७ वर्षपछि बन्यो पुल
जोमसोम : मुस्ताङ र डोल्पा जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन एक्लेभट्टी–पाक्लिङ मोटरेबल पुल ७ वर्षपछि सम्पन्न भएको छ। साविक जिल्ला विकास समितिले ठेक्का लगाएको थियो। राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकसँगै जोडिएको मुस्ताङ–डोल्पा जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन उक्त पुल २०७२ असार ३१ गते एलाइट संकरमाली जेभीले १२ करोड १३ लाख ८५ हजार लागतमा ठेक्का सम्झौता गरी निर्माणको काम अघि बढाइएको थियो।
निर्माण सुरु गरिएको सो पुल बनाउन एलाइट संकलरमाली जेभीले ठेक्का सम्झौता गरे पनि विभिन्न कारणले पुल निर्माणमा ढिलाइ भएको थियो। पछिल्लो समय भने पूर्वाधार विकास कार्यालयले पुल बनाउने ठेक्का सम्झौता गरेको दोस्रो प्रतिनिधिबाट निर्माण कार्य अघि बढाएको थियो। पुलको लम्बाइ १२० मिटर छ भने चौडाइ ७ दशमलव २ मिटर छ। ४० मिटरको फेरोमा पुलको ३ वटा स्पान छन्। पुलको तलपट्टीको बिममा स्टील प्लेट गर्डर र माथिल्लो भागमा स्ल्याप ढलान गरिएको छ।
सो पुलको बिहीबार पूर्वाधार विकास कार्यालय मुस्ताङ र स्थानीयवासीको राहबरमा उद्घाटन गरिएको छ। पुलको निवर्तमान प्रदेश सांसद महेन्द्रबहादुर थकालीले रिबन काटेर पुलको उद्घाटन गरे। उनले पुल निर्माणले छिमेकी डोल्पासँगको सडक कनेक्टिभिटी जोडिएर यसले सीमावर्ती गाउँ सान्तासहित विभिन्न गाउँमा खाद्यान्न, निर्माण सामग्री र कृषि उपज सामाग्री बजारीकरण गर्न सहज हुने बताए।
वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिङझिन नाम्गेल गुरुङले ढिलै भए पनि पुल निर्माणले स्थानीयवासीमा आशाको सञ्चार पलाएको उल्लेख गरे।