डा‌. केसीले भने- 'मलाई अपहरण गरेर नलैजानुस्'

डा‌. केसीले भने- 'मलाई अपहरण गरेर नलैजानुस्'

धनगढी : कैलालीको गेटामा मेडिकल कलेज सञ्चालन सहितका माग राख्दै ९ दिनदेखि सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीलाई काठमाडौं लैजान भनी आएको नेपाली सेनाको हेलिकप्टर फिर्ता भएको छ। 

डाक्टर केसीले आफूले काठमाडौं नजाने भनेपछि सेनाको हेलिकप्टर फिर्ता भएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीले डाक्टर केसीको स्वास्थ्य अवस्थामा जटिलता आएको भन्दै गृह मन्त्रालयलाई हेलिकप्टरमार्फत काठमाडौं लगिदिन अनुरोध गरेपछि मंगलबार दिउँसो नेपाली सेनाको हेलिकप्टर डाक्टर केसीलाई लैजान धनगढी आएको थियो।

'तर डाक्टर केसीले मान्नु भएन। उहाँले काठमाडौं जान्न भन्नुभयो। जबरजस्ती गरे अपहरण गरे जस्तो हुन्छ, मलाई अपहरण गरेर नलैजानुस् भन्नुभयो' डाक्टर केसीको उपचारमा संलग्न डाक्टर अमृत जैशीले भने। 'डाक्टर केसीलाई नेपाली सेनाकै स्कटिङमा विमानस्थलसम्म लैजाने र त्यहाँबाट सेनाको हेलिकप्टरमा काठमाडौं लैजाने भनि प्रहरी नै अस्पताल आएको थियो।'

डाक्टर केसीले आफूले सेती प्रादेशिक अस्पतालमै उपचाररत रहने तर काठमाडौं नजाने बताएपछि प्रहरीको टोली फर्किएको थियो। 

डाक्टर केसीलाई सेती प्रादेशिक अस्पतालबाट विमानस्थलसम्म लैजाने बेला धनगढीका विभिन्न चोकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएका थिए। गेटा मेडिकल कलेज सञ्चालन सहितका चिकित्सा सुधारका मागहरू राख्दै डाक्टर केसी धनगढीमा सत्याग्रहमा छन्। 

डाक्टर केसीलाई जवरजस्ती लैजान खोजे स्थानीय सडकमा आउने सम्भावना देखेपछि सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो भने धनगढीका मुख्य/मुख्य चोक र मुख्य बजारमा पनि प्रहरी तैनाथ गरिएको थियो। 

कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले डाक्टर केसीको स्वास्थ्यमा जटिलता आएको भन्दै सेती प्रादेशिक अस्पतालले रिफर गरेपछि गृह मन्त्रालयलाई हेलिकप्टर माग गरिएको बताए। 

'डाक्टर केसीको जीवन रक्षाका लागि हेलिकप्टर मगाइएको हो, तर उहाँले जान मान्नु भएन, अनि सेनाको हेलिकप्टर विमानस्थलबाटै फिर्ता भयो', प्रमुख जिल्ला अधिकारी थापाले भने।

यसअघि मंगलबार बिहान सुदूरपश्चिम सरकारका तर्फबाट सामाजिक विकास मन्त्री गोविन्द बोहराले पनि डाक्टर केसीलाई काठमाडौं जानका लागि आग्रह गरेका थिए। 

डाक्टर केसी प्रदेश सरकारको त्यो कुरा पनि नकारि दिएका थिए। भाद्र २६ गते धनगढीको कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका डाक्टर केसीलाई तीन दिनमै स्वास्थ्य अवस्थामा समस्या आएपछि, सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। 

उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिलतातर्फ गइरहेको उपचारका संलग्न चिकित्सकहरूले जनाएका छन्। 

प्रदेशका सामाजिक विकास मन्त्री बोहरा, प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर जगदिश प्रसाद जोशी सहितको टोलीले मंगलबार बिहान सेती प्रादेशिक अस्पतालमै पुगेर डाक्टर केसीलाई काठमाडौं लैजाने प्रस्ताव गरेक थिए। 

'मेरा मागहरू पूरा गर्नुहोस, म काठमाडौं जान्न, नेपालको जुनसुकै अस्पतालमा पनि म मेरो उपचार गराउन स्वतन्त्र छु, म सेती मै बस्छु, मलाई सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले राम्रो उपचार गरिरहनु भएको छ' भन्दै डाक्टर केसीले सामाजिक विकास मन्त्रीलाई फिर्ता पठाई दिएका थिए। 

सामाजिक विकास मन्त्री बोहराले, प्रदेश सरकारले डाक्टर केसीका मागहरू पूरा गर्न नसक्ने भन्दै निरिहता प्रकट गरेका थिए। 'प्रदेशस्तरबाट हजुरका मागहरू पूरा गर्न सकिदैन, संघले नै गर्ने हो, तर सेती प्रादेशिक अस्पतालले रिफर गरिसकेको छ। मैले गृह मन्त्रीलाई काठमाडौं लैजानका लागि भनेको छ' सामाजिक विकास मन्त्री बोहराले भने। 

तर जवाफमा केसीले भने, 'मेरो बारेमा गृहमन्त्रीलाई भनेर हुन्छ ? मेरो स्वास्थ्य र मागको चिन्ता हो भने प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई पो भन्ने हो।' 

डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पतालले उनलाई चार दिनअघि नै रेफर गरिसकेको छ। तर डाक्टर केसीले सेती प्रादेशिक अस्पताल छोडन मानिरहेका छैनन्। 

डाक्टर केसीको अक्सिजनको लेवल घटिरहेको, पेटमा अल्सर भएर आन्तरिक रक्तश्राव भईरहेको, तीन किलो तौल घटेको, मांसपेसीहरू खुम्चिन थालेको भन्दै सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले उनलाई विशिष्टकृत सेवा भएको अस्पतालमा रेफर गरिसकेका छन्।

तर पनि डाक्टर केसीले मानिरहेका छैनन। उनले, गेटामा अस्पताल सञ्चालन गरी मेडिकल शिक्षाको तुरुन्तै पढाई हुनुपर्ने माग सहित चिकित्सा क्षेत्र सुधारका लागि विगतका सरकारहरूले गरेका सहमति कार्यान्वयनको माग गरेका छन्। 

डाक्टर केसीको उपचारमा सेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमर, डाक्टर अमृत जैशी सहितको टोली चौबिसै घण्टा अटिएको छ। उपचारमा खटिएका डाक्टर कमरले डाक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन विग्ररहेको बताएका छन्। 

'आजबाट सुद्ध पानी, नर्मल स्लाईन र रिंगर ल्याक्टेट मात्र प्रदान गरिउको छ। पेटको सम्भावित अल्सरका लागि पेन्टाप्राजोल ईन्जेक्सन दिईन थालिएको छ। उहाँको स्वास्थ्यमा हिजोका भन्दा थप जटिलता आएको छ। शरिरमा पोषण तत्व र पानीको अभावले जतिबेला पनि बेहोस हुने सम्भावना बढेको छ। मुट्को धडकन, स्वासप्रस्वास र रक्तचाप घटबढ भईरहेको छ' उपचारमा संलग्न वरिष्ट फिजिसियान डाक्टर शेरबहादुर कमरले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.