गयो र अहिले त्यहाँ कलेजको स्थापना भएको छ।
जमलको प्रभा हल २०१८–१९ सालसम्म चर्चा थियो। यही हलमा दार्जिलिङबाट आएका गायक संगीतकार अम्बर गुरुङले तत्कालीन राजा महेन्द्रलाई आफ्ना गीतहरू सुनाएको सन्दर्भ अहिले पनि चर्चाको विषय बन्छ। यो हल पनि २० को दशकपछि चर्चाबाहिर हुँदै गयो। जनसेवा हल २०१८ पछि नै नामनिशान मेटियो र यसको सन्दर्भ लामै हुन सक्छ।
सिनेमाको दोस्रो अध्याय
नेपालमा जनसाधारणले सिनेमा हेर्न थालेको ११ वर्षपछि मात्र पहिलो वृत्तचित्र बन्यो। श्री ५ महेन्द्रको ४२औं शुभजन्मोत्सवमा आधारित उक्त वृत्तचित्रका निर्देशक थिए, हीरासिंह खत्री। भारतको उत्तराखण्डमा जन्मेका हीरासिंहको अध्ययन देहरादूनको एपी मिसन स्कुलमा भएको र त्यहीँ पढेका उनका सहपाठी शेरबहादुर मल्लमार्फत तत्कालीन राजा महेन्द्रलाई भेटेर सिनेमा बनाउने इच्छा जाहेर गरे। त्यसपछि उनले नेपालमा आएर सिनेमा बनाउन थाले।
शेरबहादुरकै सिफारिसमा हीरासिंहले महेन्द्रको उक्त वृत्तचित्र बनाए। यो अहिलेसम्म पहिलो नेपाली वृत्तचित्र मानिन्छ। कुञ्जर शमशेरका अनुसार बेलायतीहरूले अंग्रेजीमा बनाएर नेपालीमा डब गरिदिएको ‘भद्रकालिनी कृपा राख्यो रे’लाई पनि सूचीमा राख्नुपर्ने देखिन्छ। त्यसपछि दार्जिलिङको चिया बगानमा कार्यरत मजदुरबारे बनेको ‘तीनपाते सुइरो’लाई दोस्रो वृत्तचित्र मान्नु पर्ने दाबी साहित्यकार नगेन्द्र शर्माको छ।
हीरासिंहले वृत्तचित्र पछि कथानक चलचित्र ‘आमा’ बनाए। राष्ट्रिय निर्देशन मन्त्रालयअन्तर्गत प्रचारप्रसार डिभिजनले बनाएको आमाको कथामा पटकथा संवाद सूचना विभागकै कर्मचारी दुर्गाप्रसाद श्रेष्ठको थियो। यसवर्ष जगदम्बाश्रीबाट सम्मानित हुन लाग्नुभएका श्रेष्ठले यसपछि कुनै फिल्ममा सम्बद्धता देखाएनन्। ‘आमा’को प्रिमियर सो हुँदा नायक नायिका रिक्सामा चढेर हलमा आएको स्मरण सुनाउने धेरै छन्। आमा सिनेमासँगै सुमनाञ्जली फिल्म्सले ‘माइतीघर’ नामक चलचित्र बनायो।
अभियानको सुरुआत
‘माइतीघर’का निर्माता जनरल नरशमशेर र डा. जोगेन्द्र झा हुन्। तर यसलाई बनाउने र यसको निर्माणको पहल गर्ने श्रेय एकैजना पात्रलाई जान्छ, ती हुन् नन्दकिशोर तिमिल्सेना। भारतको मुम्बईमा अजन्ता आर्टस्मा तीन नेपाली कार्यरत थिए। किशोर तिमिल्सेना भनेर चिनिने नन्दकिशोर तिमिल्सेना, बीएस थापा भनेर चिनिने भीमसिंह थापा र केबी भनेर चिनिने खड्गबहादुर लामिछाने। निर्माण नियन्त्रकका रूपमा बम्बईमा कार्यरत तिमिल्सेनाले अजन्ता आर्टस्मा प्रमुख सहायक निर्देशक भएर काम गरिरहेका बीएस थापालाई निर्देशक बनाउने जिम्मा लिएर निर्माता खोज्न नेपाल आए। भानु राणामार्फत उनी नरशमशेरको द्वारसम्म पुगे। यहीँबाट यो अभियान सुरु भयो।
चलचित्रमा नायक बन्न इच्छुक भानु राणामार्फत नै तिमिल्सेनाको झासित पनि भेट भयो। भर्खरै हिन्दी फिल्म ‘पहाडी जवान’ बनाएका मोहनदास श्रेष्ठको होटल पारसमा यो सबै छलफल सम्पन्न भएपछि त्यही होटलमै पछि गायकगायिकाको स्वर परीक्षा पनि लिए संगीतकार जयदेवले। सुनील दत्तको अजन्ता आर्टस्को ‘मुझे जिने दो’मा संगीतकारका रूपमा काम गरिरहेका जयदेवले गायक गायिकामा प्रेमध्वज प्रधान, नारायणगोपाल, सीपी लोहनी, अरुणा लामा आदिलाई चयन गरेका थिए। केबी लामिछानेकै कथामा बनेको माइतीघर प्रदर्शन हुने बेलासम्म यसको कार्यालय रहेको ठाउँ ‘फिफ्वः ल’को नाउँ नै पछि गएर माइतीघर हुन गयो।
माइतीघरको अर्को रमाइलो पक्ष यसमा गायक बन्न गएका सीपी लोहनी नायक भए भने पहिलोपटक गीत गाउन गएका गायक नारायणगोपाल र पहिलोपटक नायक बन्न गएका भानु राणा दुवै अस्वीकृत भए। माइतीघरको प्रदर्शन पछि किशोर तिमिल्सेना फिल्म वितरकमै सीमित रहे। बीएस थापाले लक्ष्मी, गंगाधामजस्ता फिल्म बनाए। कथाकार केबी लामिछानेले धेरै पछि प्रकाश थापाको निर्देशनमा सन्तान नामक एउटा फिल्मको कथा लेखे। लामिछाने पछि चलचित्र नायक विनोद खन्नाका पीए भएर पनि काम गरे। एउटा हिन्दी फिल्म पनि बनाए ‘जल महल’। लामिछानेकी छोरी पूर्णिमा लामिछानेले अंग्रेजी फिल्म पत्रिका ‘फिल्म फेअर’मा सहसम्पादकका रूपमा काम गरिन्।
सानो कथा, अब इतिहास
किशोर तिमिल्सेनाले निजी क्षेत्रबाट फिल्म बनाउन जुन अहम् भूमिका खेले त्यसपछि सिक्किमका राधेश्याम प्रधानले एचकै कौललाई ल्याएर हिन्दी सिनेमा ‘रोमियो इन सिक्किम’ बनाए। रोमियो इन सिक्किममै काम गर्ने दुई युवक चन्द्रप्रकाश घिमिरे र तुलसी घिमिरे यही फिल्ममार्फत मुम्बई गए। पछि यी दुईले नेपाली सिनेमामा योगदान पुर्याए। सिक्किमबाट प्रधानले हिन्दी सिनेमा रोमियो इन सिक्किम बनाउनुअघि काठमान्डूका मोहनदास श्रेष्ठले नायक भएर पहाडी जवान बनाइसकेका थिए। यी दुवै फिल्म हिन्दीमा बनेपछि बंगाली फिल्म बनाउने चलचित्र निर्माता भरतशमशेर राणाले कोलकातामा चित्राञ्जली फिल्म्सको स्थापना ३० को दशकमै गरे।
भरतशमशेरले विश्वप्रसिद्ध फिल्म निर्देशक सत्यजित रेसित ‘सीमाबद्ध’ बनाए भने केही अन्य बंगाली निर्देशकसित पनि उनले फिल्म बनाएका छन्। २०३९ सालमा नेपालमा फेरि निजी क्षेत्रबाट फिल्म बनाउने पहल सुरु भएपछि सिनेमा यात्रा विभिन्न किसिमले अघि बढ्यो। २०३९ सालभन्दा अघि नेपालमा राष्ट्रिय निर्देशन मन्त्रालयअन्तर्गत प्रचारप्रसार डिभिजनले ‘हिजो आज भोलि’ र ‘परिवर्तन’ बनायो। २०२८ सालमा शाही नेपाल चलचित्र संस्थान स्थापना भएपछि यसले ‘मनको बाँध’, ‘कुमारी’, ‘सिन्दूर’ र ‘जीवन रेखा’ बनायो।
२०३९ सालको सञ्चार नीति परिवर्तन भएपछि एक्कासि तीन निर्माण कम्पनी देखा परे, ओम त्रिनेत्र प्रोडक्सन, सुजाता फिल्म्स् र हेम्ज एक्सपेरिमेन्टल मुभिज। यसपछि बाँकी सबै इतिहास भयो। नाटककार बालकृष्ण समले भनेका छन्, ‘हामीसँग सानो कथा थियो अब इतिहास भयो।’