नेपालमा डेंगुका बिरामी १३ हजार नाघे
काठमाडौं : नेपालमा डेंगुबाट संक्रमितको संख्या १३ हजार नाघेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेंगुको संक्रमण देखिएको छ।
डेंगुबाट सबैभन्दा बढी ललितपुरमा चार हजार ९८, काठमाडौंमा तीन हजार ५२ र मकवानपुरमा एक हजार चार सय २२ जना सङ्क्रमित छन्।
यस्तै रुपन्देहीमा छ सय ४१, भक्तपुरमा चार सय ८२, दाङमा तीन सय ७८, चितवनमा तीन सय ४३, धादिङ एक सय ४५, काभ्रेपलाञ्चोकमा एक सय ३४ र दार्चुलामा एक सय २१ जनामा डेंगुको संक्रमण देखिएको छ।
डेंगुका बिरामी सबैभन्दा बढी बागमती प्रदेशमा नौ हजार नौ सय ७१ जना रहेका छन्। हालसम्म डेंगुको संक्रमणबाट १३ जनाको निधन भइसकेको छ।
विशेषगरी साँझ-बिहानको समयमा सक्रिय हुने, सफा र जमेको पानीमा बस्न 'एडिज एजिप्टी र एडिस एल्बोपिक्टस' प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ।