टिकटका लागि गठबन्धनभित्र खैलाबैला

टिकटका लागि गठबन्धनभित्र खैलाबैला

बझाङ : नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री अर्जुनजङ्गबहादुर सिंहले बझाङमा केन्द्रीय सर्कुलरअनुसार नै गठबन्धन हुने तर गठबन्धनले पराजय भोगेमा त्यसको जिम्मा आफू नलिने बताएपछि गठबन्धनमा हलचल मच्चिएको छ। 

शनिबार सामाजिक सञ्जालमा एक विज्ञप्ति प्रकाशित गर्दै उनले आफू केन्द्रीय सर्कुलर मान्न तयार भएकाले गठबन्धनलाई आफ्नो पूर्ण समर्थन रहने तर गठबन्धनका उम्मेदवारले पराजय भोगेमा यसमा जिम्मेवार नरहने बताएपछि बझाङका गठबन्धित दलभित्र हलचल मच्चिएको हो। 

आसन्न चुनावमा बझाङलाई प्रतिनिधिसभाको प्रत्यक्ष सिटका लागि कांग्रेसले आफ्नो भागमा पार्ने धेरै कोशिस गरे पनि असफल भएपछि नेता सिंहको यस्तो विज्ञप्ति सार्वजनिक भएको हो। 

नेता सिंहको यो विज्ञप्तिले सबैभन्दा बढी नेकपा एकीकृत समाजवादी झस्किएको छ भने कांग्रेसभित्रैबाट स्वतन्त्र उम्मेदवार उठ्न सक्ने पनि आशंका गरिन थालिएको छ।

कांग्रेसभित्रै पनि बझाङका केन्द्रीयस्तरसम्म पहुँच भएको मानिएका नेता अर्जुनजंगबहादुर सिंह, सत्यराज भण्डारी, पृथ्वीबहादुर सिंह, नरेशबहादुर सिंह आदिले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको टिकट ल्याउन नसकेको भन्दै आलोचना हुन थालेको छ। 

यसले गर्दा कांग्रेसका नेता कार्यकर्तामा निरासा मात्रै होइन कतिपयको राजनीति नै धरापमा परेको भन्दै टिकाटिप्पणी भइरहेको छ। 

गुटगत राजनीतिले आक्रन्त कांग्रेसमा आसन्न चुनावमा कतिपय तटस्थ बस्ने बताइरहेका छन् भने कतिपय विपक्षी नेकपा एमालेलाई सहयोग गर्ने खुलेयाम बताइरहेका छन्। 

गठबन्धनका कारण स्थानीय तह निर्वाचनमा हार व्यहोर्नुपरेको बझाङ कांग्रेसको निष्कर्ष छ। एमालेबाट दुई पटकसम्म निर्वाचित भएर मन्त्री भइसकेका पुराना नेता भानुभक्त जोशी अहिले नेकपा एसमा छन्। 

जोशीलाई टिकट दिनुपर्ने दबाबसहित बझाङमा नेकपा एसको दाबी गरिरहेको छ। टिकटमा नेकपा एसले बझाङ पाउने सम्भावना बढेलगत्तै कांग्रेसले पनि आफ्नो दाबी नछाड्ने निर्णय गर्दै आएको भए पनि सम्भावना टरेपछि कांग्रेसभित्र पनि हलचल मच्चिएको छ। 

बझाङ कांग्रेसले यसअघि पनि नेकपा एससँग तालमेल नगर्ने संकेत गरेको थियो। गत सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमितिले माओवादीसँग गठबन्धन गर्ने र नेकपा एससँग मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको थियो तर फेरि नेता सिंहले गठबन्धन मान्ने बताएपछि गठबन्धनभित्र हलचल मच्चिदै जान थालेको छ। 

'गठबन्धन नभएको भए जित पक्का थियो तर गठबन्धनका कारण कांग्रेसका उल्टै दुई उम्मेदवारले छबिसपाथिभेरामा हार व्यहोर्नुपर्‍यो। अझैं हामीले गठबन्धनलाई सहयोग गरि बस्नु?,' नेपाली कांग्रेस छबिसपाथिभेराका गाउँकार्यसमिति सभापति पाण्डव थापा भन्छन्। 

यस्तै नेविसंघ जिल्ला कार्यसमिति बझाङ सभापति दिपक भण्डारी भने गठबन्धनका नेताहरूले आगामी दिन युवा पंक्तिलाई कसरी आश्वस्त पार्छन त्यसैमा चुनावी नतिजा निर्भर रहने बताउँन्। 

उनी थप्दै भन्छन्, 'अहिले गठबन्धनका साझा उम्मेदवार भएर आउने भानुभक्त जोशी हिजोका एमाले हुन्। अब समाजवादी भएर लड्दैछन्। उनले विगतमा मौका पाउँदा के गरे भन्ने महत्वपूर्ण हुन्छ। कांग्रेसभित्र उम्लिएको ज्वालाजस्ता नेता कार्यकर्ता छन् कतिखेर के गर्छन् थाहा हुँदैन। त्यसैले गठबन्धनका उम्मेदवार जित्ने हार्ने हामी अहिले आँकलन गर्न सक्दैनौं।'

नेकपा माओवादीले भने पाँच दलीय गठबन्धनकै सर्कुलर अनुसार अगाडी बढ्ने जनाएको छ। माओवादीका युवा नेता तथा जयपृथ्वी नगरकमिटी इन्चार्ज नरेन्द्र खड्का भन्छन्। 'कांग्रेसभित्र के हुन्छ थाहा छैन तर नेकपा माओवादी केन्द्रका ९० प्रतिशतले गठबन्धनलाई नै सघाउँछन् पार्टीले निर्णय गरिसकेपछि।'

यता नेकपा एकीकृत समाजवादी भने प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ लगभग टिकट पाइसकेका नेता तथा पूर्व वनराज्यमन्त्री भानुभक्त जोशी एक्लै पनि बलिया उम्मेदवार भएको दाबी गर्छन्। 

समाजवादीका एक नेता भन्छन्, 'जुन लक्ष्य उद्देश्य राखेर गठबन्धन गरियो। त्यसलाई पुरा गर्न र संविधानको रक्षार्थ एक हुनैपर्छ। केन्द्रीय सर्कुलर अनुसार अघि बढ्नैपर्छ तर हैन हामी विद्रोह गर्छौ। हामीले टिकट पाएनौं किन सहयोग गर्ने भन्ने भयो भने पनि समाजवादी भर्खरै स्थापना भएको पार्टी भए पनि जितेर छोड्छ। विगतमा समाजवादीले सबैभन्दा इमानदारिता देखाएकै हो। अझैं देखाउँछ।'

यता बझाङमा एक्लै चुनावी मैदानमा होमिन लागेको नेकपा एमाले भने अहिले चुनावी विषयमा मौन बसेको छ। एमालेबाट विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता ऐन महर र निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेकी आशा कुमारी बिक मध्ये एक जनाले टिकट पाउने लगभग पक्का भएको बालकोट स्रोत बताउँछ। 

महरले स्थानीय तह चुनाव अघिबाट गृह जिल्लामा निकै सक्रियता देखाएका छन्। विध्यार्थी राजनीतिबाट विगतमा देशभरि चिनिए पनि जिल्लाभित्र उनको कमजोर पहुँच रहेको भन्ने टिकाटिप्पणी भइरहेका बेला उनले आफूलाई जनस्तरमा लैजान प्रयास गरिरहेका छन्। 

आफू युवा भएको र केन्द्रस्तरमा आफ्नो राम्रो पहुँच भएकाले आफूले जित्ने पक्का भएको महर दाबी गर्छन्। यता आशा कुमारी बिकले पनि आफ्नो जिल्लामा राम्रै पहुँच भएको र जनस्तरमा आफू पहिले देखिनै राम्रो पहिचान भएको नेताका रूपमा स्थापित भएको बताउछिन्। 

बझाङमा गठबन्धन र एमालेमा को बलियो ? 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न र संविधान बचाउनको लागि भन्दै नेपालमा गत जेठदेखि नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन बन्यो। 

तर गठबन्धनले कसरी हुन्छ एमाले अध्यक्ष केपी ओलीलाई विलय गराउनुपर्छ भन्ने मात्रै उद्देश्य राखेको नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणी दिक्षीत बताउँछन्। 

बझाङमा २०४८ यता यहाँ कांग्रेसले २ पटक निर्वाचन जितेको यो क्षेत्रमा नेकपा एमाले भने चार पटक विजयी भएको छ। २०४८ र ०५६ मा कांग्रेस विजयी हुँदा २०५१, ०६४, ०७० र ०७४ मा एमाले विजयी भएको थियो। 

एमाले पटक पटक विजयी हुनु र बझाङमा सबैभन्दा बलियो ठानिएको नेपाली कांग्रेसले हार खानुलाई बझाङमा सामान्य हिसाबले लिइन्छ। 

सामान्य हिसाबले यसकारणले लिइन्छ कि कांग्रेसभित्र चरम गुटबन्दी हुनु र जनअपेक्षित काम गर्न नसक्नु। अझै पनि गठबन्धनमा पुरानै नेताहरू आउनु र नयाँ पुस्तालाई स्थान नदिइनुले जनस्तरमा निराशा छाएको बझाङका युवा नेता दिलबहादुर खातीको भनाइ छ। 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न र संविधानमा बहुमतको सरकार हटेपछि हाल गठबन्धनको सरकारले मुलुक चलाइरहेको छ। 

राजनीतिमा सुधार नआएका कारण नेताको ध्यान सुशासनतर्फ भन्दा पनि भ्रष्टाचार र कुशासनतर्फ अग्रसर भइरहेको अर्का युवा दिपेन्द्र भण्डारीले बताएका छन्। 

नेताहरूले आफू अनुकूल वातावरण बनाउने र चुनाव जित्ने मात्र लक्ष्य राखेको उनको बुझाइ छ। जसअनुरुप पाँच दलीय गठबन्धन सरकारले चुनावमा पनि गठबन्धनकै रूपमा जाने निर्णय गरेको अर्का युवा रमेश धामीको भनाइ छ। 

राजनीतिक दलहरू आफ्ना सिद्धान्तभन्दा पनि परिस्थिति अनुकूलको सिद्धान्तमा अभ्यस्त रहन थालेका कारण सबैजसो राजनीतिक दलमा असन्तुष्टि बढिरहेको उनको बुझाइ छ। 

युवाको रोजाइमा युवा नेता

आसन्न निर्वाचनमा बझाङका जनतामा फरक धारणा आएको छ। विगतमा दुई-दुई पटक प्रतिनिधि सभा सदस्य भइसकेका एकीकृत समाजवादीका नेता भानुभक्त जोशी, नेपाली कांग्रेसका नेता अर्जुनजंङ्ग बहादुर सिंहले जिल्लाका लागि आफ्नो कार्यकालमा उपलब्धीमुलक काम नगरि आफू र आफन्त मात्रै मोटाउने काम गरेको बेलाबेला आरोप खेप्दै आएका छन्। 

अहिले सामाजिक सञ्जालमार्फत धेरैजसो युवाहरूले आफ्नो धारणा व्यक्त गर्दै युवा पुस्तालाई बझाङको नेताका रूपमा स्थापित गर्न युवालाई नै अगाडी सार्नु पर्ने धारणा राखेका छन्। 

अब आउँदो ४ मंसिरमा संघ र प्रदेशको निर्वाचनमा पनि एकातिर क्षमताविहीन र वृद्ध नेतालाई बिदाइ गर्ने र सक्षम, सवल र युवा नेतालाई निर्वाचित गराउने बहस पनि चलेको छ। 

'बझाङमा युवा नेता प्रजातन्त्रमा सवल नेतृत्व चुन्ने जनताको दायित्व हो। यदि सही नेतृत्व चुन्न नसके फेरि पनि अर्को पाँच वर्ष पछुताउनुपर्ने अवस्था हुनेछ। वर्तमान राजनीतिक दलको पुरानो नेतृत्वबाट जनता आजित भइसकेका छन्।,' शिक्षक शेर बहादुर ओलीले भने। जनताले विकल्प खोजेका छन्।' 

विकल्प रोज्ने उत्तम समय चुनाव नै भएको गठबन्धनका नेताहरूले नै बताएका छन्। बझाङबाट युवा पुस्तामा एमालेबाट ऐन महर अघि सारिएका छन् भने गठबन्धनले पुराना नेताहरूलाई निरन्तरता दिएको छ। 

विध्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा होमिएका महरलाई पछिल्लो समय युवाहरूले बझाङमा युवाको नेतृत्वमा विकास तथा समाज रुपान्तरण गर्ने भएकाले महरलाई अघि सार्नुपर्नेमा युवाहरूले जोड दिन थालेका छन्। 

जिल्लाबाट युवा नेतृत्व आउनुपर्नेमा गठबन्धन दलका युवाहरूले समेत समर्थन गर्न थालेका छन्। पार्टीमा युवा भन्नाले उमेरको आधारमा होइन, विचारको आधारमा युवा हुनुपर्छ भन्ने जमात पनि बढ्न थालेको छ। 

गठबन्धनको चुनावी रणनीति

गठबन्धन दलले सुत्र प्रयोग गरेर आफ्नो पोल्टामा संघीय चुनावको मतपरिणाम पार्न खोजेको छ। प्रतिपक्ष दल एमालेबाट संघमा प्रत्यक्षतर्फ जिल्लाबाट सिफारिस भएकी आशा विकलाई सहयोग गर्ने आश्वासन दिएर उस्काउन थालेको स्रोतले बताएको छ। 

ऐन महरले टिकट पाउँदा सिंगो गठबन्धनलाई चुनौती हुने भएकाले गठबन्धनले केन्द्रमा राम्रो पहुँच भएको मानिएकी निवर्तमान सांसद आशा विकलाई उस्काएर महरलाई पछाडी पार्ने प्रयास भइरहेको उक्त स्रोतले बताएको हो। 

गठबन्धन दलका युवा नेताहरूले नै खुलेर सामाजिक सञ्जालमा महरलाई सहयोग गर्ने भनेपछि गठबन्धनले उक्त सुत्र प्रयोग गरेको छ। 

कांग्रेसले टिकट नपाएको खण्डमा युवा नेता महर गठबन्धन दलका केहि नेताहरूसंग निकट भएकाले र महरका बुवा केहि समय अघिसम्म कांग्रेसमा आवद्ध भएकाले पनि महरलाई गठबन्धनका नेताहरूले सहयोग गर्ने देखिन्छ। 

टिकटका लागि रस्साकस्सी 

प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ सिटबाँडफाँट गठबन्धन दलले करिब टुंङ्गो लगाई सकेको अवस्था छ भने, प्रदेश सभाका लागि छलफलमा जुटिरहेको अवस्था छ। 

नेकपा एमालेले पनि प्रतिनिधिसभा र प्रदेश सभाको सिट बाँडफाँट यसै असोज महिनामा सिध्याउने गरी तयारी भइरहेको जनाएको छ। 

बझाङका लागि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले टिकट पाउने लगभग निश्चित छ भने नेकपा एमालेमा ऐन महर र आशा कुमारी विकको नाम चर्चामा छ। 

प्रदेश सभातर्फ गठबन्धनका कांग्रेसका पृथ्वीबहादुर सिंह, माओवादी केन्द्रका मिन बहादुर कुँवर र भिम भण्डारीको नाम चर्चामा रहेको छ। त्यस्तै एमालेबाट दमन भण्डारी र अफिलाल ओखेडाको नाम चर्चामा छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.