घरदैलोमै स्वास्थ्यकर्मी पठाएर उपचार सेवा
वीरगन्ज : चुनावताका जनतासामु गरेका वाचा पूरा गर्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरवासीको घरदैलोमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य उपचार सेवा दिन थालेका छन्।
मेयर सिंहको निर्देशनमा महानगरपालिकाले वडावडामै विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीलाई टोली पठाएर स्वास्थ्य उपचार सेवा प्रदान गर्न थालेको हो।
'मेयर स्वास्थ्य घरदैलो कार्यक्रम' नाम दिइएको उक्त अभियान आइतबारदेखि सुरु गरिएको हो। वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा आइतबार उक्त कार्यक्रमको उद्घाटन मेयर सिंहले गरे।
पहिलो चरणमा वीरगन्ज महानगरका ग्रामीण भेगका १६ वटा वडालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो।
यसमा विशेषज्ञ चिकित्सक (मेडिकल अफिसर) तीन जनासहित स्टार्फ नर्स, हेल्थ असिस्टटेण्ट, अनमी गरी २५ जना स्वास्थ्यकर्मी खटाइएको छ।
एउटा वडामा पाँच दिनसम्म सञ्चालन गरिने स्वास्थ्य शिविरमा बिरामीको स्वास्थ्य जाँच गरिनुका साथै ल्याब टेष्ट (रगत, दिशा, पिसाब, खकार इत्यादिको जाँच), इसिजी, भिडियो एक्सरे लगायतका सेवा पनि प्रदान गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताए।
बिरामीको जाँच र ल्याब टेष्टसँगै औषधि पनि निःशुल्क वितरण गरिएको उनले जनाए। जयसवालले भने, 'यो शिविरमा बिरामीलाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको ९८ प्रकारका औषधिबाहेक उच्च रक्तचाप, मधुमेह र थाइराइडको औषधि पनि निःशुल्क वितरण गरिरहेका छौं।'
आइतबार मेयर स्वास्थ्य घरदैलो कार्यक्रमको औपचारिक उद्घाटन गर्दै मेयर सिंहले यो कार्यक्रम यसअघि गाउँघरमा सञ्चालन हुँदै आएका एक दिने शिविरभन्दा फरक र विशेष प्रकारको भएको बताए।
उनले भने, 'एउटा वडामा यो शिविर पाँच दिनसम्म चल्छ, डाक्टरले सुरुमा बिरामीको स्वस्थ्य जाँच गर्छन्, आवश्यक परे ल्याब टेष्ट पनि गरिन्छ, रोग पत्ता लगाएर औषधि दिएपछि मात्रै बिरामीलाई घर पठाइन्छ।'
हरेक नगरवासीको घरदैलोमै स्वास्थ्य उपचारको सेवा पुगोस् भन्ने उद्देश्यले आफूले यो कार्यक्रम सञ्चालन गरेको उनले बताए।
मेयर सिंहले भने, 'महानगरका ३२ मध्ये १६ वटा वडा ग्रामीण भेगमा छन्, यो भेगमा सहरको जस्तो सुविधा सम्पन्न स्वास्थ्य संस्था छैनन्, उपचारका लागि सहर नै धाउनुपर्ने बाध्यता छ, त्यसैले पहिलो चरणमा ग्रामीण भेगका जनतालाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको हो।'
उनले आफनो चुनावी घोषणापत्रमा पनि नागरिकको घरदैलोमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरेको स्मरण गर्दै त्यही वाचा पूरा गर्न पनि यो कार्यक्रम सुरु गरेको बताए।
सिंहले भने, 'यो कार्यक्रम एउटा वडाका लागि मात्र नभइ महानगरका ३२ वटै वडामा सञ्चालन गरिने छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले वीरगन्ज महानगरले सस्तो लोकप्रियताका लागि नभइ देशका अन्य ७५२ पालिकाले पनि अनुसरण गरुन् भनेर नागरिकको घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सुरु गरेको बताए।
महानगरले विशेषज्ञ चिकित्सक र ल्याब टेष्ट सहितको सेवा र औषधिसमेत निःशुल्क वितरण गर्नेगरी गाउँघरमै शिविर सञ्चालन गरेपछि महानगरवासी पनि खुसी छन्।
लालपर्सामा आइतबारदेखि सुरु स्वास्थ्य शिविरमा सेवा लिन पुगेका वीरगन्ज ३० प्रशोतिपुरका ७३ वर्षीया लाल बहादुर यादवले गाउँघरमै डाक्टर सहितको टोली आएर उपचार गरेकोमा खुसी व्यक्त गरे।
उनले भने, 'घरको कोही बिरामी हुँदा वीरगन्ज बजारको हस्पिटल धाउनुपर्थ्यो, आउँदाजाँदा दिनभरको समय जान्थ्यो, उस्तै परे बास नै बस्नु पथ्र्यो, खर्च पनि उत्तिक्कै हुन्थ्यो तर अहिले गाउँमै ठूला डाक्टरबाट इलाज गराउन पाइयो, दवाइ पनि दिए, खर्च एक सुको पनि भएन।'
लालबहादुरसँगै शिविरमा उपचार गराउन आएका उनका छिमेकी राम बहादुर राउतले भने, 'नेताले जनताको यस्तै पिरमर्का बुझेर काम गरे भने उनीहरूलाई हामी जस्ता बुढाखाडाको आर्शिवाद पनि लाग्छ, सारै राम्रो काम गरेका छन् हाम्रा मेयर साबले।'
उनले समय समयमा यस्ता शिविर गाउँघरमै सञ्चालन गरिए ग्रामीण भेगका जनता बिरामी पर्दा शहर धाउनुपर्ने अहिलेको बाध्यता हट्ने र यसले जनतालाई उपचार र खर्च दुवैमा धेरै राहत पुग्ने बताए।