निर्मल स्पोर्टिङ आर्चरी च्याम्पियन बन्यो
मुस्ताङ : मुस्ताङको थासाङ-५ ताक्लुङमा बुधबारदेखि जारी ५०औं थाक खेलकुद च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न आर्चरी (तारो हान्ने खेल)मा निर्मल स्पोर्टिङ युवाक्लव च्याम्पियन बनेको छ।
सहभागी आठ टिममध्ये निर्मल स्पोर्टिङले ७ डोरमा ६१ अंक जोड्दै च्याम्पियन बनेको हो।
निलगिरी युवा क्लव टुकुचेले निर्धारित १५ डोरमा ५८ जोड्दै आर्चरी उपविजेता बनेको हो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निर्मल स्पोर्टिङ (लेते)का सिजन शेरचन घोषित भएका छन्।
आर्चरी च्याम्पियनले नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र र ट्रफी पाउँने छन् भने उपविजेता टिमले नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन्।
आर्चरीका सर्वोत्कृष्ट खेलाडीले नगदसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउने आर्चरी खेल संयोजक मिलन ज्वाहारचनले जानकारी दिए।
समूह चरण पार गर्दै लेते,कोवाङ र ताक्लुङ सेमिफाइनलमा प्रवेश
प्रतियोगिताअन्तर्गत पुरुष भलिबलतर्फ समूह चरणको खेल अन्तिम चरणमा पुगेको छ। थाक च्याम्पियनमा सहभागी कुल आठ टिममध्ये निर्मल स्पोर्टिङ क्लव (लेते), धौलागिरी युवा क्लव (कोवाङ) र अन्नपूर्ण युवा क्लव (ताक्लुङ) सेमिफाइनलमा प्रेवश गरेका छन्।
समूह चरणको खेलअन्तर्गत ग्रुप ए पोलबाट लेतेले मिलिजुली युवा क्लव (मार्फा), निलगिरी युवा क्लव (टुकुचे) र सिक्स सोल्टिज युवा क्लव (घाँसा)लाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।
ग्रुप बी पोलबाट कोवाङले जनहित युवा क्लव (जोमसोम),जनकल्याण युवा क्लव (स्याङ) र धौलागिरी युवा क्लव ताक्लुङलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो।
सो पोलबाट ताक्लुङ उपविजेता बन्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ। ताक्लुङले जनहित क्लव जोमसोम र जनकल्याण युवा क्लव स्याङलाई पराजित गरेको थियो भने धौलागिरी युवा क्लव कोवाङसँग पराजित भएको थियो।
समूह चरणको अन्तिम खेल समय अभावले पूरा नहुँदा शुक्रबार बिहान सञ्चालन हुने छ। समूह चरणको सोही अन्तिम खेलबाट मार्फा र घाँसाबीच सेमिफाइनल प्रवेश गर्ने टुंगो लाग्नेछ।
महिला भलिबल खेल पनि भोलि नै हुने थाक खेलकुद तथा सांस्कृतिक विकास संघका सचिव दीपक लालचनले जानकारी दिए।