बाहिरिन भक्तपुरकी कुमारी
भक्तपुर : तलेजु भवानीको प्रतीक मानिने भक्तपुरकी जीवित देवी एकान्त कुमारीलाई सोमबार बाहिर ल्याइएको छ। उनलाई भक्तपुर नगरपालिका-१० क्वाठण्डौंस्थित प्रसन्न विहार नजिकैको कुमारी घरबाट पूजाका लागि निकालिएको हो।
एकान्तकुमारीलाई कुमारी घरबाट निकालेर बजार परिक्रमा गर्दै भक्तपुर दरवार स्क्वायरस्थित चर्तुब्रम्ह महाविहारमा लगिएको थियो। त्यसपछि भक्तपुरको तलेजुबाट लगेर पूजा गरिएको छ।
प्रत्येक वर्ष दसैंको पहिलो दिन प्रतिपदा घटस्थापनाका लागि कुमारीलाई यसरी नै बाहिर ल्याउने परम्परा अनुसार बाहिर ल्याइएको हो।
पहिलेदेखि चल्दै आएको प्रचलन अनुसार कुमारीलाई कुमारी घरबाट निकालेर बजार परिक्रमा गराउँदै दरवार स्क्वायरस्थित चर्तुब्रम्ह महाविहारमा लगेर पूजाआजा गरिएको हो।
कुमारीलाई बाहिर निकालेर नगर परिक्रमा गराउने क्रममा कुमारीका दलबलसमेत सहभागी हुने जनाइएको छ। कुमारीका सुसारे, कुम्ह नकीं (नाइके) लगायतका व्यक्तिहरू कुमारीलाई बोकेर ल्याइएको हुन्छ।
घटस्थापनाको दिन भक्तपुरकी एकान्त कुमारी लुनिभा बज्राचार्यलाई नगर परिक्रमा गराइएको हो।
अन्य स्थानका कुमारीहरूको दसैंसँगै जात्रा तथा पर्व विशेषमा पूजा हुन्छ भने भक्तपुरकी कुमारीलाई दसैंमा मात्र पूजा गरेर नगर परिक्रमा गराइन्छ।
काठमाडौँ र पाटनका कुमारीहरू विशेष दिनबाहेक अन्य समयमा बाहिर निस्कन पाउँदैनन्। तर, भक्तपुरकी कुमारी अन्य दिन पनि हिँडडुलका लागि स्वतन्त्र हुन्छिन्।
कुमारीका पुजारी नरेन्द्रप्रसाद जोशीले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि दसैंको प्रतिपदा घटस्थापनाको दिन कुमारीलाई बाहिर ल्याइएको जनाए। उनका अनुसार यसअघि कुमारी कुमारीघरमा हुन्छन्।
अन्य बेला आफनो घरमै रहने कुमारीलाई दसैको घटस्थापना आउनुअघिको आइतबार वा बुधबार घरबाट कुमारीघरमा ल्याइन्छ। कुमारी दसैं अवधिभर कुमारी घरमै बस्छिन्।
दसैंभरि सुसारे नाइकेले एकान्तकुमारीको नित्यपूजा र रेखदेख गर्ने गर्छन्।
कुमारीलाई प्रतिपदा घटस्थापनादेखि महाअष्टमीसम्म यसरी नै प्रत्येक दिन कुमारी घरबाट बजार परिक्रमा गराउँदै दरवार स्क्वायरस्थित चर्तुब्रम्ह महाविहारमा लगेर पूजाआजा गरिन्छ।
पूजाआजापछि कुमारी प्रत्येक दिन त्यहाँबाट फर्केर कुमारी घरमै वास बस्ने हुन्छन्।
महानवमीको दिन भने कुमारीलाई कुमारी घरबाट भक्तपुर दरवार स्क्वायरस्थित तलेजु घर भित्रको कुमारी चोकमा कुमारीका पूजारी नरेन्द्रप्रसाद जोशीले पूजाआजा गर्ने हुन्छ।
तलेजुको तर्फबाट राजोपाध्याय, जोशी, कर्माचार्य पुजारी नाइकेलगायतले पूजाआजा गरेको हुन्छ। कुमारी बनेकी बालिकाले कुमारी बनेको अवधिभर कुखुराको मासु र अण्डा खान नहुने प्रचलन रहेको छ।
त्यस्तै अरूको जुठोसमेत खान नहुने मान्यता छ। कुमारी घरमा भक्तजन आएका बेलाबाहेक अन्य बेला स्कुल जान पाउँछिन् तर दसैं अवधिभर भने कुमारी आगमछें कुमारी घरमै बस्नुपर्ने भएकाले स्कुल जानबाट बञ्चित हुन्छिन्।
इतिहासविद्हरूका अनुसार भक्तपुरमा नेपाल संवत् ६११ मा राय मल्लले कुमारी पुज्ने चलन चलाएका हुन्। भक्तपुरको बज्राचार्य तथा शाक्य वंशीय कन्यामात्र एकान्त कुमारी हुनुपर्ने प्रावधान छ।
कुमारी हुने सुकन्या सबै गुणले युक्त, कुनै दाग, घाउ, चोटपटक नभएको, अपाङ्गता नभएको हुनुपर्ने प्रचलन रहेको छ।