अमेरिकामा हरिभक्तको सम्झना
वासिङ्टन डिसी : नेपाली भाषाका कवि तथा गीतकार हरिभक्त कटुवालको ४२ औं स्मृति दिवस अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स सहरमा मनाइएको छ। फेयरफ्याक्स सहरस्थित थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा नेपाली दूतावास अमेरिकाका उपनियोग प्रमुख कुमारराज खरेलको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो।
अमेरिका–नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाले स्वागत मन्तव्य राख्दै प्रतिष्ठानले आधुनिक नेपाली साहित्यकारहरूको सम्झनामा कार्यक्रम गर्ने बताए। अमेरिका–नेपाल साहित्य प्रतिष्ठानले आयोजना गरेको स्मृति दिवसलाइ सम्बोधन गर्दै कुमारराज खरेलले राजदूतावासले गर्नुपर्ने भाषा साहित्यको सम्वद्र्धनको कार्यक्रम आयोजना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूमा नेपाली दूतावास सहकार्य गर्न तत्पर रहेको बताए।
कार्यक्रममा कृष्ण धरावासीले हरिभक्त कटुवालको सालिक झापामा अनावरण गरेको सम्झना गर्दै कटुवालको साहित्यिक योगदानको चर्चा गरेका थिए। कार्यक्रममा वसन्त श्रेष्ठले हरिभक्त कटुवालको चिनारी प्रस्तुत गरेका थिए भने हरिभक्त कटुवालको गीत ‘पोखिएर घामको झुल्का’ सुदिन अमात्यले प्रस्तुत गरेका थिए।
यसैगरी मञ्जु विमली, नीलकण्ठ सुवेदी, कृष्ण शर्मा र शिव लामिछानेले हरिभक्त कटुवालका कविताहरू वाचन गरेका थिए। हरिभक्त कटुवालका गीत गाउँदै, कविता वाचन गर्दै पुष्पा खनालले रोचक ढंगले कार्यक्रम
सञ्चालन गरेकी थिइन्।