इन्जिनियरिङबाट अभिनयमा तापसी
मुम्बई : तापसी पन्नूको जन्म सन् १९८७ मा भारतको राजधानी नयाँदिल्लीमा एक सिख परिवारमा भएको हो। उनले विद्यालय तथा उच्च शिक्षा दिल्लीमै पूरा गरेकी थिइन्। उनी पढाइमा निकै तेज थिइन्। सानै उमेरदेखि हरेक कक्षामा पहिलो हुन्थिन्। पढाइमा तेज भएकै कारण उनी सबैको प्यारो थिइन्। उनले सफ्टवेयर इन्जिनियरिङमा स्नातक गरेकी छन्।
कलेजमा पढ्दापढ्दै उनलाई मोडलिङको अफर आएको थियो। उनी पार्टटाइमका रुपमा मोडलिङ गर्थिन्। अरु समय भने पढाइसँगै सफ्टवेयर इन्जिनियरिङको काम गर्थिन्। मोडलिङमा लाग्दालाग्दै उनलाई रंगीन संसारले तान्यो र इन्जिनियरिङ छाडेर उनी अभिनयमा होमिइन्। तापसीले सन् २०१० बाट अभिनयमा पाइला राखेकी हुन्। उनले तेलगू चलचित्र ‘झुमांदी नादम’मार्फत अभिनय करियर सुरु गरेकी हुन्। तेलगू चलचित्रमा काम गरेसँगै उनले सन् २०११ मा तमिल चलचित्रमा पनि अभिनय गर्ने मौका पाइन्। उनले तमिल चलचित्र ‘आधुकलम’मा काम गरिन्।
तापसीले बलिउडमा भने सन् २०१३ मा डेब्यु गरेकी हुन्। चर्चित निर्देशक डेभिड धवनको ‘चश्मेबद्दुर’मार्फत बलिउडमा पाइला राखेकी हुन्। त्यसक्रममा केही तेलगू र तमिल चलचित्रमा पनि काम गरिन्। सन् २०१५ को ‘बेबी’ र २०१६ को ‘ड्रामा’ चलचित्रले तापसीलाई बलिउडमा स्थापित गर्न मद्दत पुर्याएको थियो। यी दुवै चलचित्र व्यवसायिक रुपमा सफल पनि भएको थियो।
त्यसपछि उनले ‘द घाजी अट्याक’, ‘मुल्क’, ‘मनमार्जियन’, ‘बदला’, ‘मिसन मंगल’, बायोपिक चलचित्र ‘प्रकाशी तोमर’, ‘साँढ की आँख’, ‘थाप्पड’लगायतमा काम गरिन्। उनले ‘साँढ की आँख’ र ‘थाप्पड’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि पाइन्। उनी शाहरूख खानसँग ‘डंकी’मा देखिँदै छिन् भने बायोपिक चलचित्र ‘साबास मिठु’मा पनि प्रमुख भूमिकामा छिन्। गत जुलाई १५ मा रिलिज भएको ‘साबास मिठु’ भारतीय महिला क्रिकेट टोलीकी पूर्वकप्तान मिताली राजको जीवनीमा आधारित चलचित्र हो। यसैगरी तमिल चलचित्र ‘जन मन गण’ र बलिउड चलचित्र ‘दोबारा’मा पनि उनले अभिनय गरेकी छन्।
तापसीले पछिल्लो समय अभिनयसँगै इभेन्ट म्यानेजमेन्ट कम्पनी पनि सञ्चालन गर्दै आएकी छन्। उनको इभेन्ट म्यानेजमेन्ट कम्पनीले ठूल–ठूला विवाहका कार्यक्रम सफलतापूर्वक व्यवस्थापन गर्दै आएको छ। यससँगै उनी खेलकुद क्षेत्रमा पनि सक्रिय छिन्। प्रिमियर ब्याडमिन्टन लिगमा उनले ‘पुने सेभेन एस’ फेन्चाइज टिम किनेकी छन्। तापसी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन्। इन्स्टाग्राममा उनलाई १९ लाख ७० हजारले फलो गरेका छन्।