आर्थिक समृद्धिको एजेण्डा सबै दलले अघि सारौं : कमल थापा
हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन अब सबै राजनीतिक दलहरुले साझा एजेण्डा तय गर्नुपर्ने बताएका छन् ।
मकवानपुरगढीमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुक आर्थिक रुपमा समृद्ध हुन नसक्दा पटक–पटक फेरिएको व्यवस्था आम नेपाली जनताका लागि निरर्थक सावित भएको बताए ।
उनले अब सबै दलले आर्थिक समृद्धिको साझा एजेण्डा बनाएर आगामी निर्वाचनमा जानुपर्ने सुझाव दिए । उनले भने,' मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन सबै राजीतिक दलहरुले एजेण्डा तय गरौं।'
विभिन्न वाद, सिद्धान्त र क्रान्तिको चर्को नाराले मात्रै जनताको जीवनस्तरमा सुधार नआउने भन्दै थापाले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै गम्भीर र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
भ्रस्टाचार ,कुशासन र बेरोजगारीको दलदलमा मुलुक भाँसिएको भन्दै उनले यो डरलाग्दो चक्र तोड्नका निम्ति दुरदर्शी नीति र योजना आवश्यक भएको बताए ।
सत्ता र स्वार्थ केन्द्रित नेता र पार्टीले मुलुकलाई निकास दिन नसक्ने भन्दै थापाले राष्ट्रवादी सोच र चिन्तन लिन सबैलाई आग्रह गरे ।