हेलिप्याड निर्माण हुन नदिन समिति नै गठन, निरन्तर विरोध
भक्तपुर : भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणको सुरु भएसँगै स्थानीयले विरोध थालेका छन्।
जिल्लाको सूर्यविनायक नगरपालिका-१० नलिन्चोक जोरापाटी माविसँगै हेलिप्याड निर्माणका लागि डोजर माटो सम्याउने काम थालेसँगै स्थानीय विक्रम थापाको अध्यक्षतामा १५ सदस्यीय नलिञ्चोक हेलिप्याड जनसरोकार समिति गठन गरी विरोध थालेका हुन्।
लामो प्रक्रियापछि सोमबारदेखि त्यहाँ डोजर पुगेर माटो सम्याउने काम भएको थियो। त्यसपछि स्थानीयले भेला गरी समिति गठन गरेर विरोध थालेका हुन्।
हेलिप्याड बनाउने सरकारी योजनासँगै स्थानीयले पटकपटक विरोधमा भेला पनि गरेका थिए। तर अहिले पनि समिति नै गठन गरी उनीहरु विरोधमा उत्रेका हुन्।
विरोधका लागि गठन गरिएको नलिञ्चोक हेलिप्याड जनसरोकार समितिका अध्यक्ष अधिवक्ता विक्रम थापाले यसअघि हेलिप्याड बनाउने सरकारी योजना थाहा पाएदेखि पटकपटक यसबारे स्थानीयबीच छलफल भएको सुनाए।
'सोमबारदेखि डोजर ल्याएर काम नै थालियो,' अध्यक्ष थापाले भने, 'त्यसकारण हामीले समिति नै गठन गरी विरोध जनाउन थालेका हौं।'
समितिका उपाध्यक्ष राजेन्द्र खत्रीले हेलिप्याडका कारण ध्वनी प्रदूषण हुने भएकाले विरोध गर्नुपरेको जनाए। आफूहरूसँग कुनै सरोकार नै नराखी बस्तीको बीचमा हेलिप्याड निर्माण गर्न लागेकाले विरोध गर्नुपरेको उपाध्यक्ष खत्रीले बताए।
गहिरो ठाउँमा रहेको र वरिपरि पहाड तथा अग्ला संरचना रहेकाले दुर्घटनाको जोखिम रहेको उनले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई घटाउन नागरिक उड्डयन प्राधिकरणले त्यहाँ हेलिप्याड निर्माणको काम थालेको हो।
प्राधिकरणले स्वामित्वमा रहेको यहाँको ३२ रोपनी जग्गामा हवाई ग्राउण्डमा सार्ने निर्णय गर्दै हेलिप्याड निर्माण सुरु गरेको थियो। यसपछि सूर्यविनायक वडा नं ९ र १० का बासिन्दा विरोधमा उत्रिएका हुन्।
'सरकारकै नियमानुसार वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्नुपर्थ्यो, त्यो गरेन', स्थानीय उमेश खत्रीले भने, 'यहाँ एक किलोमिटर आसपासका क्षेत्रमा नौवटा विद्यालय सञ्चालनमा छन्, त्यहाँका विद्यार्थीको पढाइमा प्रभाव पर्छ, स्थानीयवासीलाई बेवास्ता गर्दै जबर्जस्ती निर्माण गर्न खोज्नु गलत हो, हामी यो निर्णय मान्दैनौं।'
प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक चाप घटाउन हेलिकोप्टर सेवालाई भक्तपुर सार्ने निर्णय गर्दै हेलिप्याड निर्माणको काम अगाडि बढाएको हो।
आन्तरिक र अन्तर्राष्ट्रियतर्फका व्यावसायिक उडानले ग्राउन्ड या आकाशमा होल्ड हुनुपर्ने समस्या सुधार गर्न र मनोरञ्जनात्मक चार्टर उडानसमेत यहीँबाट गर्ने गरी प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माण सुरु गरेको हो।
प्राधिकरणले आगामी वर्षमा नै हेलिप्याड सञ्चालनमा ल्याइसक्ने गरी 'मिनी एयरपोर्ट' का रूपमा काम अगाडि बढाएको छ।
हाल सञ्चालनमा रहेका १० वटा कम्पनीका ३३ वटा हेलिकोप्टर यहाँ अवतरण गर्ने गरी हेलिप्याड निर्माण प्रारम्भ गरिएको हो।
१५ करोडको लागतमा एक वर्षमा हेलिप्याड निर्माण गर्ने गरी उमा एण्ड कम्पनीलाई ठेक्का परेपछि निर्माण कार्य अगाडि बढाउन शिलान्याससमेत भइसकेको छ।
निर्माण सम्पन्न भएपछि हेलिप्याड स्थानान्तरण गरिने र नेपाली सेना, नेपाल वायुसेवा र हिमालय एयरलाइन्सका लागि ह्याङ्गर हब विस्तार गरिने जनाइएको छ।
प्राधिकरणका अनुसार पहिलो चरणमा हेलिप्याड निर्माणका लागि १५ करोड रुपैयाँ र दोस्रो चरणमा भवनलगायतका संरचना निर्माणका लागि १५ करोड गरी प्राधिकरणले ३० करोड रुपैयाँ खर्च गर्ने भएको छ।
हेलिप्याड क्षेत्रमा इन्धनका लागि एउटा स्थायी ट्याङ्की, फायर फाइटिङका लागि आवश्यक छुट्टै कक्ष, यात्रुका लागि सानो टर्मिनल भवन, हेलिकोप्टर कम्पनीका लागि कार्यालय, कन्फेक्सनरी सप, मर्मत सम्भारका लागि ह्याङ्गरलगायतका संरचना निर्माण गरिने छ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिम्रिक, एयर डाइनेष्टी, कैलाश, मुस्ताङ, मनाङ, हेली एभरेष्ट, श्री, प्रभु, अल्टिच्युड, माउन्टेन, फिस्टेललगायत कम्पनीका हेलिकोप्टर सञ्चालनमा छन्।