नेचुङमा निर्माणाधीन बीओपी भवन अन्तिम चरणमा
जोमसोम : कोरला नाकास्थित लोमान्थाङ-२ छोसेरको नेचुङमा निर्माणधीन सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवन निर्माण अन्तिम चरणमा पुगेको छ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको नाकामा निर्माण हुँदै गरेको बीओपीको ९० प्रतिशत काम सकिएको छ।
बीओपीको सशस्त्रका पूर्व अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले उद्घाटन गरेका थिए। सशस्त्रको भौतिक संरचना निर्माण नभएकाले बीओपीलाई छोसेको नेचुङ भन्सारको स्वामित्वमा रहेको क्वारेन्टिन भवनमा राखिएको छ।
नेचुङमा बीओपी स्थापना भएलगत्तै ६ महिनापछि पूर्वाधार निर्माण गर्न सरकारले बजेट उपलब्ध गराएको थियो। पूर्व गृह सचिव महेश्वर न्यौपाने र पूर्व सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल लगायतको टोलीले भवन शिलन्यास गरेका थिए।
भवन निर्माणका लागि ६ करोड ३५ लाख लागतमा नापी कन्ट्रक्सनसँग बोलपत्रमार्फत ठेक्का सम्झौता गरिएको थियो।
त्यहाँ बाह्रै महिना सशस्त्र प्रहरीका सुरक्षाकर्मी बस्न सक्ने गरी भौतिक संरचना निर्माण थालिएको थियो। सम्झौताअनुसार भवन निर्माण आर्थिक वर्ष २०७७/०७८ को असारमा सकिनुपर्ने थियो।
निर्माण कम्पनीले बीओपी भवन निर्माणको काम गर्दै जादा कोरोना, हिमपात, अत्यधिक चिसो र बेनी-जोमसोम सडकमा बाढीपहिरो र नदी कटानका कारण निर्माण सामग्री ढुवानीमा असहज हुँदा भवन निर्माणले गति लिन सकेको थिएन।
निर्माणधीन दुई तले ५५ कोठे बीओपी भवनको प्राविधिक पक्ष हेर्ने जिम्मा लिएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) इन्जिनीयर सञ्जय मण्डलले बीओपीको ९० प्रतिशत भौतिक प्रगती भइसकेको जानकारी दिए।
'बीओपी भवन निर्माण अन्तिम चरणमा पुगेको छ। भवनको संरचना तयार भइसकेको छ', उनले भने, 'अब भवन रंङरोगन गर्ने र फिनिसिंङ गर्ने लगायतका काम बाँकी छन्। चालु आर्थि वर्षभित्र सबै काम सकिने छ।'
नाकाको सीमावर्ती क्षेत्रको सुरक्षा निगरानी, सम्भावित अपराध नियन्त्रण र स्थानीय नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले बीओपी स्थापना गरिएको हो।
सशस्त्रको बीओपीले कोरलाको १६ देखि ३२ नम्बर सीमा स्तम्भवको अनुमगन गरिसकेको छ। सरकारले उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार गर्ने दीर्घकालीन लक्ष्यअनुसार कोरला क्षेत्रमा बीओपी स्थापना गरेको थियो।
भारतीय नाकाबन्दीपछि कोरला नाका क्षेत्र आसपास सुरक्षा उपस्थित मजवुत पार्न सशस्त्र प्रहरीलाई नेचुङमा ३३, जनपथ प्रहरीलाई १३, अध्यागमनलाई १२, भन्सारलाई १०९ रोपनी र लोमान्थाङ तलको थुर्लुङफाँटमा १२७१ रोपनी जग्गा सरकारको नाममा दर्ता भइसकेको छ।
यस्तै नेचुङमा व्यवस्थापन गरिएको जग्गा कोरला नाकाभन्दा टाढा अपायक भएकाले पछिल्लो समय उत्तरी कोरला नाकाको दश गजा क्षेत्रको दाँया र बाँया गरी १ हजार रोपनी जग्गा भन्सार लगायतका संरचना निर्माण गर्न जग्गा प्राप्ति गरी सरकारको नाममा लालपुर्जासमेत बनिसकेको छ।
लोमान्थाङको थुर्लुङ फाँटमा नेपाली सेनाले भौतिक संरचना निर्माण गरी क्याम्प समेत बसिसकेको छ। उपल्लो मुस्ताङमा सुरक्षा उपस्थित बलियो बन्दै गएपछि सीमाक्षेत्रका बासिन्दाले शान्ति सुरक्षाको प्रत्यक्ष अनुभूति गर्न पाएका छन्।