देवीजंगको भोपुर कचहरी
इतिहास
२०१७ सालमा राज्य अदालत र राज्य रजौटा खारेज हुनुअघि बझाङमा केन्द्र र स्थानीय गरी दुईवटा शासन प्रणालीबाट शासित थियो। केन्द्र मातहत स्थानीय राजालाई बझाङ राज्य सञ्चालनको पूर्ण अधिकार दिइएको थियो। १८४७ सालमा बझाङ राज्य नेपालमा विलय हुँदा राजा समुद्र सिंहले वार्षिक ५०१ रुपैयाँ तिर्ने गरी राज्य थामेका थिए। त्यसैले २०१७ साल अघिसम्म बझाङ राज्यको सर्वोच्च पदमा स्थानीय राजा थिए। राजालाई राजकाजमा राजकुमार, साहेबज्यू, चौतारिया, काजी, देवान, धर्माधिकारी, सरदार, हितहितान, रजबार, विन्त्यारु, नेव, देवान, छापदार, जिम्मुवाल–मुखियाले सघाउँथे। राजाका परामर्शदातामा चौतरियाको भूमिका हुन्थ्यो।
मुख्तियार र चौतरियामा राजाका भाइभैयार्द नियुक्त हुन्थे। बझाङ राज्यका मन्त्रीलाई ‘अमात्य’ र सल्लाहकारलाई ‘हितान’ भनिन्थ्यो। दरा–गर्खाहरूको रखबारी भारदारहरूलाई दिइन्थ्यो। काजी (मन्त्री) सरहको अर्को पद ‘देवान’ हुन्थ्यो। देवानमा राजपरिवार निकटका व्यक्ति नियुक्त हुन्थे। अधिकारी, कार्की, अडै, खड्गा, बुढा, बुढथापा, थापा (क्षेत्री), राना (क्षेत्री), महतारा, रोकाया, भण्डारी विभिन्न पदमा हुन्थे। राजाको सेरा फाँट हेर्नेलाई ‘अडै’ भनिन्थ्यो। ‘अधिकारी’ले दरागर्खाको प्रशासन चलाउँथे। कर–राजस्व ‘कार्की’ले असुल्थे। गाउँस्तरका पदाधिकारी ‘महतारा’ र ‘रोकाया’ हुन्थे। खड्का, राना, थापा, बुढा, बुढथापा सैन्यसेवामा हुन्थे। पछि यी पदहरू थरमा परिणत भएका थिए। दरा गर्खामा मालपोत असुली मुखिया र जिम्मुवालले गर्थे। सूचना आदानप्रदानमा ओखेडा (कटुवाल)लाई खटाइन्थ्यो। बिहे–व्रतबन्ध, दसैं–तिहारजस्ता उत्सवमा नगर्ची, औजी र भेरवालहरूले बढाइँ गर्थे।
बझाङ राज्यमा त्यतिबेला ‘छत्तिासी–बत्तिासी’ कर प्रचलनमा थिए। नदीघाट, तुइन, फटके तर्न ‘जगातो’ तिर्नुपथ्र्यो। नदीमा माछा मार्दा ‘दहत्तार–बहत्तार’ लाग्थ्यो। बझाङ राज्यको आफ्नै मुद्रा भने थिएन। मुग्लानतिरका ‘फर्कवादी’, ‘लसकरी’, ‘हाली–बरेली’, ‘दिल्ली महमदशाही’, पटना–लषनौ ‘नजीमावादी’ चाँदीका मुद्रा बझाङमा प्रचलित थिए।
राज्यको अर्थतन्त्र जनताबाट लिइने कर र दण्डकुण्डबाट असुलिने रैरकममा निर्भर थियो। सोही रकमबाट राज परिवारको भत्ता, खान्गीका साथै राज्यका कर्मचारीको तलब बेहोरिन्थ्यो। बझाङ राज्यमा त्यतिबेला ‘छत्तिसी–बत्तिसी’ कर प्रचलनमा थिए। नदीघाट, तुइन, फटके तर्न ‘जगातो’ तिर्नुपथ्र्यो। नदीमा माछा मार्दा ‘दहत्तर–बहत्तर’ लाग्थ्यो। गोडधुवाइ, पेटाली (अवैध गर्भ भ्रूण हत्या), हिल–साउली, कुडिया–कुरिया, बेठबेगारी, बैकर, सुतो, जारीकर, मुडाली, लेककी इजरी गाडकी बगडी, बाउलो, मल्लकर, दूदपला, वृत्तिक, तिली, पेतोली, चोरीकर, धुआनी आदि थप करहरू थिए। बझाङ राज्यको आफ्नै मुद्रा भने थिएन। मुग्लानतिरका ‘फर्कवादी’, ‘लसकरी’, ‘हाली–बरेली’, ‘दिल्ली महमदशाही’, पटना–लषनौ ‘नजीमावादी’ चाँदीका मुद्रा बझाङमा प्रचलित थिए।
न्याय प्रणाली
१५०३ सालमा राजा शक्ति सिंह बझाङको राजा भएपछि उनले विभिन्न अड्डा स्थापना गरेका थिए। त्यसरी स्थापित अड्डाहरूमा पोता अड्डा (तहबिल अड्डा), भारदारी अड्डा, धर्माधिकार अड्डा (न्याय अड्डा) जगेडा (भण्डारा अड्डा), कैदखाना (झ्यालखाना), (कारागार अड्डा), दरबार अड्डा (राजाको अड्डा), गुठी अड्डा, महल अड्डा, दौडाहा अड्डा, रजवार अड्डा, अमाल कचहरी (पञ्चसभा) र गाउँ कचहरी थिए। चैनपुरमा महल अड्डा रहेको ठाउँ अहिले पनि ‘महल’का नामले चिनिन्छ।राजा देवीजंगबहादुर सिंह र उनको भारदारी सभा। पृष्ठभूमिमा १९९८ सालअघिको भोपुर दरबार, बझाङ।
जयपृथ्वीको पालासम्म बझाङ राज्य अदालतमा केन्द्रको हस्तक्षेप थिएन। जयपृथ्वी त चन्द्रशमशेरका पालामा केन्द्रमा भारदारी अड्डा प्रमुख (हाल प्रधानन्यायाधीश) नै बनेका थिए। त्यसैले उनले बझाङ राज्यको न्याय प्रशासनमा समेत उल्लेख्य सुधार गरेका थिए। तर जयपृथ्वीपछि उनका भाइ देवीजंग राजा बनेपछि केन्द्रले बझाङ राज्य अदालतको अधिकार कटौती गरेको थियो।
बझाङी राजाहरू हिन्दू धर्मावलम्बी थिए। त्यसैले बझाङ राज्यको न्यायप्रणाली हिन्दू विधिशास्त्रबाट प्रभावित थियो। पुराण, महाभारत, नीतिशास्त्र, मनुस्मृति, विहृस्पतिस्मृति, शुक्रनीति, चाणक्य नीति, याज्ञवल्लक्य नीति आदि कानुनका स्रोत थिए। तिनै धार्मिक ग्रन्थ, स्मृति र नीतिका आधारमा राजाहरूले राज्य सञ्चालन र न्याय निरूपण गर्थे। न्याय निरूपणमा धर्माधिकारी, पुरोहित, जोइशी (जोशी) बाट परामर्श लिन्थे।
राज्य अदालत
राज्य रजौटा उन्मूलन र राज्य अदालत खारेजअघि बझाङमा आफ्नै न्यायिक–प्रशासनिक इकाइहरू थिए। एकीकरणपछि भने समग्र सुदूरपश्चिम हेर्न सिलगढीमा ‘डोटी गौडा’ खडा भयो। ‘डोटी गौडा’ले सम्पूर्ण सुदूरपश्चिमको प्रशासन र न्यायसेवा हेथ्र्यो। बझाङ राज्यलाई समेत डोटी गौडामातहत नै राखिएको थियो। बझाङ राज्यका साबिक अमाल कचहरी र गाउँ कचहरीलाई बझाङ राज्य अदालतमा परिणत गरिएको थियो। बझाङ राज्य अदालतका शाखा साबिक बझाङको कुन्ना र कोल्टी (हाल बाजुरा)मा समेत थिए।
एकीकरणलगत्तै बझाङी राजालाई नै राज्यअन्तर्गतको न्यायनिरूपणको अधिकार दिइएको थियो। तर, त्यतिबेला बझाङले ‘पञ्चखत’ (ज्यान मुद्दा, दामल हुने, जात पतीतमा जनै झिक्नुपर्ने, पुडिने–खोपिर्नेजस्ता गम्भीर प्रकृतिका फौजदारी अपराध) का मुद्दा हेर्ने अधिकार पाएको थिएन। बझाङ राज्य अदालतलाई देवानी मुद्दाहरूको छिनोफानो गर्ने अधिकारमात्रै दिइएको थियो। फौजदारी अपराधको मुद्दा ‘डोटी गौडा’ले हेथ्र्यो। साथै देवानी मुद्दामा बझाङ राज्य अदालतबाट निर्णय भएका मुद्दामाथिको पुनरावेदन डोटी गौडामै लाग्थ्यो। पछि, बझाङी राजा गजराज सिंहको विवाह राजा गीर्वाणयुद्ध विक्रमकी शाहज्यादी सरस्वतीकुमारीसँग भएपछि बझाङ राज्य अदालतले ‘पञ्चखत’का मुद्दा हेर्न अधिकार पाएको थियो। गजराज सिंहका नाति विक्रमबहादुर सिंहको विवाह प्रधानमन्त्री जंगबहादुरका छोरीहरू र विक्रमबहादुरका छोरा जयपृथ्वीको विवाह चन्द्रशमशेरकी छोरीसँग भएपछि बझाङ राज्य अदालतलाई ‘पञ्चखत’का मुद्दा हर्ने अधिकारलाई निरन्तरता दिइएको थियो।
भोपुर कचहरी
बझाङ राज्य अदालत विभिन्न समयमा राज्यका विभिन्न स्थानमा सर्दै बसेको थियो। सुरुमा बझाङ राज्यका पोता, अदालत, झ्यालखानालगायतका सबै कार्यालय बझाङकोट नजिकको तामाखानीस्थित पुरानो राजधानीमै थिए। पछि जयपृथ्वीबहादुर सिंहले ती सबै अड्डा अदालतहरू तामाखानीबाट चार किलोमिटर उत्तर–पूर्वमा अवस्थित मेल्लेकमा सारे। मेल्लेकमा जयपृथ्वीनगर नामक बस्ती बसाले। जयपृथ्वीपछि राजा बनेका उनका भाइ देवीजंगबहादुर सिंहले भने मेल्लेकमा रहेका राज्यका अड्डा अदालतहरू चैनपुरनजिकको भोपुरमा सारे। अड्डाअदालत सञ्चालानार्थ भोपुरमा भव्य दरबार निर्माण गरे। निजी निवासका लागि चैनपुरमा अर्को दरबार बनाए।
देवीजंगले चैनपुर दरबार निर्माणका लागि बझाङका सबै दरा–गर्खाबाट मास उठाइएका थिए। चैनपुर दरबार निर्माणमा मास, सुर्कीको गारो र तराईको सालको काठ प्रयोग गरिएको थियो। हात्तीसार र भोपुर दरबारको डियायनका लागि बंगाली इन्जिनियर र निर्माणका लागि काठमाडौंबाट कालिगडहरू लगिएको थियो। खप्तडबाट अभ्रख उत्खनन गरी हात्तीसार दरबारको भित्री कोठाहरू सजाइएको थियो। तराईबाट हात्तीको छावा लगेर चैनपुर दरबारमा पालेका कारण उक्त दरबारको नाम ‘हात्तीसार दरबार’ रहन गएको हो।
देवीजंगको भोपुर दरबारमा भव्य थियो। तत्कालीन बझाङ राज्य भारदारी सभा र कचहरीका तस्बिरहरूमा देवीजंगबहादुर सिंह कतिसम्म विलासी जीवनशैलीमा बाँचेका थिए भन्ने अनुमान गर्न सकिन्छ। बझाङजस्तो विकट राज्यमा देवीजंगले त्यतिबेलै आधुनिक सोफासेट, काउच, गलैंचा, कुर्सी टेबुलको बन्दोबस्त गरेका थिए। अड्डा अदालतको काम सकेर देवीजंगका अघि–पछि चाँदतोडा पहिरिएका भारदार, कर्मचारी, हतियारधारी निजी सुरक्षाकर्मी, हुक्के, छाते, ढोके, बैठकेको लावालस्करसहित भोपुरबाट चैनपुर फर्कन्थ्यो। उनको शानसौकत र अपनाएको जीवनशैली राजधानीका शाह–राणाजीहरूको भन्दा कम थिएन। १९९८ सालमा निधन भएका देवीजंगले त्यसअघि नै बझाङमा अत्याधुनिक क्यामेरा भित्र्याएका थिए।
बझाङको राजा बनेपछि स्वतः उनको काँधमा राज्य अदालत प्रमुखको जिम्मेवारी आइलागेको थियो। बझाङ राज्य अदालत उनको लिगेसी (विरासत÷बपौती) थियो। त्यसैले राज्य अदालतमा पुग्ने मुद्दा मामिलाको छिनोफानो उनकै मातहत हुन्थ्यो। त्यसमा उनलाई डिठ्ठा, बिचारीहरूले सघाउँथे। बझाङ राज्य अदालतमा डिठ्ठा बिचारीको पद सिर्जना हुनुअघि उक्त भूमिकामा धर्माधिकारीहरू हुन्थे। देवीजंगका पालामा बझाङ राज्य अदालतका डिठ्ठा स्थानीय छान्न, नेटाकाटियाका कृष्णदत्त जोशी थिए। राज्य अदालतका विचारी स्थानीय जुजी चौधारीका चक्रप्रसाद सोती थिए। देवीजंगकै पालामा कृष्णदत्त जोशीका छोरा रामप्रसाद खत्रीलाई देवीजंगले बिचारी नियुक्त गरेका थिए।
प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा मुलुकी ऐन जारी गर्नुअघि बझाङ राज्य अदालतबाट वेद, पुराण, महाभारत, नीतिशास्त्र, मनुस्मृति, विहृस्पतिस्मृति, शुक्रनीति, चाणक्यनीति, याज्ञवल्लक्य नीतिजस्ता ग्रन्थहरूका आधारमा न्यायनिरूपण हुन्थ्यो। १९१० सालको मुलुकी ऐनपछि सोही ऐनका आधारमा न्यायनिरूपण हुन्थ्यो। भारतबाट कानुनी शिक्षा हासिल गरेका जयपृथ्वीबहादुर सिंहले ससुरा प्रधानमन्त्री चन्द्रशमशेरलाई मनाएर श्रेस्ता पाठशाला खोल्न लगाएका थिए। जयपृथ्वीले १९६२ सालमा ‘श्रेस्ता दर्पण’ नामक पुस्तक लेखी कानुनी शिक्षाको विस्तार गरेका थिए। जयपृथ्वीको श्रेस्ता दर्पण पुस्तक नै बझाङजस्ता राज्यका राजा रजौटाहरूको कानुनी शिक्षाको आधार थियो।
बझाङ राज्य भारदारी सभा र कचहरीका तस्बिरहरूमा देवीजंगबहादुर सिंह कतिसम्म विलासी जीवनशैलीमा बाँचेका थिए भन्ने अनुमान गर्न सकिन्छ। बझाङजस्तो विकट राज्यमा देवीजंगले त्यतिबेलै आधुनिक सोफासेट, काउच, गलैंचा, कुर्सी टेबुलको बन्दोबस्त गरेका थिए।
जयपृथ्वीको पालासम्म बझाङ राज्य अदालतमा केन्द्रको हस्तक्षेप थिएन। जयपृथ्वी त चन्द्रशमशेरका पालामा केन्द्रमा भारदारी अड्डा प्रमुख (हाल प्रधानन्यायाधीश) नै बनेका थिए। त्यसैले उनले बझाङ राज्यको न्याय प्रशासनमा समेत उल्लेख्य सुधार गरेका थिए। तर जयपृथ्वीपछि उनका भाइ देवीजंग राजा बनेपछि केन्द्रले बझाङ राज्य अदालतको अधिकार कटौती गरेको थियो। देवीजंगको विलासी जीवनशैली, दण्डकुण्डमा उनले गरेको अचाक्लीपन र उनको न्यायिक निष्पक्षतामाथि केन्द्रमा उजुरी परेसँगै बझाङ राज्य अदालतको क्षेत्राधिकार साँघुरिएको थियो। तथापि पञ्चखतका मुद्दा हेर्न पाउन बझाङ राज्य अदालतको अधिकार भने कायमै थियो। देवीजंगको पालाअघि बझाङ राज्य अदालतमा केन्द्रको उपस्थिति थिएन।
राजाले गर्ने मुद्दामामिलाको फैसलाउपर डिठ्ठा, बिचारीहरूले राय बझाउन पाउँदैनथे। उजुरी परेसँगै बझाङ राज्य अदालतमा केन्द्रले सरकारी डिठ्ठा रहने व्यवस्था ग¥यो। देवीजंगका छोरा रामजंगबहादुर सिंह राजा भएपछि भने बझाङ राज्य अदालतको पञ्चखतका मुद्दा हेर्ने अधिकार कटौती भएकोे थियो। राजा रामजंगले बझाङ राज्य अदालतलाई पञ्चखत मुद्दा हेर्ने अधिकार कायम गरिपाउँ भनी श्री ३ महाराजसमक्ष बिन्तिपत्र हालेपछि २००७ सालमा पुनः उक्त अधिकार पाएका थिए।
रामजंगले पञ्चखत मुद्दा हेर्न पाउँ भनी श्री ३ महाराजमा चढाएको बिन्ती पत्रमाथिको जवाफ यस प्रकार थियो : अपिल श्रेस्ता फाँटका हाकिम कारिन्दाले पूर्जिहेरी अघि बुबाका पाला ८७ सालमा भयाका थितिका खड्गनिशाना बमोजिम पञ्चखत समेत हेर्न पाउने गरिपाऊँ भनी बिन्तिपत्र चढाई बझाङ राज्यको सनद लालमोहरले राज्यको मुद्दा पर्न आयामा रैकर अदालतमा जानुपर्ने भयको र सल्यानाराजाले पञ्चखत हेर्न नपाया पनि जाजरकोटे राजाले पञ्चखत मुद्दा हेर्न पाउने भयको हुँदा निगाहबाट पञ्चखत मुद्दा पनि हेर्न पाउँ भनी निजराजा रामजंगबहादुर सिंहले हाम्रा हजुरमा बिन्ति चढायको र बुझ्न लगाइबक्सेमा जाजरकोटे राजा पञ्चखत मुद्दा समेत हेर्न पाउने भयको छ भनी मुलकी अड्डा अै सवाल फाँटले जवाफ पठायाको १९३२सालमा राजा जयपृथ्वीबहादुर सिंह संवत् नमिलेको र १९७३ सालमा राजा विक्रमबहादुर सिंहका नाउँमा भयाका लालमोहरबाट सो राज्यको जग्गाको पञ्चखत बाहेक अैले हेर्न झगडामात्र हेर्न पाउने भयाको व्यहोरा समेत जानकारी भयो।
को थिए देवीजंग ?
बझाङी राजा जयपृथ्वीबहादुर सिंहका सौतनी आमापट्टिका भाइ थिए, देवीजंगबहादुर सिंह। उनका बुवा र विक्रमबहादुर सिंहका चार रानीबाट चौध छोरा थिए। प्रधानमन्त्री जंगबहादुरका जेठी रानी रुद्रकुमारीबाट जयपृथ्वीबहादुर सिंह, वीरजंगबहादुर सिंह र प्रभुजंगबहादुर सिंह तथा कान्छी छोरी मेघकुमारीबाट ललितजंगबहादुर सिंह र देवीजंगबहादुर सिंह थिए। साहिली त्रैलोक्यकुमारी अमरबहादुर सिंह, बबरबहादुर सिंह, नवराजबहादुर सिंह र धु्रवबहादुर सिंह थिए। कान्छी पार्वतीदेवीबाट मीनबहादुर सिंह, वीरभञ्जन सिंह, महेन्द्रबहादुर सिंह र डम्बरबहादुर सिंह थिए।
राणाहरूसँगको खटपटका कारण बुवा विक्रमबहादुर जीवित छँदै छोरा जयपृथ्वी बझाङको राजा बनेका थिए। निःसन्तान जयपृथ्वीले राजकाज त्यागेर भारत गएपछि उनले भाइ देवीजंगलाई राजकाज सुम्पेका थिए। नुवाकोटको तारुकामा बसाइँ सरेका ललितजंग माहिला भए पनि उनको निधन भएका कारण राजकाज साहिला भाइ देवीजंगले पाएका थिए। नेपाली सेनाका कर्णेलसमेत रहेका देवीजंगको विवाह कमान्डर इनचिफ खड्गशमशेरकी छोरी गंगादिव्येश्वरीसँग पाल्पाबाट भएको थियो। देवीजंगले पाल्पाली चौतरिया कोटीजंग शाहकी छोरीसँग दोस्रो र थानकोट–काठमाडौंकी रत्नकुमारीसँग तेस्रो विवाह गरेका थिए। देवीजंगकी जेठी रानी गंगादिव्येश्वरीबाट राजा रामजंग, कृष्णजंग, धर्मजंग, केशरजंग, सर्वेश्वरजंग (पूर्वरथी तोरणजंगबहादुर सिंहका बुवा), ईश्वरीजंगबहादुर सिंह (सर्वोच्च अदालतका अतिरिक्त न्यायाधीश पछि बझाङका राजा), लक्ष्मणजंग (पूर्वी पाकिस्तानका कन्सुलर) सात छोरा थिए।
माहिलीबाट चन्द्रजंगबहादुर सिंह (बझाङका पहिलो राष्ट्रिय पञ्चायत सदस्य) कान्छी रत्नकुमारीबाट गगनजंगबहादुर सिंह (पञ्चायतकालीन वन राज्यमन्त्री) थिए। देवीजंगको निधनपछि उनका जेठा छोरा रामजंगबहादुर सिंह बझाङका राजा बनेका थिए। देवीजंग केही वर्ष ससुरा खड्गशमशेरसँगै भारतको मध्यप्रदेशको सागरमा सपरिवार बसेका थिए। उनका छोरा लक्ष्मणजंग सागरमै जन्मेका थिए। सागरमा देवीजंगले सम्पत्ति पनि जोडेका थिए। देवीजंगले डँडेलधुरा, जोगबुढा–मलासमा समेत भव्य शीतकालीन दरबार बनाएका थिए।
रामजंग राजा बनेपछि उनले बझाङ राज्य अदालत, माल अड्डा, झ्यालखानालगायतका सबै कार्यालयहरू पुरानो बझाङकोटमै सारेका थिए। २०१७ सालमा प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारले बझाङ, दर्ना, दुल्लु गुल्मी, जाजरकोट, फलवाङ, सल्यान, गलकोट, ढुडुवा पहाड राज्य अदालतहरू र गह्रौंकोट कचहरीलाई खारेज गरेको थियो। ती राज्य अदालतको सट्टामा इलाका अदालतहरू गठन गरेको थियो। २०१७ जेठमा इलाका अदालत बझाङ स्थापनाका लागि तामाखानी–बझाङकोट पुगेका न्यायाधीश उत्तरकुमार पोखरेललाई रामजंगका छोरा राजकुमार ओमजंगले कागजात नबुझाई विद्रोह गरेका थिए।
२०१७ पुस १ गते राजा महेन्द्रले बीपी कोइराला सरकार अपदस्थ गरी सत्ता लिएको चार महिनाभित्र देशभर रहेका राज्य रजौटा खारेज गरे। राज्य रजौटा खारेज हुनुअघि राजा रामजंग योगी नरहरिनाथ संलग्न ‘कर्मवीर महामण्डल’को सक्रिय सदस्य थिए। केलटोल, तिलंगा भवनबाट प्रकाशित हुने महामण्डलको मुखपत्र ‘कर्मवीर’को रामजंग सम्पादन थिए। तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले ‘बझाङ काण्ड’ र ‘गोरखा काण्ड’का पछाडि राजा महेन्द्र, योगी नरहरिनाथ र राजा रामजंगबहादुर सिंहको रात रहेको बताउँदै आएका थिए। बीपी कोइराला सरकारले रामजंगको बझाङ राज्य अदालत मात्रै खारेज गरेको थियो। तर, महेन्द्रले रामजंगको राज्य नै खारेज गरिदिए।
त्यसपछि रामजंगको राजा महेन्द्रसँग दूरी बढ्यो। त्यसपछि महेन्द्रसँग ईबी साँध्न रामजंग छोरा ओमजंगसहित सुवर्णशमशेरको हातबाट सदस्यता लिएर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। परिस्थिति यस्तो आइलाग्यो कि हिजोका रामजंगका मित्र राजा महेन्द्र उनका मित्र रहेनन्। शत्रु बने। हिजो रामजंगका शत्रु रहेका बीपी उनका मित्र। त्यसपछि कांग्रेसले भारतबाट सञ्चालित सशस्त्र विद्रोहमा सहभागी भई रामजंग–ओमजंगले बझाङ कब्जाको योजना बनाए।
२०१९ भदौमा पिथौरागढको पिपलीनजिक महाकाली तरेर ओमजंग दार्चुलाको हुँदै बझाङ कब्जाका लागि अघि बढे। कांग्रेसका गुरिल्लाहरूको नेतृत्व गर्दै अघि बढेका ओमजंगको २०१९ असोज दोस्रो साता शाही सेनाको कारबाहीमा निधन भयो। त्यसपछि राजा महेन्द्रले रामजंगको राजपदवी खोसेर उनका ठूलोकान्छा भाइ ईश्वरीजंगबहादुर सिंहलाई बझाङको राजा घोषणा गरेका थिए। राजा महेन्द्रका छोरी ज्वाइँ दीपकजंगबहादुर सिंह ईश्वरीजंगका छोरा हुन्।