चोलेन्द्रको सबै बयान सकियो, प्रतिवेदन पेश गर्न ३ बजे महाभियोग सिफारिस समितिको बैठक बस्ने
काठमाडौं : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सबै बयान सकेको छ। शनिबार संसदीय समितिमा बसेको बैठकमा जबराले दिएको बयानमा हस्ताक्षर गराएर प्रमाणीकरण भएको हो। आजको बैठकमा जबरालाई पूरक प्रश्नसमेत सोधिएको थियो।
संसद बैठकको अन्तिम दिन आज तोकिएपनि अहिलेसम्म प्रतिवेदन बुझाउने नबुझाउने अन्यौल कायम छ। सत्ता पक्ष नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आज बस्ने अन्तिम बैठकमा प्रतिवेदन पेस गर्ने तयारीमा छन् भने प्रतिपक्षी दल एमाले अध्ययन नै अपुरो भएकाले प्रतिवेदन बुझाउन नहुने अडानमा छ।
बयानको अन्तिम निष्कर्ष र प्रतिवेदन तयार गर्न दिउँसो ३ बजे पुन : बैठक बस्ने समिति सभापति रामबहादुर विष्टले जानकारी दिए। उनका अनुसार ३ बजे बस्ने महाभियोग सिफारिस समितिको बैठकले प्रतिवेदन संसदीय सचिवालयमा निर्णयार्थ पेश गर्नेछ।
सरकारले पनि संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यरातदेखि संसद्को ११ औं अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।