बागमतीमा सरकारी कामकाजका लागि नेवारी र तामाङ भाषा
मकवानपुर : बागमती प्रदेशले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजका लागि प्रयोगमा ल्याउने निर्णय गरेको छ।
सोमबार मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ वटै जिल्लामा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजका लागि प्रयोगमा ल्याउने प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए।
प्रवक्ता खनालले दुवै भाषालाई बोलीचाली तथा सरकारी कामकाजका निम्ति प्रयोगमा ल्याउने प्रक्रिया अघि बढाई कार्यान्वयनको चरणमा तत्कालै लैजाने बताए।
यसअघि सरकारी कामकाजमा नेपाली भाषा मात्रै प्रयोगमा आइरहेको थियो। प्रदेश सरकारको यो निर्णय कार्यान्वयन भएसँगै अब तीनवटा भाषा सरकारी कामकाजका लागि प्रयोग हुनेछ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश औद्योगिक व्यवसायी नियमावली-२०७९ स्वीकृत गरेको छ।
प्रदेश स्वास्थ्य सेवा ऐन-२०७५ लाई संशोधन गर्न बनेको अध्यादेश-२०७९ स्वीकृत गर्नुका साथै हेटौंडास्थित एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालका रूपमा विकास गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।