ऋण मिलाउँदै नवलपरासी प्रशासन
परासी : जिल्ला प्रशासन कार्यालय नवलपरासीले साहुबाट लिएका ऋणीहरूको ऋण मिलाउन सुरु गरेको छ।
मिटरब्याजबाट पीडित भएका व्यक्तिहरूको निवेदन संकलन गरी कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि प्रशासनमा धमाधम निवेदन पर्न थालेका छन्।
अहिलेसम्म जिल्लामा १ सय ५३ वटा उजुरी परेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए।
जिल्लामा परेका उजुरीउपर छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय कार्य दल नै गठन गरेर साहु र ऋणीहरूबीच छलफल गराउन थालिएको छ।
जसअनुसार अहिलेसम्म १८ वटा उजुरीको समस्या समाधान भएको छ। परेका उजुरीमध्ये ५० वटा प्रहरी कार्यालयमा पठाइएको र अन्य उजुरीउपर छानबिन भइरहेको सहायक प्रजिअ अर्यालले जानकारी दिए।
केही व्यक्तिहरू चर्को ब्याजबाट पीडित भएको देखिए पनि अधिकांशले सरकारले उजुरी माग गरेकाले ऋण नै तिर्न नपर्ने सोँचका साथ निवेदन दिन आउने गरेको प्रशासनले जनाएको छ।
केहीले राजीनामा गरेर दिएको जग्गा फिर्ता गराउन भन्दै निवेदन दिएको अर्यालले बताए। प्रशासनमा परेका अधिकांश उजुरी बिना प्रमाणका छन्। उनीहरूलाई मौखिक रूपमा सहमति गरेर पठाइएको प्रशासनले जनाएको छ।