‘महामारीकाबीच स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि’
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुदृढीकरण कुनै पनि आकस्मिक अवस्थाको तयारी तथा प्रतिकार्यको प्रयासहरुको अभिन्न अंग हुनुपर्ने बताएका छन्।
विश्व स्वास्थ्य संगठन क्षेत्रीय समितिको दक्षिण-पूर्व एसियाको ७५औं अधिवेशनमा भाग लिन भुटान पुगेका स्वास्थ्य राज्यमन्त्री केसीले सो अवसरमा बहुजोखिमका जनस्वास्थ्यका आकस्मिक अवस्थाहरुलाई सामना गर्न सक्षम स्वास्थ्य क्षेत्र तयार गर्नका लागि धेरै लगानी तथा मिहिनेत गर्नुपर्ने बताएका हुन्।
उनले भने, 'महामारीकाबीचमा पनि नेपालले स्वास्थ्य क्षेत्रमा केही उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएको छ। नेपालले दादुरा रुबेला तथा औँलो रोगको निवारणको लक्ष्य प्राप्तितर्फ उल्लेख्य उपलब्धि हासिल गरेको छ। प्रयोगशालाको सञ्जालको सुदृढीकरणमार्फत् जनस्वास्थ्यको निगरानी सबल बनाएका छौं भने स्वास्थ्य क्षेत्रको मानव स्रोत, स्वास्थ्य क्षेत्रको वित्तीयकरण, नसर्ने रोगको लागि बहुक्षेत्रीय कार्य योजनालगायतका नीतिगत सुधारका कदमसमेत चालेका छौं। सन् २०२१ मा कोभिड-१९ विरुद्धको राष्ट्रिय खोप कार्यक्रम लागू गर्ने यस क्षेत्रकै अग्रणी राष्ट्रहरुमध्ये नेपाल पर्न सफल भएको छ।’
आकस्मिक अवस्थाहरुमा समेत अत्यावश्यक स्वास्थ्य सेवाहरुलाई सुचारु राख्न वैकल्पिक सेवा प्रवाहका माध्यम तथा सञ्जालहरु अवलम्बन गर्नुपर्ने बताए। स्वास्थ्य राज्यमन्त्री केसी भोलि नेपाल फर्किने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस !