फलामको पाइपले लागेर एक जनाको मृत्यु
भक्तपुर : भक्तपुरमा पाइपले लागेर एकजनाको मृत्यु भएको छ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका-८ जगाती पुल नजिक रहेको समानान्तर कंक्रिट उद्योगमा काम गर्ने क्रममा अन्दाजी तीन मिटर लामो कंक्रिट पेल्ने फलामको पाइप बिग्रिई मर्मत गर्ने क्रममा अचानक खस्दा मृत्यु भएको हो। घटनामा परी अर्का एकजना घाइते भएका छन्।
मृत्यु हुनेमा बर्दियाको बारबर्दिया नगरपालिका-७ घर भई हाल सोही उद्योगमा काम गर्ने २४ वर्षीय विवेक चौधरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
नागरिक अस्पताल भक्तपुरमा उपचारका क्रममा उनको मृत्यु भएको परिसरका सूचना अधिकृत जु पाण्डेले जनाए।
घाइते अर्का पनि बर्दियाको बारबर्दिया नगरपालिका-७ घर भई हाल सोही उद्योगमा काम गर्ने १९ वर्षीय प्रमोद चौधरी रहेको जनाइएको छ।
हाल उनको अवस्था सामान्य रहेको जनाइएको छ। प्रहरी वृत्त जगातीका अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले घटना बारे थप अनुसन्धान गरिरहेका छन्।