विकट चेपाङ बस्तीमा बिजुली
हेटौंडा : केही वर्ष अघिसम्म गाउँमा बिजुली विस्तारबारे चर्चा गर्दा स्थानीयले पत्याउँदैनथे। उनीहरूको प्रश्न हुन्थ्यो, ‘हाम्रो गाउँमा कसरी बिजुली विस्तार होला ? ’ दियालो र टुकीको भरमा रात काट्दै आएका थिए।
विद्युत् प्राधिकरणले पोल गाडेको भए पनि बिजुली विस्तार अलपत्र अवस्थामा थियो। यहीबीच मकवानपुरको कैलाश गाउँपालिका—८ चेपाङ र तामाङ समुदायको बसोबास रहेको विकट गाउँमा आङ्तीमा बिहीबार बिजुली उद्घाटन हुने खबर फैलियो। बिजुली विस्तार कार्य होला भनेर अधिकांशले विश्वास नै गरेका थिएनन्। तर, जब कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले स्विच थिचे, बिजुली बल्यो। वर्षौंको प्रतीक्षापछि गाउँमा बिजुली बलेको देख्दा गाउँलेमा खुसीको सीमा नै रहेन।
गाउँपालिकाको ५० लाख रुपैयाँ र प्राधिकरणको सहयोगमा विस्तार कार्य सम्पन्न भएसँगै स्थानीयले वर्षौंपछि गाउँमा बिजुलीको उपभोग गर्ने अवसर पाएका हुन्। लघुजलविद्युत् परियोजनाबाट सो क्षेत्रका केही घरमा बिजुली पुर्याइएको भए पनि तीन वर्षदेखि सेवा अवरुद्ध थियो।
बजेट अभावमा प्राधिकरणले गाउँमा पोल गाडिएको थियो। तर, बिजुली विस्तार गर्न सकेको थिएन। आङ्तीका सबै घरमा बिजुली पुर्याउने तयारीका साथ काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ। ‘सो क्षेत्रमा ७५ घरपरिवार छन्। विशेषगरी सिमान्तकृत चेपाङ समुदाय र तामाङ समुदायको बाहुल्य छ। हामी प्रत्येक घरमा १५ दिनभित्र बिजुली पुर्याउँछौँ’, गाउँपालिका अध्यक्ष मुक्तानले भने।
कैलाशको वडा नम्बर ३, ४, ७ र ८ का करिब ७० प्रतिशत घरमा अझै पनि बिजुली पुगेको छैन।