भक्तपुरमा पाइलैपिच्छे सार्वजनिक पाटी (तस्बिरसहित)
भक्तपुर : भक्तपुरको नागपोखरीमा दुईवटा सार्वजनिक पाटी छन्। त्यसको दुई पाइला पश्चिममा फेरि अर्को एउटा सार्वजनिक पाटी भेटिन्छ। त्यसको दुई तीन पाइलामा फेरि अर्को पाटी भेटिन्छ।
नामपोखरीदेखि महालक्ष्मी मन्दिरसम्मको झण्डै एकेक मिटर (दुई मिनेटको हिँडाइ) मा मात्र आठवटा सार्वजनिक पाटी छन्।
यो अवस्था यो ठाउँको मात्रै होइन भक्तपुरको जुनसुकै वडामा यस्तै दृश्य देखिन्छ। यहाँका एउटा वडामा पनि घटीमा एक दर्जनदेखि पाँच दर्जनको हाराहारीमा सार्वजनिक पाटी छन्।
यी सबै पाटीहरू जस्ताको तस्तै देखिन्छन्। भक्तपुर नगरपालिकाले ती सबै पाटीहरूलाई सुरक्षित र संरक्षित बनाइराखेको छ।
नगरपालिकाले वडावडामा रहेका सबै पाटीहरूलाई मर्मतसम्भार, जीर्णोद्धार गर्दै आएको छ। पछिल्लो समय मात्रै नगरको सिद्धपोखरीको उतर दिशामा रहेको पाटीको पुनर्निर्माण सम्पन्न गरी नगर प्रमुखबाट उद्घाटन गरियो।
विभिन्न कारणहरूले भत्केका बिग्रेका पाटीहरूका जीर्णोद्धार कार्य पनि प्रत्येक वर्ष चलिरहेको छ। यहाँ स-साना पाटीहरूदेखि लामालामा पाटीहरूसम्म छन्।
स-साना पाटीहरू जताततै भेटिन्छन् भने लामो पाटीहरू भक्तपुर दरबार स्क्वायरमा भेटिन्छन्। अर्को दरबार स्क्वायर सुनको ढोका (गोल्डेन गेट) उल्टो दिशा अनि नजिकै पुरानो भक्तपुर नगरपालिकाको कार्यालय अगाडि हाल पुरातत्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयको मुनि पनि लामो पाटी छ।
एउटा वडा भनेको सीमित घेरामा हुन्छ। यसरी नै भक्तपुरका वडाहरू पनि पाँच मिनेटको हिँडाइको दूरीका छन्। देशकै सबैभन्दा बढी जनघनत्व भएको भक्तपुर नगरका वडा पाँचदस मिनेटको हिँडाइमै घुम्न सकिन्छन्।
तर यति सानो ठाउँको एउटै वडामा पनि ५३ वटासम्म पाटीहरू रहेको तथ्यांक छ। भक्तपुरका १ देखि १० वडासम्ममा सबैभन्दा बढी पाटी भक्तपुर नगरपालिका वडा नं ९ मा ५३ वटा पाटीहरू छन्। यो वडाको वडा कार्यालय भक्तपुरको दतात्रयमा छ।
भक्तपुर नगरपालिकाका-९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व भक्तपुरको एउटा गौरख यी पाटीहरू पनि रहेको बताउँछन्। त्यसकारण यी पाटीहरूको नगरपालिकाले निरन्तर संरक्षण र सम्वर्द्धन गर्दै आइरहेको उनले बताए।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अहिलेसम्म बनाएका पाटीहरू अधिकांश उपभोक्ता समितिमार्फत नै बनाएको बताए।
प्रजापतिले पाटी मात्र नभई अहिलेसम्म भक्तपुर नगरपालिकाले सम्पदाहरू पुनर्निर्माण गरिहेको जानकारी दिए। अहिलेसम्म करिब एक सय २६ भन्दा बढी सम्पदाहरू पुनर्निर्माण भइसकेको उनले बताए।
संस्कृतविद् ओम धौभडेलले पाटी कहिलेदेखि बनाइएको भन्ने कुनै इतिहास भएको बताए। धौभडेले पाटी पौवा बनाउनुका मुख्यमुख्य कारणहरू आराम गर्न, भजन गर्न र घामपानीबाट बच्न भएको बताउँछन्।
भक्तपुरमा धेरै जात्राहरू हुने गर्दछन्। त्यसबेला सबैको घर बाटामा नै नहुने भएकाले गल्लीभित्र तथा अरू ठाउँबाट हेर्न आउने जात्रालुहरूले हेर्न ठाउँका रूपमा पाटीहरू बनाइएको उनले जानकारी गराए।
साथै उनले धेरैजसो पाटीहरू दोबाटो तथा चौबाटोमा रहेको बताए। उनले भने, यो दोबाटो र चौबाटोमा हुनुको कारण जहाँ धेरै मान्छेहरू आराम गर्न आउँछन्, जहाँ जात्राहरू हुने गर्दछ त्यही अनुकुलताअनुसार पाटीपौवा पुर्खाले बनाएको देखिन्छ।
पाटीपौवाहरू बातावरणको अनुकुलित गरी बनाइएको उनी बताउँछन्।
यी पाटीहरू सार्वजनिक प्रयोजनकै लागि प्रयोगमा छन्। तर केही पाटीहरू फुटपाथमा बस्नेहरूको आश्रमस्थल पनि बनेको छ।
भक्तपुरको कमलविनायकमा रहेको मानव कल्याण समाज सेवा घरका अध्यक्ष सुनिता चौलागाईले भक्तपुरमा अलपत्र असाहयहरूको सुत्न तथा बस्ने ठाउँ पाटी भएको बताइन्।
चौलागाईं भन्छिन्, मैले यो सेवा घरमा ल्याएको असाहयहरू भक्तपुरमा पाटीबाट नै उद्दार गरेर ल्याएको छु। उनले अरू ठाउँमा जस्तो भक्तपुरमा बाटोमा सुत्नुपर्ने अवस्था नभएको बताइन्।
भक्तपुरमा यही पाटी भएका कारण सडकमा अलपत्र असाहयहरूको घर टाउको छोप्ने ठाउँ भएको उनी बताउँछिन्।
सरसर्ती हेर्दा पाटीपौवा पनि दुई प्रकारका छन्। एउटा चाहिँ माथि छानो हुन्छ। अर्को भनेको तल पाटीमाथि चाहिँ अर्को एक तल्ला बनाएर बस्न मिल्ने बनाएको हुन्छ।
जस्तै उदाहरणका लागि दरबार स्क्वायरको लामो पाटी। अर्को दरबार स्क्वायर सुनढोका (गोल्डेन गेट) अगाडि रहेको पाटी जसमा भाडामा पाराडाइज रेष्टुरेन्ट सञ्चालन भइरहेको छ।
कुन वडामा कति वटा पाटी ?
भक्तपुरमा १० वटा वडाहरू रहेका छन्। तीमध्ये वडा नम्बर १ मा ३१, वडा नम्बर २ मा ३६, वडा नं ३ मा ४०, वडा नं. ४ मा ३६, ५ मा ३३, ६ मा पाटी ३०, ७ मा ४३, ८ मा १०, ९ मा ५३ र १० मा ५२ वटा पाटीहरू गरी जम्मा तीन सय ६४ रहेको भक्तपुर नगरपालिकाको तथ्यांक छ।