मृत्यु भएका पाँच जनाको सनाखत, सात अझै बेपत्ता
दार्चुला : दार्चुलामा बाढीपहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन्।
बाढीपहिरोमा परी सातजना अझै बेपत्ता छन्। बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन्।
बाढीपहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका-२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा, महाकाली-३ डुङरीकी ३५ वर्षीया मानमति कार्की, नौगाड गाउँपालिका-१ की ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड-२ का ४५ वर्षीय मोहनराम पार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
पहिरोमा परेर नौगाड-४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयबहादुर ठगुन्ना घाइते छन्।
उनीहरूलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केहिबेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ हेमन्ती साउदले जानकारी दिए। जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको उनले बताए।
यस्तै बाढीपहिरोमा परेर सात जना बेपत्ता भएका छन। बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजि गरिरहेका छन्।
बेपत्तामा महाकाली-३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरू दीपक र दिनेश तथा अन्य चारजना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।