११ वर्षमा चार पिल्लर, सात पटक म्याद थप

११ वर्षमा चार पिल्लर, सात पटक म्याद थप

फिदिम : पाँचथरको कुम्मायक गाउँपालिका-५ र तेह्रथुमको म्याङलुङ नगरपालिकाको बीचमा पर्ने तमोर नदीको लुमुघाटमा पक्की पुल निर्माणको काम अलपत्र अवस्थामा छ। 

काम सुरु भएको ११ वर्षमा जम्मा चारवटा पीलर मात्र निर्माण भएका छन्। 

काम गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी 'स्वच्छन्द निर्माण सेवा'को लापरबाहीले तीन वर्षमा सम्पन्न गर्नुपर्ने काम दशक बितिसक्दा पनि आधा मात्र भएको हो। 

२०६८ असार २६ गते सडक विभाग मातहतको पुल सेक्टरसँग १७ करोड लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। 

एक सय १७ मिटर लम्बाइ, तीन मिटर चौडाइ र आठवटा पिल्लर रहने उक्त पुलको काम दशक बितिसक्दा आधा मात्र भएको हो। अहिले पुल निर्माणको काम रोकिएको छ। 

पाँचथर सदरमुकाम फिदिमदेखि लुमुघाटसम्मको ४५ किलोमिटर र तेह्रथुम सदरमुकाम म्याङलुङदेखि लुमुघाटसम्मको १९ किलोमिटर सडक पाँच वर्ष पहिले नै सम्पन्न भइसकेको छ। 

पाँचथर र तेह्रथुमलाई द्रुत सडकमार्गबाट जोड्ने उद्देश्यले पुल निर्माण सुरु भएको थियो। निर्धारित समयमै पुल निर्माण हुन नसक्दा सवारी साधानहरू वारपार गुड्न पाएका छैनन्। 

निर्माण कम्पनीको चरम लापरबाहीमा सरकार मुकदर्शक बनेको स्थानीयको गुनासो छ। सरकारकै आडमा ठेक्केदारले काम गर्न अटेर गरेको हुनसक्ने स्थानीयले आशंका गर्न थालेका छन्। 

'यतिका वर्षसम्म काम नगर्ने ठेक्केदार कम्पनीसँग सरकारले ठेक्का तोड्नुपर्ने हो,' स्थानीय याम बुढाथोकीले भने 'न काम  हुन्छ, न ठेक्का तोडिन्छ, ठेक्केदारलाई कारबाही समेत नभएको देख्दा सरकारकै संरक्षणमा काम नगरेजस्तो लाग्छ।' 
सरकारले सात पटकसम्म म्याद थप गरेको छ। 

तीन वर्षभित्रमा काम सक्नेगरी २०६८ सालमा सम्झौता गरेको ठेक्केदार कम्पनीले निर्धारित समयमा काम सुरु नै गरेको थिएन। 

पहिलोपटक म्याद थप गरेर काम सुरु गरेको कम्पनी लामो समयसम्म सम्पर्कविहीन भएको थियो। '११ वर्षमा चारवटा पिल्लर मात्र निर्माण गरेर ठेक्केदारले काम गरेको छैन,' स्थानीय गजेन्द्र थापाले भने 'कहिलेकाँही आएर काम गरेजस्तो गर्छन्, फेरि हराउँछन्।'

कोरोना महामारी र बाढीपहिरोको समस्या देखाउँदै निर्माण कम्पनी कामबाट पन्छिरहेको छ। 

'प्राकृतिक बिपत्तिका कारण समयमै काम गर्न नसकिएको हो,' ठेक्केदार कम्पनीका प्रबन्धक निर्देशक जयराम लामिछानेले भने 'बाहिर हल्ला भएजस्तो काम नै नभएको हैन। कामले गति लिएको छ। अब काम पूरा गर्छौँ।' मुख्य मुख्य काम सकिएकाले अब चाँडै सम्पन्न हुने ठेक्केदार कम्पनीको दावी छ।

'निर्माण कम्पनीको व्यापक लापरबाही छ,' स्थानीय कुमार खड्काले भने 'समयमै पुल निर्माण सम्पन्न नगरिँदा पाँचथर र तेह्रथुमका सर्वसाधारण समस्यामा परेका छन्।' 

छिटो काम सम्पन्न गर्न ठेक्केदार कम्पनीलाई आफूले पटक पटक आग्रह गरेको कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावतीले बताए।

'अब चाडै सम्पन्न गर्ने भनेर बाचा गरेको छ,' लावतीले भने 'तर कामलाई गति भने दिएको देखिदैन।' निर्माण कम्पनीले आगामी असारसम्ममा काम सक्ने बचन दिएको लावतीको भनाइ छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.