एकीकृत खानेपानी तथा ढल व्यवस्थापनको तयारीमा हेटौंडा
हेटौंडा : हेटौंडा उपमहानगरपालिका एकीकृत खानेपानी तथा व्यवस्थित ढल निर्माणका लागि योजना बनाउने तयारीमा जुटेको छ।
एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकार खानेपानी विकास मन्त्रालयमार्फत् उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत् हेटौंडामा व्यवस्थित खानेपानी वितरण र ढल व्यवस्थापनको तयारी गरेको हो।
सहरी क्षेत्रमा विस्तारै बढ्दै गएको ढलजन्य लेदो तथा अन्य फोहर व्यवस्थापन गर्न सकिने काम र व्यवस्थापनका विषयमा छलफल भएको हो।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाले गर्दै आएको जमिन बाढ्ने कामलाई रोक्दै एकीकृत एवम् व्यवस्थित सहरको निमार्ण र विकासमा अघि बढ्ने बताइन्।
उनले सरकारी क्षेत्रबाट हुने गुरुयोजना र आवधिक योजनाको काम कहिले सकिन्छ भन्ने टुंगो नभएका कारण कार्यान्वयनमा जान समस्या हुने बताइन्।
व्यवस्थित ढल र खानेपानीको व्यवस्थापनमा आएको परामर्शदाता सहितको टोलीले नयाँ विकास हुँदै गरेका वडाहरूमा प्रदेश सरकारले निर्माण गर्ने भवन र पूर्वाधारलाई सहयोग पुग्ने गरी काम गर्न सुझाव दिए।
छलफलमा सहभागीहरूले एकीकृत खानेपानी तथा व्यवस्थित ढल निर्माणका सन्दर्भमा सुझाव दिएका थिए।