वीरगन्जमा मधेस विश्वविद्यालय स्थापना

वीरगन्जमा मधेस विश्वविद्यालय स्थापना

वीरगन्ज : वीरगन्जमा विश्वविद्यालय स्थापना हुनुपर्ने वीरगन्जवासीको झण्डै साढे दुई दशकदेखिको चाहना पूरा भएको छ।

मधेस प्रदेश सरकारले वीरगन्जमा मधेस विश्वविद्यालयको स्थापना गरेसँगै वीरगन्जवासीको त्यो चाहना पूरा भएको हो। वीरगन्जमा विश्वविद्यालय स्थापनाका लागि २०५४ सालदेखि नै वीरगन्जवासीले अनवरत प्रयास गर्दै आएका थिए। 

२०६३ सालमा वीरगन्ज विश्वविद्यालय स्थापना र सञ्चालनका लागि यहाँका स्थानीय सरकार, संघसंस्था र शिक्षाप्रेमीले रकम संकलन पनि गरेका थिए। तर सरकारले अनुमति नदिँदा विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने वीरगन्जवासीको चाहना पूरा हुन सकेको थिएन। 

अहिले भने मधेस प्रदेश सरकारले वीरगन्जमा मधेस विश्वविद्यालय स्थापना गरेको हो। बुधबार बेलुकी भव्य कार्यक्रम गरेर मधेस विश्वविद्यालयको उद्घाटन पनि गरिएको छ। 

पूर्व उपप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेस विश्वविद्यालयको उद्घाटन गरेका हुन्।

वीरगन्जको श्रीपुरस्थित नेशनल ट्रेडिङको भवनमा मधेस विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना गरिएको छ। विश्वविद्यालयको उपकुलपतिमा वीरगन्जकै प्राध्यापक डाक्टर दिपक शाक्यलाई नियुक्त गरिएको छ। 

विश्वविद्यालयको भवन करिब एक सय बिघा जग्गामा निर्माण गरिने र त्यसका लागि जग्गाको खोजी भइरहेको उपकुलपति डाक्टर शाक्यले जानकारी दिए। 

शाक्यले भने ,'नेशनल ट्रेडिङको भवनममा विश्वविद्यालयको कार्यालय मात्रै सञ्चालन हुनेछ। भवन निर्माणका लागि करिब एक सय बिघा जग्गा वीरगन्ज आसपासमै खोजी रहेका छौं। जग्गा प्राप्त भएसँगै एक जना दाताले भवन निर्माणका लागि दुई सय करोड रूपैयाँ दान दिन तयार छन्। 

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपकुलपति शाक्यले वीरगन्जमा विश्वविद्यालय स्थापना गर्ने वीरगन्जवासीको २५ वर्ष पहिलादेखिको चाहना पूरा भएको बताए। 

उनले मधेस विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको नमूना विश्वविद्यालय बनाइने प्रतिबद्धता जनाए। उनले भने ,'यो विश्वविद्यालयमा अहिले अन्य विश्वविद्यालयमा चलिरहेका कोर्षभन्दा फरक कोर्षहरू ल्याइनेछ।' 

शाक्यले मधेस विश्वविद्यालयको स्थापना मधेसको शिक्षाको इतिहासमा एउटा कोशे ढुङगा साबित हुने बताए। उनले भने, 'यो मधेस सरकारको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट काम हो।'

विश्वविद्यालय स्थापनाले मधेसको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक रूपान्तरणमा ठूलो टेवा पुग्ने जिकिर पनि उनले गरे।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मधेसका मुख्यमन्त्री लालबाबु राउतले पनि विश्वविद्यालय स्थापना गर्ने वीरगन्जवासीको सोच अहिले मधेस सरकारले पूरा गरेको बताए। 

उनले भने, 'आजभन्दा २५ वर्ष पहिले नै वीरगन्जमा एउटा विश्वविद्यालय हुनुपर्छ भनेर हामी लागेका थियौं, त्यसका लागि अनवरत प्रयास पनि गर्‍यौ तर सफल हुन सकिएन, अहिले आएर वीरगन्जवासीको त्यो चाहना र सोच मधेस सरकारले पूरा गरेको छ।'
 
आजको युग विज्ञान र प्रविधिको युग भएकाले मधेस विश्वविद्यालयलाई विज्ञान र प्राविधीक शिक्षको हबका रूपमा विकास गर्न उनले सुझाव पनि दिए। 

कार्यक्रममा संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले वीरगन्जमा विश्वविद्यालय स्थापनाका लागि साढे दुई दशकदेखि आफूहरूले प्रयास गर्दै आएको भएपनि संघीय सरकारले नसुनेको गुनासो गरे। 

तर वीरगन्जमा विश्वविद्यालय स्थापना गर्ने वीरगन्जवासीको चाहना मधेस सरकारले सुनेको भन्दै उनले मधेस सरकार र मुख्यमन्त्री लालबाबु राउतको प्रशंसा गरे। 

यादवले भने, 'वीरगन्जमा विश्वविद्यालय स्थापनाका लागि हरेक सरकारसँग हामीले पटक पटक हारगुहार लगायौं, भीख माग्यौ तर हाम्रो आवाज कसैले सुनेन आखिर सुन्यो त आफ्नै मधेस सरकारले, यहाँका मुख्यमन्त्री जीले अनि जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जीले।'
 
मधेस विश्वविद्यालय स्थापना भएपनि यसलाई राम्रोसँग सञ्चालन गर्नका लागि ठूलो चुनौती रहेको पनि उनले बताए। 

यादवले भने, 'वीरगन्जमा नेपाल सरकारको कुनै लगानी छैन,यहाको ठाकुरराम क्याम्पस, नारायणी रंगशाला, घण्टाघर लगायतका संरचनाहरू वीरगन्जवासी आफैंले बनाएका हुन्, त्यसैले यो मधेस विश्वविद्यालय पनि अब वीरगन्जवासी आफैंले सञ्चालन गर्छन्, विश्वविद्यालयका लागि जग्गा खोज्ने, भवन बनाउने र प्रविधिहरू जडान गर्ने लगायतका सबै काम हामी वीरगन्जवासी आफैंले गर्छौं, चिन्ता लिनु पर्दैन।'

विश्वविद्यालयको समुद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री एंव जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेस विश्वविद्यालयलाई प्राविधिक जनशक्ति उत्पादन गर्ने नमुना शिक्षण संस्थाको रूपमा विकास गर्न सुझाव दिए।

यादवले भने ,'विश्वविद्यालय धेरै छन्, तर घोकन्ते र रटन्ते शिक्षा मात्रै दिने ती विश्वविद्यालयहरूभन्दा फरक हुनुपर्छ मधेस विश्वविद्यालय, किन कि अहिलेको युग विज्ञान र प्रविधिको युग हो, यसैलाई मध्यनजर गरेर मधेस विश्वविद्यालय अगाडि बढ्नुपर्छ।'

विश्वविद्यालयलाई केवल शैक्षिक प्रमाणपत्र बाड्ने संस्था नबनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक हबको रूपमा सञ्चालन गर्न उनले सुझाव दिए। 


   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.