फेडरर युगको अन्त्य
लन्डन : स्विट्जरल्यान्डका टेनिस स्टार रोजर फेडरर व्यवसायिक खेल जीवनबाट अलग भएका छन्। स्पेनका राफेल नाडालसँग जोडी भएर लेभर कपमा प्रतिस्पर्धा गरेका फेडररले शनिबार व्यवसायिक खेल जीवनबाट अलग भएका हुन्। ४१ वर्षीय फेडरर अन्तिम खेल सकेर कोर्ट बाहिर निस्कँदा उनका समर्थकले लामो समयसम्म ताली बजाएर सम्मान दिएका थिए।
२० पटकका ग्रान्डस्लाम विजेता फेडरर विश्व टेनिसका उत्कृष्ट खेलाडी मानिन्छन्। ‘मेरा लागि आजको दिन विशेष रह्यो। यो विशेष दिनमा म दुखी छैन, खुसी नै छु। मैले यो विशेष दिन पार गरेको छु’, खेलपछि फेडररले भने। त्यसपछि निकै भावुक बनेका उनले आफ्नो बिदाइमा सहभागी राफेल नाडाललाई अंगालो हालेका थिए। त्यसपछि नाडालले पनि आँसु रोक्न सकेनन्, गहभरि आँसु पार्दै फेडररसँगै बसिरहे। उनीहरूले सँगै बसेर बेलायती गायिका ऐलि गोल्डिङको प्रस्तुति हेरेका थिए। फेडरर र नाडाल टेनिस कार्टमा एकअर्काबीच मुख्य प्रतिस्पर्धी रहँदै आए पनि उनीहरूको मित्रता भने गज्जबको छ। पूर्व विश्व नम्बर एक फेडररले २५ वर्षको व्यवसायिक करियरमा एक हजार ७५० खेल खेलेका हुन्। यस खेलसँगै उनले व्यवसायिक खेल जीवन टुङ्ग्याएका हुन्।
लन्डनको ओटु एरिनामा फेडरर र नाडालको जोडीले ४–६ ७–६ (७–२) ११–९ ले पराजय बेहोरेका थिए। फेडरर एक वर्षभन्दा बढी समयदेखि कोर्टमा नउत्रिँदा पनि उनीहरूले विपक्षीलाई कडा टक्कर दिएका थिए। फेडरर र नाडालको जोडीलाई ‘फेडल’ उपनामले चिनिन्छ। ‘यो यात्रा महत्वपूर्ण थियो र सही पनि। म फेरि पनि यही यात्रा गर्नेछु’, फेडेररले आफ्नो मन्तब्यका क्रममा भावुक हुँदै भने। उनले आफूले चाहेको सन्न्यासको उत्सव मनाउन पाएको बताए।
विगत दुई वर्षदेखि घुँडाको चोटसँग लडिरहेका फेडररले तीन पटक शल्यक्रिया गरेका थिए। पटक पटक चोट बल्झिएपछि उनी कोर्टबाट टाढै बसे। गत वर्ष विम्बल्डनको क्वार्टरफाइनलमा पोल्यान्डका ह्युबर्ट हुर्काजसँग पराजित भएपछि उनले प्रतिस्पर्धात्मक खेल खेलेका थिएनन्। उनले लन्डनमा हुने लेभर कपबाट व्यवसायिक खेल जीवन अन्त्य गर्ने घोषणा गरेका थिए।
फेडररको सन्न्याससँगै विश्व टेनिसमा एक युगको पनि अन्त्य भएको छ। पाँच सिजन लगातार शीर्ष वरीयतामा रहेका फेडररले राफेल नाडाल र नोभाक जोकोभिचसँग पुरुष टेनिसको स्वर्णिम युग निर्माण गरेका थिए। उनको सर्भिस, फोरह्यान्ड, फुटवर्क र आक्रमण गर्ने शैलीको सबैले प्रसंशा गर्दै आएका छन्। उनका प्रतिद्वन्द्वी ३६ वर्षीय नाडाल र ३५ वर्षीय जोकोभिचसँगको खेलहरू पनि अविस्मरणीय मानिन्छ। नाडाल २२ ग्रान्डस्लामसहित शीर्ष स्थानमा रहँदा जोकोभिचले २१ ग्रान्डस्लाम उपाधि जितेका छन्।
सन् १९९८ मा १६ वर्षको उमेरमा व्यवसायिक टेनिसमा डेब्यु गरेका फेडररले सन् २००३ मा पहिलो ग्रान्डस्लामका रुपमा विम्बल्डन टेनिसको उपाधि जितेका थिए। फेडररले आठ विम्बल्डन, ६ अस्ट्रेलियन ओपन, पाँच यूएस ओपन र एउटा फ्रेन्च ओपन जितेका छन्। उनले तीन सय १० हप्तासम्म शीर्ष स्थानमा रहँदै कीर्तिमान बनाएका थिए। पूर्व विश्व नम्बर एक फेडररले २५ वर्षको व्यवसायिक करियरमा एक हजार ७५० खेल खेलेका हुन्।