‘जलवायु परिवर्तन जनसरोकार बन्नु आवश्यक’
जनकपुरधाम : वर्तमान परिप्रेक्षमा विश्वसामु सबैभन्दा ठूलो चुनौती बनेको जलवायु परिवर्तन नेपालमा पनि जनसरोकारको विषय बन्नु आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। अन्नपूर्ण मिडिया नेटवर्कद्धारा बुधबार जनकपुरमा आयोजना गरिएको जलवायु परिवर्तन र शाशन विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि अधिकांश वक्ताले, जलवायु परिवर्तनले सबैको जीवनमा प्रभाव पारिरहे पनि हामी यस विषयमा अनभिज्ञ रह्नु बढि चिन्ताजनक भएको बताए।
कार्यक्रममा वन, जलवायू परिवर्तन, रेड प्लस र सुशासन सम्बन्धी एक प्रतिवेदन प्रस्तुत गर्दै डिभिजनल वन अधिकृत तथा वन विज्ञ विनोद सिंहले नेपालको कुल भू भागको ४.३६ प्रतिशत वन क्षेत्र मध्ये मधेश प्रदेशमा मात्रै सबैभन्दा कम ०.२६ प्रतिशत मात्र रहेको जानकारी गराए।
जलवायु परिवर्तनकै उपजको रुपमा सन् २०१९ मा बारा जिल्लामा टोर्नाडो नामक भिषण हुरीले व्यापक क्षति पुर्याएको थियो। अतिवृष्टी र अनावृष्टि जस्ता समस्याहरू पनि रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो। जलवायु परिवर्तन नियन्त्रण नभएको खण्डमा विश्वव्यापी रुपमा वातावरणीय शरणार्थीको संकट बढ्ने विज्ञ सिंहको भनाई छ।
पछिल्लो समय मधेश प्रदेशमा मात्रै नभई देशभरीनै वर्षाको प्राकृतिक चक्रमा परिवर्तन भई परम्परागत बाली चक्रको सन्तुलनमा खलल पुगेको , पानी माटोमा ओशको मात्रा, परागसेचन क्रिया, माटोको तापक्रम जस्ता आधार तत्वमा आएको परिवर्तनका कारण कृषि उत्पादकत्वमा कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको थियो।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले जलवायु परिवर्तनले जनमानस मात्र नभई पृथ्वीलाईनै संकटमा पार्ने सम्भावना रहे तापनि यसलाई जनजनसँग जोड्न नसक्नु चिन्ताको विषय रहेको बताए।
‘संघ, प्रदेश र स्थानीय तहको सरकारले जलवायु परिवर्तनको विषयलाई जति महत्वका साथ आफ्नो योजना वा कार्यक्रमहरूमा समावेश गर्नुपर्ने हो त्यो हुन सकेको छैन,’ मन्त्री महतोले भने, ‘वन क्षेत्रको विनाश व्यापक भईरहेको छ। मधेश प्रदेशमै चुरे उत्खनन र विनाश निकै बढि भईरहँदा समेत हामी नियन्त्रण गर्न सकेका छैनौं। यसमा सबै तहको गडबडी छ तर, मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने एतिधेरै महत्वपूर्ण विषयमा यदि हामी समयमै सजग भएनौ भने हाम्रो भविष्य कहालीलाग्दो हुन सक्छ। ’
कार्यक्रममा सहभागी प्रदेशसभा सांसद परमेश्वर साहले वन अतिक्रमण तथा जलवायु परिवर्तनमा प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई महत्वका साथ नीति तथा कार्यक्रम र बजेटमा समावेश गरि प्रदेश सरकारले यस तर्फ व्यापक लगानीको आवश्यकता रहेको बताए। ‘हामी वन जोगाउनुको साटो वनको रकम भवन निर्माण र मठमन्दिर निर्माण तर्फ लगाएका छौं। हामीले मात्रै पिसिसि र ग्राभलमा लगानी गरेर विकास तथा सम्बृद्धि सम्भव छैन। यदि पृथ्वीनै रहेन भने हाम्रो यी लगानीहरूको कुनै अर्थ रहने छैन। त्यसैले प्रदेश सरकार यसतर्फ गम्भीर होस् भन्ने मेरो चाह्ना छ’, सांसद साहले भने।
वातावरण संरक्षण तथा बिरुवा रोप्ने अभियानमा प्रत्यक्ष सहभागि प्रदेशसभा सांसद् रामअशिष यादवले जलवायु परिवर्तन न्यूनिकरणका लागि थोरै भएपनि आफ्नो व्यक्तिगत तवरले पनि सहयोग गर्ने प्रयास सबैले गर्नुपर्ने बताए। ‘हामीले आफ्नो घर वा घर वरिपरि कतिको रुख रोप्छौं, वातावरण स्वच्छ राख्न के कस्ता प्रयास गर्छौं। कतिजनालाई बिरुवा रोप्न प्रोत्साहित गर्छौं यी सबै सोचनिय विषय हुन्। सबै थोक सरकारले नै गरिदिन्छ भन्ने पनि होइन हाम्रो निजि प्रयास पनि निकै आवश्यक छ ’, उनले भने।
त्यसैगरी अन्नपूर्ण पोस्टका ओपेड तथा एडिटोरियल रिलेसन्स संयोजक गोपीकृष्ण ढुंगानाले जलवायु परिवर्तन र यसको प्रभाव न्यूनीकरणमा सञ्चारक्षेत्रको निकै महत्वपूर्ण भूमिका रहेको बताए। अन्नपूर्ण पोष्टले निरन्तर जलवायु परिवर्तन सम्बन्धी सामग्रीहरूलाई विशेष महत्वका साथ पाठकमाझ पस्कीदैं आएको र त्यसकै एक कडिको रुपमा यो कार्यक्रम समेत आयोजना गरिएको उनले जानकारी गराएका थिए।