राजनीतिक दलमा सुधारको खाँचो
राज्य शासनमा मुलुकको समग्र आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक क्रियाकलापहरू राजनीतिक मियोको चारैतिर घुम्ने गर्छन्। राजनीतिले नै राज्यको समग्र विकासका आयामलाई सक्रिय र क्रियाशील बनाउँछ। राजनीति विचार हो। राजनीति विश्वास पनि हो। विचारलाई नेतृत्व प्रदान गर्ने जिम्मेवारी राजनीतिक नेताहरूको हुन्छ। यी राजनीतिक नेताहरूले विभिन्न वैचारिक दलहरूको नेतृत्व गरिरहेका हुन्छन्। लोकतान्त्रिक शासन प्रणालीमा यिनै दलहरूले निर्वाचनको माध्यमबाट आफूलाई स्थापित गरेका हुन्छन्। अनि संसद्मा बहुमत प्राप्त दलले सरकार सञ्चालनको संवेदनशील जिम्मेवारी पाएको हुन्छ।
सरकार सञ्चालन गर्ने राजनीतिक दल र दलको नेताहरूको व्यवहार, आचरण, नैतिकता र क्रियाकलापले सिंगो सरकार र राजनीतिक प्रणाली उपरको विश्वसनीयता बढाउने वा घटाउने काम गर्छ। यदि नेताहरूको व्यक्तिगत व्यवहार र आचरण शुद्ध र पवित्र छ भने त्यस्ता नेताहरूप्रति आमजनताको सोच विश्वासिलो र सहयोगी हुन्छ। सरकार र जनताबीच घनिष्ठता बढ्छ। सरकारले बोलेका कुरा र ल्याएका कार्यक्रममा उनीहरूले अपनत्व र स्वामित्व स्वीकार गर्छन्। यसो भयो भने हरहिसाबबाट साथ र सहयोग प्रदान गर्छन्। यदि यसको विपरीत शासनको बागडोर हातमा लिएर बसेका दलीय नेताहरू, चाहे ती प्रधानमन्त्री होउन् वा मन्त्री वा अन्य सार्वजनिक पदमा आसिन भएका अन्य व्यक्ति नै किन नहुन्– यदि उनीहरूको आचरण र नैतिक मूल्य मान्यतामा थोरै पनि खोट लगाउने स्थिति बन्यो भने त्यसले आमजनता र सरकारबीचको सम्बन्धमा तिक्तता मात्र ल्याउने होइन, अपितु व्यक्ति, दल र राजनीतिक प्रणालीउपर नै अविश्वास बढ्छ। यस अवस्थामा आमनागरिकहरू या त निराश हुन थाल्छन् वा विद्रोही। त्यति मात्र होइन, यस प्रकारको वातावरण बन्दै गएको खण्डमा देशको सुरक्षा र सार्वभौमिकतामा आँच आउने खतरा बढन थाल्छ। जब मुलुकभित्र विश्वासको वातावरण खल्बलिन थाल्छ, विदेशी चलखेल बढ्न लाग्छ।
यथार्थमा भन्नुपर्छ, नेपालको अवस्थालाई सिंहदरबारको कुर्सीमा बसेर होइन, सिंहदरबारको घेराभन्दा बाहिर बसेर हेर्ने हो भने सरकार र नागरिकबीचको दूरी दिन प्रतिदिन चाक्लिँंदै गइरहेको देख्न सकिन्छ। एकजना बहालवाला मन्त्रीलाई लाइनमा बसेर सेवा लिनुस् भन्ने निजी क्षेत्रका सुरक्षाकर्मीलाई आफ्नो अपहेलना भएको र आफूलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीको कस्टडीमा पुर्याइयो। एक रात प्रहरीको खोरमा बिताउनुपर्यो उनले। ती भीएफएसमा कार्यरत सुरक्षाकर्मीको एउटै गल्ती के थियो भने मन्त्रीलाई हात जोड्दै लाइन मिचेर भित्र पुर्याएनन्। किन पुर्याएनन् भने उनले कर्तव्यको पालना गरिरहेका थिए।
अर्कोतिर मन्त्रीले त्यहाँ आउनुपूर्व समय लिएर आएको भए पनि त हुन्थ्यो। समय लिँदा के बिग्रन्थ्यो र ? तर, मन्त्री भनेको उच्च तहको नागरिक हो र उसले नियम मिचे पनि केही हुँदैन भन्ने गलत मानसिकता बोकेपछि मन्त्रीकै छवि बिग्रनुबाहेक अरू कुन परिणाम आउँछ र ? मन्त्रीको कारणले भीएफएसको कर्मचारी थुनामा परेको विषयलाई आधार मानेर यो सेवा नेपालमा बन्द भयो भने कसले दुःख पाउला ? नेपालीले नै होइन र ? हो, यहीँनेर राजनीति गर्नेहरूले सम्झनु पर्ने हुन्छ, आमनागरिकका अगाडि भद्र, विनयी र नम्र व्यवहार देखाउन सकिएन भने जनतासँग कमाएको विश्वास निमेषभरमै धुलिसात हुन्छ।
त्यसो हो भने सरकारका मन्त्री कस्तो हुनुपर्छ ?
चाणक्य भन्छन्– राजा र उनका मन्त्रीहरू नैतिकवान, सदाचारी र इमान्दार हुनैपर्छ। होइन भने नदीको छेउमा रहेका रूख र असल भारदारहरू बिनाको राजा जस्तै हुन्छन्। जसको विनास निश्चित छ।
एकपटक नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले हातमा कफी लिएर स्वास्थ्य मन्त्रालय परिसरमा हिँड्दै गर्दा ढोकामा अल्झिएर हातको कफी भुइँमा खस्यो। भुइँ फोहोर भयो। सफाइकर्मीले भुइँसफा गर्न खोजे। उनले भने– मैले गरेको फोहोर मैले सफा गर्नुपर्छ। उनले आफैं भुइँ पुछे, सफा गरे र त्यहाँबाट अगाडि गए। भारतका पूर्वलोकसभा उपसभामुख कारिया मुण्डा जब सेवा निवृत्त भए, सरकारले उपलब्ध गराएको सरकारी आवास र सुरक्षाकर्मी उनले लिएनन्। उनी गाउँमा गए। तरकारी खेती सुरु गरे र दैनिक जिविका चलाए। उरुग्वेका पूर्वराष्ट्रपति जो सन् २००९ मा निर्वाचित भएका थिए। आफूले कमाएको सबै सम्पत्ति च्यारिटीलाई दान गरे। आफूलाई उपलब्ध गराएको सरकारी निवास सरकारलाई नै जिम्मा लगाए। अनि श्रीमतीसहित गाउँमा गएर खेतीपाती सुरु गरे। न्युजिल्यान्डकी महिला मामिलामन्त्री जुली अन्ने जेन्टरलाई जब प्रसव व्यथा लाग्यो, उनी आफैं साइकल चढेर अस्पताल पुगिन् र भर्ना भइन्। सरकारी गाडी प्रयोग गरिनन्।
यी त यस्ता प्रतिनिधि घटना हुन्, जसबाट राजनीति गर्नेहरूले सिक्नुपर्ने हो। बिडम्बना पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारी र स्व. सुशील कोइरालाको पंक्तिभित्र अरू नाम आउन सकेका छैनन्। बाटोमा आफ्नो अघि र पछि सुरक्षाकर्मीका प्याँ प्याँ र पुँ पुँ को कानै खाने आवाज निकाल्दै हिँड्ने गाडीहरूलाई देखेर आमनागरिकको मन खुसीले हाँसकोे छ कि मन कुँडिएको छ ? के सरकारले बुझ्ने प्रयास गरेको छ ? सायदै होला। भएको भए यस प्रकारको कामको पुनरावृत्ति हुन्थेन कि ? त्यसो हो भने सरकारका मन्त्री कस्तो हुनुपर्छ ? चाणक्य भन्छन्– ‘राजा र उनका मन्त्रीहरू नैतिकवान, सदाचारी र इमान्दार हुनैपर्छ। होइन भने नदीको छेउमा रहेका रूख र असल भारदारहरू बिनाको राजा जस्तै हुन्छन्। जसको विनास निश्चित छ।’
जब सत्ताले सत्यको उपहास गर्छ, सत्ताको जग हल्लिन थाल्छ। राजनीतिमा सदाचारको पालना र संरक्षण इमान्दारीपूर्वक गर्नैपर्छ। होइन भने व्यक्तिको राजनीतिक अवसान त हुन्छ¬¬–हुन्छ, सरकार र सत्ता दुवै धराशायी हुन्छन्। अहिले राजनीतिलाई सेवा होइन, व्यापार बनाउने संस्कारको विकास हुँदैछ। राजनीतिलाई व्यापार बनाउने संस्कारका कारण आर्थिक, सामाजिक र बौद्धिक विचलन आउन थालेको छ। जसरी पनि पैसा कमाउ र जसरी पनि चुनाव जित भन्ने सोच पार्टीहरूमा देखा पर्दैछ। यसबाट निर्वाचन खर्चिलो भइरहेको र निष्ठाको राजनीति गर्नेहरूका लागि चुनावको मैदानमा उत्रिनु आगोको भुंग्र्र्रोमा हिँड्नु सरी हँुंदैछ। प्रतिनिधिसभाको एउटा निर्वाचनमा तीन चार करोड रुपैयाँसम्म खर्च हुनु सामान्य हुन थालिसकेको छ। यसले देखाउँछ– अबका संसदीय निर्वाचनहरूमा पैसावालहरूकै बोलवाला हुनेछ। राजनीतिक
विचार र दर्शन ओझेलमा पर्दै जानेछ। फलतः राजनीतिक सदाचार, नैतिकता र मूल्य मान्यताको क्षयीकरण हुनेछ। यो सबै स्थितिलाई बुझेर होला– राजनीति भनेको फोहोरी खेल हो भन्ने भनाइ राजनीति शास्त्रमा देखिन्छ।
भारतको भीआईटी युनिभर्सिटी कलेजले गरेको अनुसन्धानअनुसार पढेलेखेका युवापुस्ता राजनीतिमा प्रवेश गर्न चाहन्न। ज्यादै कम पढेका व्यक्तिहरू मात्र राजनीति गर्छन्। किनभने कम पढेलेखेकाले जागिर पाउँदैनन्। जागिर नपाएपछि सजिलो ठाउँ राजनीतितिर लाग्नै पर्यो। अनुसन्धानले यो पनि देखायो कि ज्यादै पढेलेखेका युवा राजनीतिमा प्रवेश गरे भने उनीहरूले राजनीतिमा देखा परेका विकृति हटाउन सहयोगी भूमिका निर्वाह गर्नेछन्। त्यसैले शिक्षित र विषयविज्ञहरू राजनीतिमा आउनुपर्छ। जसले गर्दा राजनीति फोहोरी नबनोस्।
अनुसन्धानले निकालेको यो निष्कर्षलाई हेर्ने हो भने राजनीतिक दलहरूमा ठूलो सुधारको आवश्यकता छ। यो सुधार दलको विधान वा घोषणापत्रको शब्द र वाक्यमा होइन। यो सुधार दल सञ्चालकहरूको सोच र व्यवहारमा हो। दलका नेताहरूले आफूलाई नेताको रूपमा होइन, राजनेताका रूपमा स्थापित गर्नु जरुरी छ। जसका लागि उनीहरूले सदाचार, नैतिकता र मूल्य मान्यताको हाम्रो पौराणिक संस्कार र संस्कृतिको व्यवहारमा अभ्यास र पालना गर्नुपर्छ। विदेशीहरूका अगाडि आफ्नो देशको आन्तरिक मामिलाका अन्तर्विरोधहरू खोलेर बताउनु र उनीहरूको आशीर्वादबाट सत्ता र शक्ति प्राप्त हुन्छ भन्ने आस गर्नु, जथाभावी बोल्नु, बोल्दा त्यसले पार्न सक्ने नकारात्मक प्रभावबारे पूर्वअध्ययन नगर्नु, विरोधीलाई पनि समेटेर देशको हितमा हिँडाउन सकिन्छ भन्ने चाहसहितको फराकिलो छाती बनाउन नसक्नुजस्ता रुग्ण सोच नेपाली राजनीतिमा छन्। जसका कारणले हुने हानीनोक्सानीको भर्पाइका लागि राजनीतिक दलहरूमा सुधारको खाँचो छ। तर, नेपालका दलहरूले अझैसम्म यसमा आफ्नो सोच र समय खर्चेका छैनन्। यसमा अग्र्यानिक फ्लेभर दिन सकेका छैनन्। राजनीतिलाई अग्र्यानिक राजनीतिमा परिवर्तन गर्न चाहेका छैनन्।
राजनीतिक दलको अन्तिम उद्देश्य दलका नेताहरूले संसदीय चुनाव जितेर संसद्मा आउनु र बहुमत प्राप्त गरेर सत्ता प्राप्ति गर्नु मात्र हुनुहुँदैन। अन्तिम उद्देश्य त आफ्नो राजनीतिक दलमा निष्ठा, देशप्रेम, सदाचार र मूल्यको दीर्घकालपर्यन्त जीवन्त राख्ने गरी स्थापना गराउने हुनुपर्छ। २०६२–२०६३ पछिको एउटा अवस्थालाई हेरौं। विदेशीको लहलहैमा लागेर सुरक्षा निकायको लोकतान्त्रीकरणबारे निकै होहल्ला मच्चाइयो। यसमा दलहरू नै अगाडि देखिएका थिए। यो होहल्ला सिर्जना गराउनुको पछाडि एउटै कारण थियो, नेपालको सुरक्षा निकायमा विदेशीको भित्री तहसम्म प्रवेश र त्यहाँको चेन अफ कमान्डलाई टुटाउनु। आखिर भयो पनि त्यस्तै। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अवस्था र त्यहाँभित्रको खेल हेरियो भने सबै स्पष्ट हुन्छ।
राजनीतिक दलका नेता र कार्यकर्ताहरूमा अध्ययनको कमी र अभाव भएकाले दलले पालना गर्नुपर्ने न्यूनतम आचारसंहिता र संस्कार उनीहरूभित्र बढ्न नसकेको हो। परिणामतः आफूलाई जनताको मालिक ठान्ने, सर्वश्रेष्ठ नागरिक सम्झने, आफूले बोलेको कुरा नै अन्तिम सत्य बुझ्ने र आफैं सर्वज्ञाता हुने, आफ्नो स्वस्थ आलोचना पनि सुन्न नचाहने, प्रशंसा मात्र खोज्ने, आलोचकलाई आँखाको कसिंगर मान्नेजस्ता संकुचित मानसिकताले दल र नेताप्रति जनविश्वास घटाउँदो छ। असन्तुष्टि बढाउँदो छ। यसलाई समयमै सुधारिएन भने दुःखका साथ भन्नुपर्छ– जनअसन्तुष्टिले ठूलै विग्रह र विद्रोहलाई आमन्त्रण गर्नेछ।