फेरि मुख्यमन्त्री बनेर अपुरा काम पूरा गर्छु : पृथ्वीसुब्बा गुरुङ
बेंसीसहर : नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पुनः गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न प्रदेशमा उमेदवार बन्न लागेको बताएका छन् ।
गण्डकी प्रदेश सरकारमा ३ वर्षसम्म मुख्यमन्त्री भएर काम गर्दा बाँकी रहेका अपुरा काम पूरा गर्न पुनः आफु मुख्यमन्त्री बन्नुपर्ने उनले बताए ।
आइतबार लमजुङ सदरमुकाम बेसीसहरमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोलेका गुरूङले मंसिर ४ गतेको निर्वाचनपछि संघ र प्रदेशमा एमालेको सरकार बन्ने दावी गरे।
गण्डकी प्रदेशमा नेकपा एमाले विगतमा भन्दा अहिले झन बलियो भएकाले बहुमत पुग्ने उनको दावी थियो ।
संघको सांसद मन्त्री भएर भन्दा मुख्यमन्त्री भएर नै प्रदेशको विकास गर्न सम्भव हुने भएकाले आफूले संघमा उठ्न चाहना नराखेको उनको जिकिर थियो।
नेकपा एमाले लमजुङले लमजुङ प्रदेश ‘ख’ बाट प्रत्यक्षमा पृथ्वीसुब्बा गुरूङसँगै जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी नाम सिफारिस गरेको छ ।
५ वर्षका लागि सरकारमा पुगे पनि ३ वर्षमै राजनीतिक घटनाक्रमले सरकार ढल्दा आफ्नो योजना पूरा गर्न नपाएको उनको भनाइ छ ।
‘सुरुमा कानुन थिएन । भवन थिएन । स्रोतसाधन, बजेट थिएन । ती कुरा मिलाउन १ वर्ष लाग्यो । त्यसपछि काम सुरु भएको थियो । कोभिड महामारी आयो, काम प्रभावित भयो’, उनले भने, ‘मेरा पालामा थालेका काम अहिले अलपत्र छन् । अहिलेको सरकारले केही गरेन । अब ती काम पूरा गर्न, जनतालाई सरकारको अनुभूति गराउन पुनः मुख्यमन्त्री बन्ने सोंचमा छु । जिल्लाबासीको सहयोगको अपेक्षा गर्दछु ।’
'मैले ५ वर्ष, १० वर्ष र २५ वर्षमा के के काम गर्ने भनेर योजना बनाएको थिँए । हामीले बनाएको आवधिक योजना दक्षिण एसियामै उत्कृष्ट छ' उनले भने, 'यी योजना पूरा गर्न पनि फेरै मेरै नेतृत्व र सरकार आवश्यक छ ।' आफ्नो पालामा प्रदेशका ८५ स्थानीय तहका पालिका केन्द्रसम्म १२ महिना चल्ने २ लेनको बाटो बनाउन थालिएकोमा हाल अलपत्र रहेको उनले बताए । प्रदेशका ५ लाख ७८ हजार घरधुरीमध्ये ८५ हजार घरधुरीमा बिजुली नभएकाले आफ्नै पालामा बिजुली पुर्याउने, प्रदेशलाई उज्यालो प्रदेश बनाउने लक्ष्य रहेकोमा काम अधूरा भएको उनले बताए ।
एक घर एक धारा, ताल संरक्षण, जलविद्युतको विकास, सिंचाइ, युवालाई सिपमूलक तालिम र रोजगारी, गण्डकी विश्वविद्यालय, छोरीलाई प्राविधिक शिक्षाका लागि अनुदान दिने, सुत्केरी गराउन समस्या भएका महिलालाई हेलिकप्टरबाट उद्दार, कृषि उत्पादनमा जोड, घरवास कार्यक्रम, सबै पालिकामा स्वास्थ्य केन्द्र र अस्पताल बनाउने आफ्नो योजना पूरा गर्न बाँकी रहेको उनले बताए ।