जबरालाई अदालत फर्कन दिनुहुन्न : प्रेम सुवाल
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले महाअभियोग लागेका चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत फर्कन दिन नहुने बताएका छन् । संविधान दिवसको अवसरमा सोमबार भक्तपुरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै सचिव सुवालले न्यायालय र न्यायाधीश पनि स्वच्छ नभएको आरोप लगाए ।
न्याय माफियाहरुको कब्जामा रहेको आरोप लगाउँदै सुवालले न्यायाधीश र वकिलको कब्जामा न्यायालय रहेको बताए। 'जसरी भू-माफिया, बन माफिया, बैंक माफिया हुन्छ, त्यसरी नै न्यायालय पनि माफियाको कब्जामा छ, ,'उनले भने,'न्यायालय पनि सेटिङमै चल्ने गरेको छ।'
संविधान दिवसको नाममा जेलमा रहेका अपराधीहरुलाई अपराध माफी गरी जेलमुक्त गर्नु ठीक नभएको उनको भनाइ छ। बरु जघन्य अपराध गर्नेहरुलाई मृत्युदण्ड सजायको बन्दोबस्त हुनुपर्ने उनले बताए ।
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित कलेजहरुको आयोजनामा भएको कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, ख्वप कलेजका प्राचार्य रुपक जोशीलगायत वक्ताहरुले ठूला राजनीतिक दलहरुका कारण न्यायालयमा गन्जागोलको अवस्था सृजना भएको बताए।