गर्भवतीमा सवारी जोखिम

गर्भवतीमा सवारी जोखिम

सामान्यतया गर्भवती महिलाले यात्रा गर्नु हुँदैन भन्ने मान्यता छ। विशेषगरी पहिलो तीन महिनामा लामो यात्रा तथा गाह्रो कामहरूले गर्भ खेर जान सक्ने हुन्छ। अन्तिमको तीन महिनामा पनि यात्रा तथा गाह्रो वा थकित हुने गतिविधिले समय नपुगी व्यथा लाग्न सक्छ। त्यसैले लामो यात्रा नगर्ने सल्लाह चिकित्सकको हुन्छ। गृहिणी महिलाले गर्भका लागि समय सहजै छुट्ट्याउन सके पनि कामकाजी महिलालाई यो सहज हुँदो रहेनछ।

गर्भको ९ महिना अनि सुत्केरी तथा स्तनपानका लागि ६ महिना गरी १५ महिना घरमा बस्न (बिदा) काम गर्ने संस्थाहरूले स्वीकृत नदिन सक्छ। यस्तो अवस्थामा कार्यालय जान र आउन सजिलो साधनका रूपमा प्रयोगमा छन्, दुईपांग्रे सवारी। दैनिक प्रयोगमा स्कुटर सबैभन्दा सजिलो साधन बनेको छ। महिलाले सारी, मिनीस्कर्ट, पाइन्ट, कुर्ता सुरुवाललगायत जुनसुकै पहिरनमा स्कुटर सजिलै चलाउन सक्छन्। स्कुटर बाइकभन्दा चलाउन पनि सजिलो छ। हलुका हुनाले महिलाले स्कुटर सजिलै चलाउन सक्छन्। यातायातमा समस्या भोगिरहेका युवा पुस्ताका लागि स्कुटर उपयुक्त साधन बनेको छ।

नेपालमा करिब ३० प्रतिशत बजार ओगटेका दुईपांग्रे साधनहरूमा पनि पछिल्लो चरणमा स्कुटरको संख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्छ। स्कुटर चलाउने महिलाहरू गर्भवती भएपछि धेरैले यसप्रति सजग भएको र ‘कुदाउन मिल्छ कि मिल्दैन ?’ जिज्ञाशा राख्ने गरेको पनि पाइन्छ। सामान्यतयाः गर्भवती भएपछि स्कुटर नकुदाउनु राम्रो हो। तर, सधैं व्यावहारिक नहुन सक्छ। जागिरका लागि होस् या अध्ययनका लागि, सवारीसाधन रोज्नै पर्ने हुन्छ। सबै स्थानका लागि सार्वजानिक साधनहरूको रुट नमिल्न सक्छ। ट्याक्सी महँगो हुन्छ। त्यसैले विद्यार्थी तथा कामकाजी गर्भवतीलाई स्कुटर राम्रो विकल्प हुन सक्छ।

हुन त गर्भवती सबैले स्कुटर कुदाउनै हँुदैन भन्ने छैन तर स्कुटरले गर्भलाई जोखिम थपिन सक्छ। विशेषगरी पहिलो तीन महिना र उच्च जोखिममा रहेको गर्भवतीहरूका लागि स्कुटर चलाउनु धेरै जोखिमपूर्ण हुन सक्छ। विशेषगरी पटकपटक गर्भपतन भएका, सालनाल तल रहेको (लो लाइन प्लासेन्टा), उच्च रक्तचाप तथा जोखिमपूर्ण गर्भ रहेकोे अवस्थामा गर्भवती महिलाले स्कुटर कुदाउनु हुँदैन। अझ जोखिमपूर्ण वा लामो यात्रा नगरेको राम्रो हुन्छ। पहिलो तीन महिना खानामा रुचि नहुनु र बान्ता हुने समस्या हुने हुँदा होसियारी अपनाउनु पर्छ।

यस्तो अवस्थामा गर्भको इन्पलान्टेसन भएको धेरै समय नभइसकेका कारण गर्भ बढी जोखिममा हुन्छ। त्यसैले पहिलो तीन महिना धेरै स्कुटर चलाउनु वा लामो यात्रा गर्नुले गर्भ तुहिने खतरा रहन्छ। त्यस्तै अन्तिम तीन महिनामा चाँडै थाक्ने, पेट ठूलो हुने समस्या हुन्छ। यस अवस्थामा पनि धेरै स्कुटर कुदाउनु वा लामो यात्रा गर्नुले गर्भको अवधि नपुग्दै व्यथा सुरु हुन सक्छ। गर्भावस्थामा यात्रा गर्नु राम्रो होइन। गर्नै परे १४ देखि २८ हप्ताको समय केही सुरक्षित मान्न सकिन्छ।

स्कुटर अर्थात् दुईपांग्रे सवारीसाधन अन्य साधनको तुलनामा अलिक बढी जोखिमपूर्ण हुन्छ। दुर्घटना आफ्नो कारण वा गल्तीले मात्र हुँदैनन्। आफूले राम्ररी र होसियार भएर स्कुटर चलाउँदा चलाउँदै पनि दुर्घटना हुन सक्छ। दुर्घटना हुँदा दुई पांग्रेमा अर्थात् स्कुटरमा भएकाहरू नै बढी जोखिममा हुने भएकोले गर्भवतीहरूले अनावश्यक रूपमा यात्रा गर्नु पक्कै राम्रो होइन। तर गर्भकै कारण घरमा नै बसिरहने, पूरै गर्भ अवधिभरि बिदा व्यावहारिक नहुन सक्छ। यस अवस्थामा स्कुटर चलाउनु पर्दा अझ बढी सजग हुनु र अनावश्यक रूपमा नकुदाउनु पक्कै राम्रो हुन्छ।

यस अवस्थामा जहिले पनि हेल्मेट, ज्याकेट (विन्डचिटर), मास्क लगाएर मात्र स्कुटर चलाउनुपर्छ जसले गर्दा चिसो र धूलोबाट पनि सुरक्षित हुन सकिन्छ। गर्भवतीले तनावमा अनि व्यस्त सडकमा तीव्रगतिमा कहिले कुनै सवारीका साधन कुदाउनु हुँदैन। आनन्दित भएर, बिस्तारै अनि खुल्ला सडकमा हल्का तर होसियार भएर धैर्यका साथ गर्भवती महिलाले स्कुटर कुदाउन सके राम्रो हुन्छ। धेरै थकान भएको बेला, चर्को घाम वा गर्मीमा, धेरै चिसो अनि कुहिरो लागेको बेला, पानी परिरहेको अवस्थामा गर्भवती महिलाले स्कुटर चलाउनु वा स्कुटरमा यात्रा गर्नु राम्रो होइन। हाम्रो देशमा बाटोको समस्या उस्तै छ। धेरै खाल्डाखुल्डी भएका सडक नरोज्नु राम्रो हुन्छ।

गर्भवती महिलाहरूले स्कुटर चलाउनु पर्दा आफूले प्रायः हिँडिरहने तथा राम्रो अवस्थामा रहेको सडकलाई रोज्नु पर्छ। खाल्टाखुल्टी जोगाउँदै विस्तारै कुदाउँदा अन्य साधनभन्दा कम जोखिमपूर्ण पनि हुन सक्छ। गर्भावस्था आफैंमा एउटा जोखिम अवस्था हो। यस अवस्थामा स्कुटरलाई आवश्यकताका रूपमा मात्र लिनुपर्छ। स्कुटरमा दुईपांग्रामात्रै भएकाले नअडिने, सजिलै चिप्लिने तथा लड्ने हुन्छ। त्यस्तै यसमा चारपांग्रेजस्तो सिटबेल्ट, सस्पेन्सन, एयरब्याग, एन्टिब्रेक सिस्टमजस्ता सुरक्षाका उपाय खासै नभएकाले यसको यात्रा बढी जोखिमपूर्ण हुन्छ। तर पनि नियमित परीक्षणका लागि तथा सानो दूरीको र नियमित कामकाजका लागि मात्र स्कुटरको प्रयोग उपयुक्त हुन सक्छ। यस अवस्थामा लामो दूरीको यात्रा गर्नु, तीव्रगतिमा वा जोखिमपूर्ण तरिकाले स्कुटर कुदाउनुले गर्भ र गर्भवती दुवैका लागि घातक हुन सक्छ भन्ने मुख्य कुरा बिर्सनु हुँदैन।

साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.