हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द
हेटौंडा : विगत केही वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले उत्पादन बन्द गरेको छ। उद्योग सञ्चालनका लागि पर्याप्त कोइलाको आपूर्ति नहुँदा केही दिनदेखि उद्योग बन्द गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको उद्योगका नायब महाप्रबन्धक एवं प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए।
बोलपत्र आह्वान गरी कोइला आपूर्तिकर्तालाई ६ हजार मेट्रिकटन कोइला उपलब्ध गराउन आग्रह गरिएको भए पनि हाल १ हजार १ सय ५० टनमात्रै कोइला आपूर्ति भएको उनले बताए।
‘उद्योगले पटक–पटक गरेर कोइला आपूर्ति गर्दै आएको छ। थोरै मगाएर उद्योग सञ्चालन गर्ने र सकिन लागेपछि पुनः बोलपत्र आह्वान गर्ने चलन छ। यसपटक कोइला आपूर्ति समयमा हुन सकेन। त्यसकारण उद्योग सञ्चालन गरी उत्पादनलाई निरन्तरता दिन कठिनाइ भएको हो’, प्रवक्ता कर्णले भने।
उद्योगका कर्मचारीहरूका अनुसार एक महिनादेखि उत्पादन बन्द रहेको छ। हाल उद्योगको भण्डारण कक्षमा १ हजार १ सय ५० मेट्रिकटन मात्रै कोइला उपलब्ध छ। महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको छ।