भक्तपुरमा नौ राते मेला सुरु
भक्तपुर : दसैको सुरुवातसँगै भक्तपुरमा नौ रात मेला सोमबारदेखि सुरु भएको छ। प्रत्येक वर्ष दसैंको घटस्थापनासँगै सुरु हुने नौ राते मेला यहाँका विभिन्न नौ शक्तिपीठहरुमा लाग्ने गर्दछ ।
रातको समयमा मेला लाग्ने भएकाले स्थानीयहरु यसलाई नवरात अर्थात् नौ राते मेला भनेर बुझ्छन् । तथापि बिहान पनि मेला नलाग्ने होइन । तर बिहानको तुलनामा साँझको समयमा मेला भर्न सयौं बाजागाजाका साथ टोलटोलबाट हजारौं भक्तालुहरु सहभागी हुने गर्दछन् । त्यसकारण यसलाई नवरात भनेर धेरै बुझ्ने गर्दछन् ।
नवरातको नौ दिन नौ छुटाछुटै शक्तिपीठहरुमा बिहान र साँझ दिनमा दुई पटक मेला लाग्ने गर्दछ । यस अनुसार पहिलो दिन भक्तपुरको ब्रम्हायणीमा मेला लाग्छ । अन्तिम दिन पनि यही ठाउँमा मेला लाग्ने गर्दछ ।
अन्तिम दिन ब्रम्हायणीमा सबैभन्दा ठूलो मेला लाग्ने गर्छ । यस दिन यस ठाउँमा दिनभर मेला लाग्ने गर्दछ । यस दिन यो ठाउँमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतका नजिकका जिल्लाहरुबाट दसौं हजार जात्रालु ब्रम्यहाणी जाने गर्दछन् ।
दसैंको यी दिनहरुमा बिहान र बेलुका भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरमा पनि दैनिक विशेष मेला लाग्ने परम्परा छ । यी मेलाहरुमा नगरभरिका दसौं भक्तजनहरु बजागाजाकासाथ उल्लासमय रुपमा सहभागी हुने गर्दछन् ।
नवरातको क्रममा बालकालिकादेखि वृद्धवृद्धासम्म सहभागी हुने गर्दछन् । तर पनि युवा उमेरका युवायुवती बढी रमाउने गर्दछन् । यो बेला तन्नेरी उमेरका युवायुवती एक आपसमा जिस्किएर रमाउने परम्परा अझै छ । यसबाहेक भक्तपुरको दसैंका विभिन्न विशेष आकर्षणहरु रहेका छन् ।
खम्ये जात्रा (रांगो दौडाउने जात्रा) , कुछी भ्वय (दुई माना चिउरा नापेर खानुपर्ने विशेष भोज), पायोन्हायाकेगू (भागी विवाह) लगायतका विशेष आकर्षणहरु यहाँको दसैंका आकर्षणहरु हुन् । यीबाहेक पनि दसैंको दस दिन भक्तपुर नगरका ठाउँठाउँमा विभिन्न मेला जात्रा हुने गर्दछन् ।
इतिहासविद् डा .वीरेन्द्रप्रसाद कायस्थका अनुसार मुल दसैं देशभरि मनाउने गरे पनि भक्तपुरको दसै विशेष आकर्षण रहने सुनाउँछन् । उनका अनुसार दसैको दस दिनमा भक्तपुरमा विशेष भोज, जात्रा, मेला लाग्ने गर्दछन् । प्रत्येक दिन एकएक शक्तिपीठमा जात्रा हुने गर्दछ ।
उनका अनुसार विजयादशमीको दिन तलेजुमा खड्गको पूजा हुन्छ । यसलाई नेवारीमा पायोन्हायाकेगू भन्ने चलन छ । यो दिन प्रेम सम्बन्धमा बसेका जोडीहरुले भागेर विवाह गर्ने गरिन्छ । यसरी यो दिनको विवाहलाई कानुनी मान्यता दिइन्छ । यस दिन भागी विवाह बाहेक मागी विवाह, ब्रतबन्ध आदि शुभ कार्यहरु गर्ने चलन छ । यो दिनलाई शुभ साइतको रुपमा लिने गरिन्छ । यस दिन साइत नजुडेका जोडीहरुको विवाह गरिदिने चलन छ ।