पर्यटक कुर्दै मकवानपुरगढी
हेटौंडा : पर्यटकीय क्षेत्रका रूपमा परिचित मकवानपुरगढी पर्यटकको पर्खाइमा छ। मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित ऐतिहासिक मकवानपुरगढी दरबार बागमति प्रदेश राजधानी हेटौंडाबाट १७.२ किलोमिटर उत्तर–पूर्वमा पर्छ।
आधुनिक नेपालको स्थापना हुनुपूर्व मकवानपुर राज्यको रूपमा कायम रहेको बताइन्छ। यसले गण्डकी प्रदेशमा आधिपत्य जमाउन सफल सेन वंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास पनि बोकेको छ। यसको परम्परागत तर, उन्नत वास्तुकलाको प्रतिरूप तत्कालीन समयको सामरिक महत्व तथा सुरक्षात्मक दूरदर्शिता झल्काउने अवशेषहरू अझै बाँकी छन्।
नजिकै रहेकोे ऐतिहासिक ढुंगेगढी र रानीगुफाको पनि आफ्नै महत्व छ। यस क्षेत्रमा स्थानीय तामाङ र मगर संस्कृति झल्कने नाचँगानसहितको घरबास (होमस्टे)हरू पर्यटकको सेवामा तत्पर छन्। यस क्षेत्रमा घुम्न तथा बास बस्न आउने पर्यटकहरूका लागि कुनै पनि सेवाको अभाव हुन नदिन गाउँपालिकाको नेतृत्वमा स्थानीयबासीहरू तयार रहँदै आएका छन्।
ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले यति धेरै महत्वपूर्ण मानिएकोे मकवानपुरगढीकोे संरक्षण एवम् ऐतिहासिक पक्षबारे जति चर्चा हुनुपर्ने हो, त्यो भने भएको पाइँदैन। जसका कारण यस क्षेत्र दिनप्रतिदिन संकटमा पर्नुको साथै पर्यटकहरूको आगमन न्यून बन्दै गइरहेको छ।
देशैकै ठूलो गढीको रूपमा रहेको मकवानपुरगढी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले घोषणा गरेको देशकै उत्कृष्ठ पर्यटकीय गन्तव्यको सूचिमा पनि समावेश भइसकेको छ। तर, प्रचारप्रसारको अभावमा ओझेलमा छ।
स्थानीय तहको पूर्ण स्वामित्वमा रहेको मकवानपुरगढी परिसरमा विजय पार्क वंशीगोपालको मन्दिर, कालिका मन्दिर, सिद्धेश्वर महादेव मन्दिर र गुम्बा तथा स्तूपलगायतका धार्मिकस्थलहरू छन्। वंशीगोपालको मंगोलियन मुखाकृति भएको मूर्ति यहाँबाहेक नेपालमा अन्यत्र कहीँ पनि नभएको खोजकर्ताहरू बताउँछन्। दरबारको दक्षिणपूर्वमा सेन वंशीय राजासँग नाम जोडिएको जमिन रानीसेराको नामले परिचित छ।
यस क्षेत्रबाट मकवानपुरगढी, सुकौरा, आमभञ्याङ, हर्नामाडी, पदमपोखरी, हेटौंडा उपमहानगरपालिका, बारा जिल्लाका केही स्थानहरूको दृश्यावलोकन गर्न सकिने भएकोले यहाँ चलचित्र छायाँकनको समेत संभावना छ। हरियाली तथा रमणीय वातावरणका साथै वनभोजका लागि टहरा, पानी, विद्युतको व्यवस्थापन मिलाइएको छ।
यस क्षेत्रमा दैनिक सयौँको संख्यामा सिन्धुली, रामेछाप, ललितपुर, चितवन र भित्रि मधेशका जिल्लाहरूबाट पर्यटकहरू आउने गरेको भएपनि कोरोना महामारीको कारण लामो समयदेखि पर्यटकहरूको आगमन न्यून बन्दै गइरहेको वडा अध्यक्ष बखानसिंह पाख्रिन बताउँछन्। समुद्रीसतहबाट करिब ३ हजार ६ सय फिट उचाइमा महाभारत पर्वतको दक्षिणतर्फ करिब १ सय ३५ रोपनी क्षेत्रफलमा रहेको मकवानपुरगढीको पश्चिमतर्फ सानोगढी छ, जहाँ तत्कालीन सेन वंशीय राजाका सेनाहरू शैन्य अभ्यास गर्दथे। त्यसैगरी २ किलोमिटर पूर्व–उत्तरतर्फ ढुंगेगढी रहेको छ, जहाँ शिद्धेश्वर महादेवको मन्दिर छ।
मूल गढीको सुरक्षाका लागि चारैतर्फ करिब २५ फिट अग्लो पर्खाल लगाइएको छ। पर्खालको चौडाइ करिब ४ फिट छ भने पर्खाल वरपर १० फिट गहिरो खाडलले गढी दरबारलाई त्यतिबेला थप सुरक्षा प्रदान गरेको थियो। जुन अहिले पनि देख्न सकिन्छ। पूर्व–पश्चिम फैलिएको यस गढीमा राजपरिवार बस्ने दरबार जुँगे दरबारका नामबाट परिचित छ।
२५६ वर्षअघि इष्ट इण्डिया कम्पनी (भारतीय) सेनालाई मकवानपुर राज्यले पराजित गरेको खुसियालीको स्मरणमा प्रत्येक बर्ष माघ १० गते यहाँ विजय उत्सव मनाउन पनि थालिएको छ।
मकवानपुरगढीमा सेन वंशका प्रथम राजा मुकुन्द सेनदेखि अन्तिम राजा दिग्बन्धन सेनसम्मका ७ पुस्ताले शासन संचालन गरेको खोजकर्ताहरूले उल्लेख गरेका छन्। सेनहरूको वंशावलीअनुसार १५०० साल तिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको शुरुआत गरेका हुन्। मुकुन्द सेन तीनै खाम सेनका पनाति हुन्। खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ।
२०२७ सालमा पुरातत्व विभागले बनाएको सरकारी टोलीले यहाँको वस्तुस्थिति, शिलालेख, ताम्रपत्र आदिको अध्ययन गरेर सरकारलाई बुझाएको प्रतिवेदनमा तुला सेनले मकवानपुरगढी निर्माण गरेर राज्य सम्हालेको उल्लेख गरिएको छ। तुला सेनपछि यहाँ दलभञ्जन सेन, गजपति सेन, चन्द्र सेन, रुद्र सेन राजा भएको उल्लेख छ।
मुकुन्द सेनले राजकाज त्यागी सन्यास धारण गर्ने क्रममा सेन राज्यलाई आफ्ना चार भाइ छोरा र दुई भाइ नातिहरूलाई बाँडिदिएपछि कान्छा छोरा लोहाङ सेनको भागमा मकवानपुर पर्न गएको थियो। १६१० सालमा लोहाङ सेनले आफ्ना पुर्खा तुला सेनले निर्माण गरेको किल्ला रहेको मकवानपुरगढीलाई नै आफ्नो राजधानी बनाएर स्वतन्त्र मकवानपुरको राजा भएका थिए। पृथ्वीनारायण शाहले विवाह गरेको २५ वर्षपछि अर्थात् ९ भदौ १८१९ मा गोर्खाली सेनाले मकवानपुरलाई आफ्नो अधिनमा लिएको इतिहासमा उल्लेख छ।
त्यसलगत्तै राजा दिग्बन्धन भागेर सिन्धुलीको हरिहरपुरगढी पुगेका थिए। पृथ्वीनारायण साहको फौजले हरिहरपुरगढी पनि अधिनमा लिएपछि उनी भारतको बंगाल पुगेर त्यहाँका बादशाह मीर कासिमसँग गुहार मागेको र बादशाहले गोरखालीविरुद्ध लड्न युरोपेली मूलका गुरगीन खाँको नेतृत्वमा अत्याधुनिक हातहतियारसहित तीन हजारभन्दा बढी सेना पठाएको इतिहासमा उल्लेख छ। खाँको नेतृत्वमा हतियारसहित आएका विदेशी सेनालाई पृथ्वीनारायण शाहको गोर्खाली सेनाले विसं १८१९ माघ १० गते पराजित गरेको थियो। सोही दिनको स्मरणमा मकवानपुरगढीमा प्रत्येक माघ १० गते विजयोत्सव मनाउने प्रचलन छ। त्यसबेला पृथ्वीनारायण शाहको फौजले आफ्नो भन्दा झण्डै ४ गुणा ठूलो विदेशी फौजलाई पराजित गरी ठूलो परिणाममा हातहतियार समेत कब्जा गरेका थिए। कब्जा गरिएका गोलीगठ्ठा र तोप २०५६ सालसम्म मकवानपुरगढीमै रहेको र त्यसपछि तत्कालीन शाही सेनाले गढीबाट उठाएर हेटौंडास्थित सुपारेटार व्यारेकमा ल्याएको मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए।
मकवानपुरगढी दरबार परिसरमा रहेको वंशीगोपालको मन्दिरभित्र कृष्ण भगवानको मूर्तिलाई फलामको साङ्लाले बाँधेर राखेको देख्न सकिन्छ। मूर्तिलाई के कारणले बाँधेर राखिएको हो भन्ने बारे यकिन जानकारी नभएपनि यसको रोचक किंवदन्ती छ। भक्तजनहरू एकाबिहानै पुजाआजाको लागि पुग्दा कृष्ण भगवानको पाउभरी तोरीको फुल टाँसिएको देखिन्थ्यो। दैनिक रूपमा कृष्णको मूर्तिको पाउँमा तोरीको फूट टाँसिएको घटनाले पूजारी समेत चकित भए। पुजारीले चियोचर्चो सुरु गरे। भगवान कृष्ण त्यहाँबाट राति बाहिर जाने र बिहानमात्रै फर्कने गरेको तथ्य पुजारीले पत्ता लगाए।
त्यसैले भगवान् मन्दिर छाडेर जाँदा अनिष्ट आइपर्ला भनेर उनलाई भत्तजनहरूले बाँधेर राखेको बताइन्छ। मन्दिर मुन्तिर लामो गुफा पनि छ। त्यही गुफाबाट कृष्ण ओहोरदोहोर गर्थे भन्ने मान्यता रहेको छ। त्यतिबेला चितवनमा प्रशस्त तोरी खेती हुन्थ्यो। कृष्ण चितवनमा पुगेर तोरीमा विचरण गरी फर्केर आउँथे भन्ने किंवदन्ती छ। दरबार परिसरमा सेन वंशका राजाले सुनका असर्फी गाडेर राखेको विश्वास गरिन्छ। तर, त्यसको उत्खनन् र थप अनुसन्धान भएको छैन।
त्यस्तै दरबार परिसरभित्र ठूलो खाडल छ, जहाँ सेन वंशका राजाले अपराधीलाई अपराधको प्रकृति हेरेर खाडलमा हालेर दण्ड दिन्थे भन्ने जनविश्वास छ। तर, केही खोजकर्ताहरूले भने सो खाडल अपराधीलाई दण्ड दिने नभइ पानी भण्डारण गर्ने खाडल भएको बताउँदै आएका छन्। यो अध्ययन हुन बाँकी छ।
मकवानपुरगढी गाउँपालिकाको गौरवको आयोजनामा ऐतिहासिक मकवानपुरगढी दरबार समावेश भएको छ। तीनै तहको सरकारको पहलमा यस क्षेत्रको संरक्षण र विकास गर्न सके यहाँ पर्यटनको प्रचुर संभावना छ। गाउँपालिकाले सेन वंशीय राजाको सेतो हात्तीको प्रतिमासमेत निर्माण गरेको छ। दरबार परिसरमा नेपालको नक्सा सहित झण्डोत्तोलन गरिएको छ।
गाउँपालिकाकै १० लाख रूपैयाँ बजेटमा गत आर्थिक वर्षमा मुख्य सडकबाट दरबार क्षेत्रसम्म जाने कच्ची सडक सुधार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले जानकारी दिएका छन्। पालिकाले विजय पार्कको स्तरोन्नती गर्नुको साथै यस क्षेत्रमा ऐतिहासिक संग्राहलय निर्माण गर्ने तयारी गरिरहेको जनाएको छ। स्थानीय जनता र वाह्य लगानीकर्तालाई लगानी गर्न उत्प्रेरित गराउँदै होमस्टे तथा ठूला होटल संचालनमा ल्याई आन्तरिक आयमा अभिबृद्धि गरिने गाउँपालिकाको लक्ष्य रहेको छ।
गाउँपालिका आफ्नो क्षेत्रमा रहेको मनकामना मन्दिर, ढुंगेगढी, आनन्द पार्क, विजय पार्क, रानीबास एग्रो टुरिजम तथा बुढिचौरको ऋषेश्वर गुफाको स्तररोन्नती गर्दै पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने र एकीकृत पर्यटनको गुरुयोजना तयार गरी प्रदेश र केन्द्रीय सरकारसँग साझेदारी गर्दै सहयोगी दातृ निकायसमेतको खोजी गरी थप विकास र संरचना निर्माणको लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको जनाएको छ।