किन गरिन्छ सोह्रश्राद्ध ?
धर्मशास्त्र तथा शास्त्रीय मान्यतामा चन्द्रमानको पात्रोअनुसार वर्षमा २४ पक्ष हुन्छन्। आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औंसीसम्मका वा जमरे औंसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र्रश्राद्ध भनिएको हो। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। यसमा दिवंगत सबै पितृहरूको कल्याण उद्देश्य राखेर पिण्डदान गरिन्छ।
यसपालिकोे पितृपक्ष सोह्रश्राद्ध भदौ २६ गते सुरु भई असोज ९ गते समापन हँुदैछ। सूर्य कन्या राशिमा प्रवेश गर्दा यो पर्व सुरु हुन्छ। यो कन्या राशिमा सूर्य सरेको बखत दिवंगत पितृहरूलाई पिण्डदान नगर्ने पुत्रहरूले धर्म नगरेको ठानिने भनेर विभिन्न शास्त्रहरूमा बताइएको छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा समेत गरिएको छ। यस श्राद्धमा चार जना ब्राह्मण चाहिने भएकोले ब्राह्मणको प्रतीक स्वरूप कुशको ब्राह्मण थापिएको हो।
पहिलेपहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजाआजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा कुशको ब्राह्मण राखिएको हो। यसमा खासगरी दुवैपट्टि दुई/दुई ब्राह्मणलाई क्रमशः वि श्रदेव र पितृब्राह्मण भनिन्छ। पार्वण श्राद्ध अन्य श्राद्धको विधि जस्तै सुरुमा देव मनुष्य दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरु हुन्छ। यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रण गरिन्छ।
पहिलेपहिले अघिल्लै दिनमा गरिन्थ्यो। ब्राह्मण निमन्त्रणापछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राह्मणलाई विधिपूर्वक सिधादान गरिन्छ। यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ। प्रत्येक पितृलाई पिण्ड दिनुअधि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ। श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गंगाको तीरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ। यसरी श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध खासगरीकन अपराह्नमा गर्नुपर्ने शास्त्रमा उल्लेख छ ।
हाम्रो समाजको सबैभन्दा ठूलो पर्व दसैं तिहार हो यो पर्व मनाउनुभन्दा पहिले आ–आफ्नो पितृहरूलाई आदरसाथ श्राद्धपूर्वक सम्झना गर्नाले सबैको कल्याण हुन्छ। यस कारणले गर्दा परापूर्वकालदेखि नै यो संस्कार चलिरहेको छ।
श्रद्धापूर्वक गरिएको पितृकार्यले पितृ तथा कर्ताको कल्याण हुन्छ। श्राद्ध कर्मको विशेषता भनेको शुद्ध मन्त्र उच्चारणसहित श्राद्ध गर्नु हो । ‘पितरो वाक्य मिच्छरिन्त भाव मिच्छन्ति देवता’ अर्थात्– पितृहरूलाई शुद्ध मन्त्र शुद्ध वाक्य चाहिन्छ भने देवताहरूलाई भाव भए पुग्छ । हाम्रो धार्मिकशास्त्रमा श्रद्धा धेरै किसिमका छन्। भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ।
यसमा दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो। त्यस्तै गरी दोस्रो वार्षिक एकोदिष्टदी नैमित्तिक श्राद्ध हो। तेस्रो आफ्नो इच्छा सिद्ध होस् भनी गरिने काम्य श्राद्ध हो। चौथो हो विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो। पाँचौ सपिण्डी श्राद्ध हो। छैटौं पार्वण श्राद्ध हो। सातौं गोठमा गरिने गोष्ठी श्राद्ध हो। आठौं पितृ तृप्ति विद्वानहरूको सुख प्राप्ति र शुद्धिका निमित गरिने ब्राह्मण भोजन शुद्धि श्राद्ध हो। नवौंमा सिमान्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने कमाङ श्राद्ध हो। दशौं देवताहरूको उद्देश्यले गरिने दैविक श्राद्ध ११ देशान्तरमा जाँदा घिउले गरिने यात्रा श्राद्ध हो। र बाह्रौंमा शरीर स्वस्थ्य होस् भनी गरिने पुष्टि श्राद्ध हो।
त्यस्तैगरी अर्को पाँच प्रकारको श्राद्ध रहेको छ। यो श्राद्ध भने आजकल धेरै आएको देखिन्छ। यसमा प्रथम नित्य हो भने दोस्रो नैमितिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचौ पार्वण श्राद्ध हो। यी सबैमध्ये खास गरीकन हाम्रो समाजमा एकोदिष्ट श्राद्ध जुन आफ्ना पितृहरूलाई वार्षिक रूपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ। यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ। त्यस्तै गरी सालको एकपटक पार्वण श्राद्ध गरिन्छ । आफ्नो पितृहरूको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नुपर्छ। एक पार्वण श्राद्ध औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ।
हिन्दू समाजमा सोह्रश्राद्धको विशेष महत्व छ। कुनै पनि सालमा मघा तिथिमा सोह्रश्राद्ध परेको छ भने त्यसलाई छोरा हुनेले मघा तिथिको साटो अन्य तिथि खोजी सोह्रश्राद्ध गर्छन् वा औंसी, एकादशीमा गर्छन् वा सिदा तर्पणबाटै पितृहरूलाई विसर्जन गर्छन्। यसरी दिवंगत पितृहरूले जीवमा ८४ लाखमध्ये कुनै न कुनै प्राणीमा उनीहरूले देहधारण गरेका हुन्छन् र तत् योनीका खानास्वरूप आ–आफ्ना दिवंगत पितृहरू तृप्त हुन्छन्। यसर्थ देवत्व प्राप्त गरेका पितृहरूले पनि सन्ततिबाट केही आशा गरेका हुन्छन् भनिन्छ। हाम्रो समाजको सबैभन्दा ठूलो पर्व दसैं तिहार हो यो पर्व मनाउनुभन्दा पहिले आ–आफ्नो पितृहरूलाई आदरसाथ श्राद्धपूर्वक सम्झना गर्नाले सबैको कल्याण हुन्छ। यस कारणले गर्दा परापूर्वकालदेखि नै यो संस्कार चलिरहेको छ।