काभ्रेमा भारत सरकारको सहयोगमा बन्न लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि पूजन
काभ्रे : भारत सरकारको सहयोगमा काभ्रेको पनौतीमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि पूजा शुक्रबार सम्पन्न भएको छ ।
पनौती नगरपालिका - ६ मा निर्माण भइरहेको प्रतिष्ठानको शुक्रबार गृहमन्त्री बालकृष्ण खाण र भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरुपमा भूमि पूजा गरेका हुन्।
जिल्लाको पनौती ६ मा निर्माण हुँदै गरिएको परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीले गरेका थिए।
भारत सरकारको एक हजार करोड अनुदानमा निर्माण हुने परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनामध्ये एक हो।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको बताइएको छ।
परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहेकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफलमा निर्माण हुनेछ।
स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरुको निर्माण गरिने।
दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जामैत्री र आधुनिक सेवा सुविधासहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गरिने दूतवासले जनाएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका भूमि पूजा गर्दै गृहमन्त्री खाणले परियोजना निर्माण र नेपाल सरकार र भारत सरकार बीच द्विपक्षीय सहकार्य तथा विकास साझेदारी विभिन्न कामहरु माध्ये यो एक भएको बताए ।
गृहमन्त्री खाडले भारत सरकारले गरिरहेको निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।
भारत र नेपालबीच बहुआयमिक तथा बहुपक्षीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीच रहेको निकटतालाई दर्शाउने र परियोजनाको कार्यान्वयनले नेपाल सरकारको प्रयासमा भारत सरकारको सदैव सहयोग रहने गृहमन्त्री खाणले बताए ।
भूमि पूजा कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त लिए ।
राजदूत श्रीवास्तवले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको अर्को महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको यस प्रतिष्ठित परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने बताए।