साइकलको पन्चर टालेर अर्बपति

साइकलको पन्चर टालेर अर्बपति

नेपालगन्ज : बहुदलीय व्यवस्था आउने बेला नेपालगन्ज सडकमा ओहोरदोहोर गर्नेलाई प्रहरी गुल्म अगाडि साइकल बनाउँदै गरेको युवाबारे केही सम्झना छ ? कतिले त साइकल मर्मत पनि गराउनुभयो होला ? एउटा थोत्रो साइकल उल्टो पारेर राखिएको हुन्थ्यो। छेउमा दुइटा डन्डा गाडिएको हुन्थ्यो। डन्डामा डोरी बाँधेर साइकलका टायर र गद्दी टाँगिएका हुन्थे। २० वर्षे लक्का जवान बोरा ओछ्याएर साइकल मर्मत गरिरहेका हुन्थे। त्यस बेला २५ पैसामा साइकलको पन्चर टाल्ने मोहम्मद सरिफ बागवान ३४ वर्ष अवधिमा अर्बपति बनेका छन्। 

नेपालगन्ज–१ धम्बोझीका बागवानले २०४५ सालमा ७ हजार रुपैयाँ लगानी गरी साइकलको पन्चर टाल्ने पसल सुरु गरेका थिए। उनी साइकल, मोटरसाइकल र अटोको कारोबार गर्ने पाँच कम्पनीका मालिक बनेका छन्। उनले पहिलेको पसलनजिकै धम्बोझी चोकमा बीबी साइकल सेन्टर नामको ठूलो सोरुम खोलेका छन्।

‘नेपालका विभिन्न स्थानबाट हेर्न आउनेहरू कसैले पनि यति ठूलो साइकल सोरुम देखेको छैन भन्छन्। मैले पनि देखेको छैन’, बागवानले भने। धम्बोझीमै अर्को बागवान साइकल स्टोर छ। गोरखा साइकल सप्लायर्सले होलसेल कारोबार गर्छ। टीभीएस मोटरसाइकल र अटो व्यवसाय गोरखा इन्टरप्राइजेजबाट हुन्छ। बागवान इन्जिनियरिङ पनि उनकै हो। 

यी पाँच कम्पनीमा ५०–६० करोड रुपैयाँभन्दा बढी लगानी छ। उनले यसकै कमाइबाट घरजग्गालगायत ५०–६० करोडको सम्पत्ति जोडेका छन्। ‘कोरोना महामारीका बेला लकडाउन हुँदा अटो रिक्सा चल्न पाएनन्। अहिले मलाई १० करोड घाटा भएको छ’, उनले दुःखेसो पोखे। उनका पाँच फर्ममा ६० जनाले रोजगारी पाएका छन्। १५ हजारदेखि ५५ हजार रुपैयाँसम्म तलब दिएका छन्। उनले बागवान बिरासत कायम गर्न झन्डै साढे तीन दशकमा निकै संघर्ष गरेका छन्।

जो बन्न चाहन्थे प्रहरी

२०४३ सालमा एसएलसी दिएका बागवान प्रहरीमा जागिर खान चाहन्थे। बुवाका कारण त्यता जान पाएनन्। बुवाको उर्दी थियो– ‘बरु चिया पसल खोल। पुलिसको जागिर खान पाउन्नस्।’ त्यता नभएपछि किराना पसलमा मासिक ८ सय रुपैयाँ पाउने गरी उनले दुई वर्ष काम गरे। त्यसको दुई वर्ष आफूले किराना पसल चलाए। ठेकेदारले उधारो नतिरेपछि घाटामा गए। ३७ हजार रुपैयाँमा पसल बेचे। साहूलाई तिरेर बाँकी रहेको ७ हजार रुपैयाँमा साइकलको काम थाले। यता लाग्न छिमेकी काका भगवती न्यौपानेले प्रेरणा दिएको उनको भनाइ छ। त्यति बेला एक व्यक्तिले साइकलको काम गर्दागर्दै रिक्सा बनाएर बेच्न थालेको थियो। ‘अंकलले त्यही देखेर मलाई साइकल व्यवसायमा लाग्न भन्नुभयो’, उनले भने।

उनले पनि साइकल मर्मत थालेको दुई वर्षभित्र ३ हजार रुपैयाँमा घुम्ती पसल किने। त्यसमा सरे। घुम्तीका अगाडि चारवटा गुन्द्री राखेर साइकल मर्मत गर्थे। त्यसपछि भने ‘राम्रो मिस्त्री’ भनेर बजारमा चर्चा चल्न थाल्यो। त्यति बेलै साइकलको थोक पसल चलाउने सपना देख्न थालेका थिए। तर, पैसा थिएन। बाबुसँग मागे। जग्गा धितो राखेर बैंकबाट ऋण लिन सुरुमा बाबुले पत्याएनन्। 

‘छिमेकी विनोद पोद्धार अंकलले उसले नदिए म दिउँला भनेर सम्झाएपछि मात्र बुबा १ लाख रुपैयाँ ऋण निकाल्न धितो दिन तयार हुुनुभयो’, उनले घटना बेलिविस्तार गरे, ‘५० हजार रुपैयाँ लिएर वीरगन्ज गएर १६ वटा साइकल ल्याएँ। अनि होलसेल सुरु भयो।’ तर, होलसेल व्यापार फापेन। 

नेपालगन्जका ३ जना (उनी, माधवप्रसाद गुप्ता र मोबिन अहमद हल्वाइ) र एक भारतीय (मोहम्मद आरिफ)गरी ४ जना मिलेर ०५८ सालमा संयुक्त होलसेल पसल सुरु गरे। उनीहरूको साझेदारी २० महिनापछि तोडियो। ‘सबैका नाममा कुनै न कुनै ब्रान्डको साइकलको एजेन्सी थियो। म अलपत्र परेँ। बैंक अफ काठमान्डुको १५ लाख रुपैयाँ ऋण थियो। त्यो तिर्न पाँच कट्ठा जग्गा बेच्नुप¥यो’, उनले दुःखका दिन सम्झे, ‘मैले हिम्मत हारेन। ३० लाख रुपैयाँको अर्को ओडी बनाएँ। ७ लाख व्यक्तिको ऋण थियो। त्यो चुक्ता गरिदिएँ। २३ लाख रुपैयाँ बोकेर भारतको लुधियानामा साइकलको डिलर लिन गएँ। भर्खर खुलेको नीलम साइकलको डिलर ल्याएँ। पाँच लाख भारुमा एक ट्रक ४ सय वटा साइकल ल्याएँ।’ 

यो २०६० सालतिरको कुरा हो। उनले साइकल त ल्याए तर त्यति बेला बजारमा अरू नै ब्रान्डको दबदबा थियो। उनले ल्याएका साइकल कसैले पत्याएनन्। अरू साइकल एउटा बेचे डिलरले सय रुपैयाँ फाइदा पाउँथे। उनले आफ्नो सामान बेच्दा ५ सय रुपैयाँ दिन थाले। बढी कमिसनले नै उनको व्यवसाय चम्कायो। अर्डर दोब्बर पुग्यो। त्यसपछि अरू ब्रान्डका साइकलको पनि डिलर ल्याए। ‘मेरो जीवनको टर्निङ प्वाइट नै यही थियो’, उनले मुहार चम्किलो पार्दै सुनाए, ‘२ वर्षपछि त चीनको फेक्ट्रीमै पुगेर साइकल ल्याउन थालेँ।’ २०७६ पछि हरेक वर्ष चीनबाट उनका ८–१० कन्टेनर साइकल आउँछ। 

पन्चर टाल्ने बेला सामान लिन जाँदा आफूलाई व्यापारीले ठगेको अनुभूति हुन्थ्यो। ‘मलाई सामान बहुत महँगो दिइरहेका छौ। एक दिन म फैक्ट्रीबाटै साइकल ल्याउँछु भन्ने अठोट त्यही बेलादेखि गरेको थिएँ’, उनले भने, ‘कर्म गर फलको आशा नगर भनिन्छ। मैले कहिल्यै हिम्मत हारेन। काम गर्दै गए। भगवान्ले आफंै फल दियो।’

मेहनत गर्नेले एक दिन मञ्जिल पाउँछ भन्ने साँचो रहेछ भन्ने उनको ठम्याइ छ। कक्षा ३ मा पढेको कछुवा र खरायोको दौडको कथाले पनि उनलाई जीवनमा संघर्ष गर्न उत्प्रेरित गरेको छ। ‘जागिर खाएको भए मेरो पालासम्म मात्र हुन्थ्यो। व्यापार गर्दा मेरो नाति पनातिसम्म भएको छ। मैले बागवान बिरासत बनाएको छु’, उनले भने।

त्यसपछि बुवालाई छोडाए जागिर

उनका बुवा मोहम्मद सफी बागवान नेपालगन्ज नगरपालिकामा मालीको काम गर्थे। त्यसबाटै घरमा गुजारा चल्थ्यो। सफीका पाँच छोरामध्ये जेठा सरिफले साइकल व्यवसाय रोजेका हुन्। व्यवसायले फड्को मारेपछि बुबालाई जागिरबाट छुटाए। माइलो हनिफ, साइलोे सारिक, काइलो अब्दुल माबुद र कान्छो अब्दुल अजिजले पनि दाजुको बिँडो धानेका छन्। दाजुभाइ छुट्टिएका छैनन्। धम्बोझीमा १० कट्ठा जग्गामा बागवान परिवारको ३२ कोठे घर छ। त्यहाँ बाजेदेखि पनातीसम्मको ३२ जनाको संयुक्त परिवार बस्छ। 

‘छुट्टिएका छैनौं। भान्सा भने अलग–अलग छ। एउटा भान्से राखेर सिंगो परिवार सँगै बसेर खाने मेरो योजना सफल भएको छैन’, उनले दुई कट्ठामा बनेको ८ हजार स्क्वायर फिटको सेतो दुई तले आलिसान गोलघरको थ्रीडी नक्सा देखाउँदै भने, ‘यो मेरो सपनाको बागवान मञ्जिल हो। यसको निर्माण पूरा भए हाम्रो परिवारको भातभान्सा फेरि एकैठाउँमा आउँछ।’ 

पाँच भाइ नै आफ्नो ताकत भएको उनले बताए। ‘सबै भाइ एक ठाउँमा भए शक्ति आउँछ। फुटे कमजोर हुन्छ। देशको अवस्था पनि त त्यही हो’, उनले भने, ‘म एक्लैले के गर्न सक्थेँ ? भाइहरूले काम सम्हाले। अहिले त छोराहरूले पनि जिम्मेवारी लिन थालिसके।’ उनी आफूलाई नेपालगन्जको रैथाने भन्न रुचाउँछन्। ‘धम्बोझीमा बस्न लागेको मेरो छोराको छैटौं पुस्ता हो। सरिफका तीन भाइ छोरा छन्। जेठो नूर आलमले एमबीबीएस पढेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा काम गर्छ। माइलो छोरा अल्ताफले एमबीए गरेको छ। बाबुकै व्यवसायलाई सघाउँछ। कान्छो समसुल फिजियोथेरापिष्ट हो’, उनले भने। 

साइकल स्टोरमा प्रविधि

उनी केही वर्षअघि दुबई गएका थिए। विमानस्थलको पसलमा कोही व्यापारी थिएनन्। एक जना ग्राहकले मोबाइल चलाएर पैसा पठाए। व्यापारी नदेखिएरै सामान आयो। उनले अचम्म माने। उनले सोचे– ‘एक दिन म पनि यस्तै गरी व्यापार गर्छु।’ उनको पसलमा पनि अहिले साइकल खरिदबिक्री ई–पेमेन्टमा हुुन्छ। नगद नल्याउनेलाई फोन पे गर्न भन्छन्। मोबाइल खोलेर क्युआर कोड स्क्यान गर्न भन्छन्। संवाददातासँग संवादकै क्रममा उनले धेरै ग्राहकसँग यसरी नै व्यापार गरे। माइलो छोरा अल्ताफलाई पैसा आए नआएको सुनिश्चित गर्न लगाउँथे। 

‘होलसेल गर्नेले बैंकमै पैसा पठाउँछन्। अर्डर ह्वाट्स एप वा इमेलमा हुन्छ। सामान सबै ट्रान्सपोर्टबाट पठाउँछौं। बीबी साइकल स्टोरमा थरीथरीका साइकल छन्’, उनले भने, ‘थरीथरी ग्राहक आउँछन्। उनी कामदार र ग्राहकका गतिविधि १६ वटा सीसी टिभीबाट नियाल्छन्।’ विगतमा होलसेल बेचेका साइकलको पैसा उठाउन मोटरसाइकलमा टाढा टाढा जानु पर्दा भोगेका दुःख सम्झँदै उनले प्रविधिले सजिलो बनाएको बताए। 

अर्थमन्त्री बन्ने सपना

घरको अर्थव्यवस्था सुधारेजस्तै देशको अर्थव्यवस्था सुधार्न एकपटक अर्थमन्त्री बन्ने उनले सपना देखेका छन्। ‘नेताले जनताको काम गरेनन्। आफ्नो भुँडी मात्र भरे। अहिले जनताले विश्वास गर्न छोडे। अर्थव्यवस्था झनझन खस्किँदो छ। देश ढुलमुलमा छ’, उनले सपना सुनाए, ‘एकपटक अर्थमन्त्री बनेर अर्थव्यवस्था सुधार्ने मेरो सपना छ। घर सुधारे। अब देश पनि सुधार्न सक्छु भन्ने आत्मविश्वास छ।’ २०८० पछि बीबी साइकल भएको ठाउँमा ‘बागवान अस्पताल’ खोल्ने योजना छ। ‘जहाँ महिला र बालबालिकाको उपचार हुनेछ’, उनले भावी योजना बताए। 

मोबाइलमा ग्राहकसँग डिल गर्दै मोहम्मद सफिक बागवान। 

३ असार २०२५ मा जन्मिएका बागवानका दाह्रीजुङ्गा सेताम्य फुलेका छन्। उनको शीरमा ढाकाको टोपी र गलामा गम्छा अनिवार्य हुन्छ। प्रायः कुर्ता पाइजामा माथि हाफ कोट हुन्छ। मन्द मुस्कानका साथ ग्राहकसँग कुरा गर्छन्। उनको बोलीमा मिठास हुन्छ। दम्भ कतै छैन। 

‘कसैले घमण्ड गर्न हुँदैन। अर्कालाई सानो ठान्नु त मुर्खता हो।’ उनले व्यवसाय गर्दा यही सिके। व्यवहारमा उतारेका छन्। उनी साइकल बेच्ने मात्र गर्दैनन्। आफू पनि माउन्टेन बाइक चढ्छन्। साइकल किन चलाउने त ? बागवानको सुझाव छ, ‘नियमित साइकल चढ्नेको मांसपेशी बलियो हुन्छ। मधुमेह लाग्दैन। वीपी भाग्छ। हाडका जोर्नी दुख्दैनन्। मुहार चम्किलो हुन्छ। प्रदूषणबाट बचाउँछ। सवारीले प्रदूषण मुक्त बनायोे भने पनि हामी स्वस्थ हुन्छौं।’

करोडौंको साइकल कारोबार

धम्बोझीमा यो परिवारको बागवान साइकल स्टोर थियो। जुन अहिले पनि छ। २०६७ सालमा त्यसको छेवैमा उत्तरतिर एक कट्ठा जग्गा किनेर अर्को बीबी साइकल स्टोर खोले। यो साइकल शोरुम एक कट्ठा जग्गामै बनेको छ। जहाँ बच्चाका खेलौनादेखि माउन्टेन बाइक गरी ३६५ प्रकारका साइकल पाइन्छन्।

१०० प्रकारका त माउन्टेन बाइक नै छन्। माउन्टेन बाइक मात्र कम्तीमा १० हजार रुपैयाँदेखि बढीमा १ लाख २० हजार रुपैयाँ पर्ने छन्। उनको कम्पनीले वर्षभरिमा २० देखि ४० हजारवटा साइकल बेच्छ। पूर्वको इटहरीबाट पश्चिममा महेन्द्रनगरसम्म उनको साइकलको होलसेल कारोबार हुन्छ। वार्षिक ५०–६० करोडको साइकलको कारोबार हुन्छ। 

उनको अर्को विशेषता भनेको ‘बागवान’ र ‘गोरखा’ आफ्नै ब्रान्डको साइकल छ। ‘बागवान साइकल मेरो ब्रान्ड हो। मेरो पहिचान हो। मेरो बिरासत हो। गोरखा मेरो देशको पहिचान हो’, उनले प्रष्ट पारे, ‘नाम मेरो। मोडल मेरो। डिजाइन मेरो। क्वालिटी मेरो र लगानी मेरो हो। चीनले साइकल मात्र उत्पादन गरेर पठाउँछ।’ 

बागवान ब्रान्डको १८ हजार र गोरखा ब्रान्डको मोल २५ हजार रुपैयाँ छ। गोरखा निकै बलियो साइकल भएको उनको दाबी छ। भने, ‘किन्नेले तीन वर्षमा टायर पनि फेरेको छैनन्।’ नेपालमा ०७५ सालमा भारतीय बुलेट साइकल भित्र्याउने श्रेय पनि उनलाई जान्छ। मोटरसाइकलका जस्ता पाङ्ग्रा भएको झन्डै २० हजार रुपैयाँ पर्ने यो साइकल भारतको लुधियानाबाट पहिलो पटक बागवानले नै नेपालगन्जमा लञ्च गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.