सोलुमा लोकल केराको उच्च माग
सोलुखुम्बु : सोलुखुम्बको हाट बजारमा लोकल केराको माग बढ्दो छ। स्वादिलो र स्वास्थ्यका लागि समेत लाभदायिक भएकाले लोकल केराको माग बढ्दै गएको हो।
जिल्ला सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँ बजारमा कतिपय क्रेता' लोकल केरा किन्न कै लागि मात्रै एकाबिहानै हाटमा पुग्छन् र केरा खरिद गर्छन्।
बिहान करिब ७ बजे हाटमा केरा खरिद गर्दैगर्दा भेटिएका सल्लेरीकी पशी शेर्पाले भनिन्- 'म बच्चा'का लागि लोकल केरा किन्न आएकी हुँ, ढिलो आयो भने केरा सकिहाल्छ त्यसैले बिहानै आएको यत्ति भए त एक हप्तालाई पुग्छ।'
स्वादिष्ट र स्वास्थ्यवर्धक हुने भएकाले आयातित केराभन्दा पनि लोकल केरा धेरै मात्रामा किन्ने गरेको सोलुदूधकुण्ड नगरपालिका-३ फलामखानिकी याङजी डोमा तामाङ बताउँछिन्।
उनले भनिन्, 'स्थानीयस्तरमा उत्पादन भएका लोकल केरा खानाले स्वास्थ्यका लागि धेरै राम्रो हुने र विषादीको प्रयोग नभएकाले लोकल केरा नै किन्ने गर्छु।'
तर देख्दा खुसी हुँदै केरा बिक्रीमा रमाइरहेकाको भित्री पीडा भने अर्कै छ। यातायातको सुविधा भएपनि सडक र गाडी भाडाकै कारण अझैपनि साना व्यापारी' केरा बोकेर हिडेरै बजार पुग्नुपर्ने बाध्यतामा छन्।
एकातिर गाडी चढौँ भने आफ्नो उत्पादनको सुरक्षा नहुने, अर्कोतिर भाडाले केरा बेचेको पैसा खर्चनुपर्ने बाध्यता रहेको छ। यस्तै विविध कारणले गर्दा केराको मूल्य समेत आकासिएको नेचासल्यान-५ का बुद्धिराज राईको भनाइ छ।
उनी भन्छन- 'लोकल केरा खाँदा जति मिठो, स्वास्थ्यको लागि राम्रो भएता पनि केराको उत्पादन, ढुवानी गर्नमा र केरालाई पहेले रोगबाट बचाउन उत्तिकै चुनौति छ, आफैंले उत्पादन गरेको लोकल केरा हाट बजारसम्म ल्याउन पनि बाटाको असुविधाले धेरै गाह्रो छ त्यही भएर मूल्य धेरै भएको हो। तर विभिन्न बाधा अवरोधका बीच पनि लोकल केरा' उत्पादन गरी बजारमा ल्याएर बिक्री गरिरहेका छौँ।'
थुलुङ दूधकोशी-७ देउसाका रोशन राईको चिन्ता मूल्यमा रहेको छ। गाउँघरमै राम्रो मूल्य पाउने केराले हाट बजारमा कम मूल्य पाउने गरेको छ।
तर लोकल केराको माग बढेको रोशन बताउँछन्। ठूला व्यापारीले आयातित केरा बिक्री गरेका पाइन्छ भने साना तथा मझौला व्यापारी' आफैंले उत्पादन गरेको केरा डोकामा बोकेर बिक्रीका लागि हाटसम्म पुग्ने गर्दछन्।
लोकल केराले औषधिका रूपमा पनि पनि काम गर्ने जानकार बताउँछन्। केरा नियमित खानाले स्वास्थ्य सम्बन्धी कतिपय रोगबाट बच्न सकिन्छ भने मुटुसम्बन्धी समस्यादेखि छाती पोल्ने, कब्जियत र शरीरका अन्य स्वास्थ्य समस्या समाधानका लागि पनि केरा निकै उपयोगी मानिने अनुभवी बताउँछन्।
केरामा पोटासियमको मात्रा धेरै हुने हुँदा रक्तचाप घटाउनका साथै शरीरमा तरल पदार्थको सन्तुलन नियन्त्रण गर्ने, हड्डी बलियो बनाउने र शरीरलाई ऊर्जा दिने भएकाले वृद्धवृद्धा र बालबालिकालाई बढी केरा खुवाउने गरिन्छ।
तर बजारमा यसको माग उच्च भएपनि उत्पादन घट्दै जाँदा समस्या भएको निश्चित छ। त्यसकारण लोकल केराको मागलाई धान्न व्यवसायिक केरा खेतीमा जोड दिन आवश्यक देखिन्छ।