पाकिस्तानको आश्रय शिविरमा ४७००० गर्भवती

पाकिस्तानको आश्रय शिविरमा ४७००० गर्भवती

इस्लामाबाद : पाकिस्तानमा बाढीबाट प्रभावित ४७ हजार भन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरहरूमा बस्न बाध्य  छन्। 

स्थानीय सञ्चारमाध्यमले प्रान्तीय स्वास््थ्य मन्त्रीलाई उद्धृत गर्दै आइतबार सो बारे तथ्यांक सार्वजनिक गरेका छन्। सिन्धका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढीबाट प्रभावित महिलाको तथ्यांक सार्वजनिक गरेकी हुन्। उनले बाढीपहिरोपछि लाखौं मानिस विभिन्न रोगबाट ग्रसित भएको पनि बताएकी छन्।

सो प्रान्तमा १ लाख ३४ हजार भन्दा बढी झाडापखाला र ४४ हजारमा मलेरिया भएको रिपोर्टमा उल्लेख गरिएको छ। गत अगस्ट ३० मा संयुक्त राष्ट्र संघीय जनसंख्या कोष र यौन तथा प्रजनन स्वास्थ्य निकायले बाढी प्रभावित क्षेत्रमा कम्तिमा ६ लाख ५० हजार गर्भवती महिलाहरू रहेको उल्लेख गरेको थियो। जसमध्ये ७३ हजार जना यस महिनामा सुत्केरी हुन लागेको बताइएको छ। बाढीपीडितहरूमध्ये हालसम्म एक लाखभन्दा बढी चर्मरोगबाट पीडित छन्। 

शिविरमा बस्ने मध्ये सय भन्दा बढी सर्पदंश र पाँच सय भन्दाबढी कुकुरको टोकाइबाट पीडित भएको डन अखबारले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघ एजेन्सीले महिला र केटीहरू लैगिंक–आधारित हिंसाको बढ्दो जोखिममा रहन सक्ने चेतावनी जारी गरेको छ। किनकि बाढीबाट करिब १० लाख घरहरू क्षतिग्रस्त छन् र  विस्थापित परिवार सुरक्षित आश्रयस्थलको खोजीमा छन्। 

पाकिस्तानले यस वर्ष धेरै बाढीको सामना गरेको छ, जसले देशका करिब ३ करोड ३० लाख मानिसहरूलाई असर गरेको छ । १०औं हजार मानिसहरूलाई विस्थापित गरेको छ। स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको प्रतिवेदनअनुसार विगत दुई महिनामा सिन्धबाट १ लाख ३४ हजारभन्दा बढी झाडापखालाबाट पीडित बनेका छन्। त्यस्तै यस वर्षको जुनदेखि हालसम्म ४४ हजार ८३२ औलोका बिरामी फेला परेको तथ्यांकले देखाएको छ।

सहयोग गर्न पाकिस्तानको अपिल

पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका देशका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ। 

बाढीमा परेर झण्डै एक हजार तीन सय जनाको मृत्यु भएको जनाउँदै पाकिस्तान सरकारले मानवीय सहायताको प्रतीक्षामा रहेका तीन करोड ३० लाख आफ्ना नागरिकका निम्ति सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको हो। 

संघीय योजना मन्त्री अहसान इकबालले निरन्तरको वर्षासँगै आएको बाढीले तीन करोड ३० लाख सर्वसाधारण प्रभावित भएका, ज्यान गुमाउने र घरबारविहीन हुनेको संख्या बढ्दै गएपछि शनिबार अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन्। ‘पाकिस्तानी प्रवासीहरू र अन्तर्राष्ट्रिय समुदायलाई चरम अभावको योे घडीमा पाकिस्तानलाई सहयोग गर्न अपील गर्छु,’ पत्रकार सम्मेलनमा उनले भने। 

सरकारको प्रारम्भिक अनुमानअनुसार वर्षा र बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत धेरै अधिकारी र विज्ञले असामान्य वर्षा र बाढीलाई जलवायु परिवर्तनलाई दोष दिएका छन् महासचिव गुटरेस आगामी शुक्रबार पाकिस्तानको वस्तुस्थितिबारे जानकारी लिन बाढी प्रभावित क्षेत्रको भ्रमण तथा सरकारी अधिकारीहरूसँग भेटघाट गर्दै छन्। 

पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले शनिबार आफ्नो पछिल्लो प्रतिवेदनमा बाढी प्रभावित क्षेत्रमा थप ५७ जनाको मृत्यु भएको जनाएको छ। जुनको मध्यदेखि सुरु भएदेखि मनसुन वर्षाले ल्याएको बाढीपहिरामा परेरर चार सय ४१ बालबालिकासहित एक हजार दुई सय ६५ जनाको मृत्यु भइसकेको छ।  यसअघि प्रधानमन्त्री शाहबाज शरीफले पनि सहायताका निम्ति गर्नुभएको आह्वानको तत्काल जवाफ प्राप्त भएको थियो। फलस्स्व्रुप विभिन्न देशले राहत सामग्री इस्लामावाद ल्याएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.