स्याउ प्याकिङ गर्न कार्टुन वितरण
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदान सहुलियतमा स्याउ प्याकिङ गर्ने कार्टुन वितरण गरेको छ।
घरपझोङले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार पाँचवटै वडाका स्याउ किसानलाई स्याउ प्याकिङ गर्ने कार्टुन वितरण गरेको हो।
स्थानीय स्याउ किसानका माग संकलनका आधारमा पाँच केजी स्याउ अट्ने ६ हजार ३५० थान कार्टुन खरिद गरी मुस्ताङ ल्याएको थियो।
पालिकाले पाँचवटै वडाहरूलाई कार्टुन किसानलाई वितरण गर्ने जिम्मा दिइसकेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मुस्ताङले स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा २० केजी अट्ने स्याउ प्याकिङ गर्ने कार्टुन वितरण गरेकाले घरपझोङले कार्टुनमा डुप्लिकेशन हुन नदिन पाँच केजी अट्ने कार्टुन वितरण गर्न थालेको हो।
घरपझोङले स्थानीय स्याउ किसानलाई ५२ रुपैयाँ पर्ने कार्टुन ७५ छुट गरी प्रतिकार्टुन १३ रुपैयाँमा उपलब्ध गराएको हो। पालिकाले खरिद गरेका स्याउ कार्टुन गापा अध्यक्ष मोहनसिंह लालचनले वडास्तरमा हस्तान्तरण गरेका छन्।
अध्यक्ष लालचनले ठूला स्याउ किसानले बगैंचा नै ठेक्का लगाएर व्यापारीलाई बिक्री गर्ने र साना व्यापारीले फुटकर बिक्री गर्ने भएकाले पालिकाले पाँच केजीको कार्टुन अनुदानमा वितरण गरेको बताए।
'मुस्ताङ आउने पर्यटकले कोशेलीका रूपमा स्याउ खरिद गरी लैजान्छ, हामीले प्लास्टिक मुक्त पालिका बनाउन चाहेका छौं,अध्यक्ष लालचनले भने, 'पर्यटकले कोशेली लैजान सजिलो होस् र किसानले राहत होस् भन्ने हेतुले स्याउ कार्टुन् वितरण गर्न थालेका हौं।'
पालिकाले साना स्याउ किसानलाई लक्षित गरी पाँच केजीको कार्टुन वितरण गरेको कृषि अधिकृत रोशन थकालीले बताए।
मुस्ताङ आएका पर्यटकले थोरै मात्रामा स्याउ खरिद गर्ने र स्याउ लैजाने प्याकिङ कार्टुन नहुँदा समस्या पर्ने गरेकोमा पालिकाले त्यसलाई सम्बोधन गरेको कृषि अधिकृत थकालीको भनाइ छ।
मुस्ताङमा गत भदौदेखि स्याउ टिप्न सुरु भएको हो। मुस्ताङमा उत्पादित स्याउमध्ये करिब ३० प्रतिशत स्याउ जिल्लामै खपत हुने गरेको छ।