नयाँ बाली भित्र्याउने पर्व ‘न्वागी’
चितवन : भिरपाखामा बसोबास गर्दै आएका चेपाङजातिलाई आफ्नो उत्पादनले मुस्किलले तीनदेखि ६ महिना पनि खान पुग्दैन। उनीहरू आधा वर्ष खाद्यान्न अभावको सामना गर्छन्। तैपनि वर्षमा एक दिन खाद्यान्न पूजा गरेर खुसीयाली मनाउँछन्।
प्रकृतिको पूजा गर्ने चेपाङ समुदायले आफ्नो खेतबारीमा उब्जिएको बाली भित्र्याएर विधिपूर्वक पूजा गरेर ‘न्वागी पर्व’ मनाउँछन्। उनीहरू आफ्नो वर्षभरको पीडा भुलेर मौलिक पर्वमा रमाउँछन्। चेपाङका लागि यो सबैभन्दा ठूलो पर्व हो। ‘हामी चेपाङका लागि न्वागी सबैभन्दा ठूलो पर्व हो’, राप्ती–१२ वाक्राङका अमृतलाल चेपाङले भने, ‘हामी खाने अन्नको पूजा गरेर यो पर्व मनाउँछौ।’
उनीहरू पुरोहितलाई साक्षी राखेर पूजा गर्छन्। झाक्रीको पोसाकमा ढ्याङ्ग्रो ठाकेर पान्देले पूजा गर्छन्। आफूले उब्जनी गरेको घैया धान, मकै, पिँडालु, केरा, निबुवालगायतका खाद्यान्न राखेर पूजा गर्छन्। चेपाङ जातिको पुजारी (पान्दे) ले अन्नको पूजा गर्छन्। पूजा नगरी खाद्यान्न प्रयोग गर्दैनन्। पितृ र प्रकृतिलाई नचढाइ नयाँ बाली खाए अनिकालले सताउने चेपाङका पान्दे ६० वर्षीय इन्द्रबहादुर चेपाङले बताए। ‘अन्नको पूजा गरे अन्नबाली राम्रो फल्छ। परिवारमा राम्रो हुन्छ भनेर न्वागी मनाउने हो’, ६० वर्षीय पान्दे इन्द्रबहादुर चेपाङले भने, ‘पूजा नगरी खान हुँदैन। देउता रिसाउँछन्।’
पितृलाई नचढाइ खाएमा रोग लाग्छ भन्ने विश्वास छ। राती सुरु गरेर बिहान पूजा सक्छन्। चेपाङहरू यसलाई मुख फेर्ने पर्वका रुपमा लिन्छन्। चेपाङहरूले मंगलबार राती एकपाखे ढ्याङ्ग्रो बजाएर पान्देई घ्यासा (पितृ मन्छाउँदै) न्वागी पर्व मनाएका थिए। प्रकृति पूजासँगै नयाँ बाली प्रकृतिलाई चढाएर उनीहरूले वर्षभरि खान पुगोस् भन्ने कामना गर्दै नयाँ उब्जिएको अन्नबाली चढाएका थिए।
न्वागीपछि अनिकाल सकेर सहकाल आएको मानिन्छ। ‘संधै खानकै समस्या झेलेका चेपाङलाई त्यो पीडा भुलाएर एकदिन भए पनि पर्वले खुसी दिन्छ’, चेपाङ अभियन्ता केपीकिरण शर्मा भन्छन् , ‘दुखीको झुपडीमा हाँसो ल्याउने पर्व न्वागी हो।’