बागमतीमा टिकटको दौडधुप तीव्र
हेटौंडा : देशकै सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको बागमती प्रदेशमा राजनीतिक दलहरूभित्र प्रत्यक्ष निर्वाचनको लागि टिकटको रस्साकस्सी सुरु भएको छ। गठबन्धन दलभित्र सिट बाँडफाट पनि पेचिलो बन्दै गएको छ। प्रदेशको ६६ वटा प्रदेश र ३३ वटा संघीय निर्वाचन क्षेत्रका लागि प्रमुख राजनीतिक दलभित्र टिकटको लागि तीव्र दौडधुप छ। प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरूले आकांक्षीहरूको नाम संकलन गरेर निर्णयका लागि प्रक्रिया अघि बढाएको छ।
२०७४ को प्रदेशभा निर्वाचनमा बहुमत प्राप्त दल नेकपा एमालेलाई यो पटक भने विरासत कायम राख्न चुनौती छ। २०७४ मा प्रत्यक्ष र समानुपातिक गरी ५८ जना प्रदेशसभा सदस्य जितेको एमालेलाई यसपटक भने पार्टी फुटको असर छ। ९ जना प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यसहित १३ जना प्रदेशसभा सदस्यले एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी रोजेका छन्। ‘२०७४ को निर्वाचनमा आएको सिटभन्दा नघट्ने रणनीतिका साथ अघि बढिरहेका छौं’, एमाले बागमती प्रदेश सचिव विजय सुवेदीले भने, ‘एमालेको जनमत घटेको छैन। फुटको असर हामीलाई पर्दैन।’ एमालेले प्रदेशसभामा ४२ सिट प्रत्यक्ष जितेको थियो। २०७९ को स्थानीय निर्वाचनमा १४ स्थानीय तहको प्रमुख/उपप्रमुख, १३ स्थानीय तहको प्रमुख र २२ स्थानीय तहको उपप्रमुख जितेर एमाले प्रदेशमा दोस्रो दल भएको छ।
गठबन्धन दलभित्र भने सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन। गठबन्धनभित्र कांग्रेसले सबैभन्दा धेरै ४० सिट दाबी गरेको छ। कांग्रेसले २०७४ मा प्रत्यक्ष सात सिट मात्रै जितेको थियो। एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनविरुद्ध एक्लै चुनावमा होमिएको कांग्रेसको प्रदेशसभामा समानुपातिकसहित २१ जना प्रदेशसभा सदस्य थिए। ‘योपटक हामीले स्थानीय तहेको मत आँकडाअनुसार ४० सिटभन्दा बढी जित्छौं’, कांग्रेसका नेता एवं बागमती प्रदेश भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङले भने, ‘गठबन्धन दलहरूभित्र पनि यहीअनुसार कुरा भइरहेको छ।’ कांग्रेसले २०७९ को स्थानीय निर्वाचनमा प्रदेशको ११९ स्थानीय तहमध्ये १७ स्थानीय तहको प्रमुख/उपप्रमुख, ४१ स्थानीय तहको प्रमुख र ३२ स्थानीय तहको उपप्रमुख जितेको थियो। यो आँकडाअनुसार प्रदेशमा कांग्रेस पहिलो दल हो।
गठबन्धनभित्र माओवादी केन्द्रले प्रदेशसभा सदस्यका लागि ३३ सिट दाबी गरेको छ। ‘हामी कम्तीमा पनि २८ सिट जित्छौं भन्ने आन्तरिक मूल्यांकन छ’, माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष प्रेमबहादुर पुलामीले भने, ‘यही १६/१७ गतेसम्म सबै विषय गठबन्धनभित्र टुंगो लगाउन पहल भइरहेको छ।’ २०७४ मा माओवादीले एमालेसँगको गठबन्धनमा बागमती प्रदेशमा १५ क्षेत्रमा प्रत्यक्ष निर्वाचन जितेको थियो। समानुपातिकसहित २३ प्रदेशसभा सदस्य रहेको माओवादी प्रदेशसभामा भने एमालेपछि दोस्रो दल थियो।
स्थानीय निर्वाचन २०७९ मा माओवादीले नेपाली कांग्रेससँगको गठबन्धनमा ४ स्थानीय तहमा प्रमुख/उपप्रमुख, २३ स्थानीय तहमा प्रमुख र २५ स्थानीय तहमा उपप्रमुख जितेको छ। स्थानीय तहको मत आँकडाअनुसार प्रदेशमा माओवादी तेस्रो दल हो। हाल बागमतीको नेतृत्व गरिरहेको दल एकीकृत समाजवादीले भने २०७४ मा प्रत्यक्ष निर्वाचन जितेको क्षेत्र नछाड्ने बताएको छ।
एमाले विभाजनपछि ९ जना प्रत्यक्ष निर्वाचित र ४ जना समानुपातिक प्रदेशसभा सदस्य एकीकृत समाजवादीमा आबद्ध भएका थिए। ‘हामीले प्रदेशमा २० सिट दाबी गरेका छौं। प्रत्यक्ष जितेको क्षेत्र छाड्दैनौं’, समाजवादी बागमती प्रदेशका अध्यक्ष सावित्रा भुषालले भने, ‘गठबन्धनभित्र स्थानीय निर्वाचनमा राम्रो सहकार्य भएन। प्रदेश र संघीय निर्वाचनमा भने त्यस्तो हुँदैन भन्ने अपेक्षा छ।’ स्थानीय निर्वाचन २०७९ मा समाजवादीले पाँच स्थानीय तहको प्रमुख र चार स्थानीय तहको उपप्रमुख जितेको छ।
प्रदेश छाडेर संघमा दौडधुप २०७४ मा प्रदेशसभा जितका प्रायः नेताहरू संघीय प्रतिनिधिसभा सदस्यको लागि दौडधुपमा छन्। संघमा मन्त्रीदेखि मुख्यमन्त्री भएकाहरू पनि संघमै निर्वाचन लड्ने तयारीमा छन्। वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रदेश छाडेर संघीय निर्वाचन लड्न टिकटका लागि दौडधुपमा छन्। ‘म पहिला पनि संघमै थिए। केन्द्रीय नेतृत्वलाई सहयोग गर्न पनि मैले यो पटक संघमा लड्नुपर्छ’, उनले भने, ‘त्यसको तयारीमा म जुटिसकेको छु।’ एमालेभित्र पनि प्रदेशभन्दा संघमा आकांक्षा राख्ने नेता धेरै छन्। ‘आन्तरिक दौडधुपमा नेताहरू हुनुहुन्छ। प्रदेशभन्दा संघमा बढी आकर्षण देखियो’, एमाले बागमती प्रदेश सचिव सुवेदीले भने, ‘संघको टुंगो लागेपछि मात्र प्रदेशको कुरा आउने देखियो।’
पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य चुनाव नलड्ने भएका छन्। एमालेबाट प्रदेश सरकारमा मन्त्री भएका प्रायः नेताहरू संघीय निर्वाचनको लागि टिकटाको दौडधुपमा छन्।कांग्रेसका नेताहरूले पनि प्रदेशभन्दा संघको टिकटलाई प्राथमिकता दिइरहेका छन्। ‘नेताहरू सबै टिकटका लागि दौडधुपमा छन्। अलि वरिष्ठ र पुराना नेताहरू सबैले संघलाई प्राथमिकत दिएका छन्’, कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले भने ।
मुख्यमन्त्रीको उम्मेदवार को ?
मंसिर ४ नजिकिँदै गर्दा बागमती प्रदेशको नयाँ मुख्यमन्त्री को बन्ला भन्ने पनि चर्चा सुरु भएको छ। त्यसका लागि दलहरूले मुख्यमन्त्रीका रूपमा पात्र अघि सार्न भने सकेको छैन। एमालेमा संघको टिकट टुंगो लागेपछि मात्र प्रदेशको मुख्यमन्त्रीको लागि सम्भावित पात्र टुंगो लाग्ने भएको छ।
‘अहिले प्रायः नेताहरू संघकै टिकटको लागि दौडधुपमा हुनुहुन्छ। संघमा नगएका र मिलाउनुपर्ने नेताहरू नै प्रदेशमा आउने हो’, एमाले बागमती प्रदेशका सचिव सुवेदीले भने, ‘संघको टिकट टुंगो लागेपछि मुख्यमन्त्रीको उम्मेदवार पनि टुंगो लाग्छ।’ प्रदेशमा मन्त्री भएका एमालेका पोलिटब्युरो सदस्य रामेश्वर फुयाँलले मात्र हालसम्म मुख्यमन्त्रीको अकांक्षा राख्दै प्रदेशमा चुनाव लड्ने बताएका छन्।
कांग्रेसमा भने कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ प्रदेशसभा सदस्य निर्वाचित भएर मुख्यमन्त्री बन्ने दाउमा छन्। उनलाई चुनौती सिन्धुपाल्चोकबाट मोहन बस्नेतले दिने सम्भावना रहेको कांग्रेस निकट नेताहरू बताउँछन्।
सभामुख अग्नी सापकोटा र उनको क्षेत्र एउटै भएकाले बस्नेत संघमा टिकट नपाए मुख्यमन्त्री ग्यारेन्टी गरेर प्रदेशमा आउने तयारीमा छन्। माओवादीभित्र भने शालिकराम जम्कट्टेललाई सम्भावित मुख्यमन्त्रीका रूपमा अघि सारिएको छ। हाल आर्थिक ममिला तथा योजनामन्त्री रहेका जम्कट्टेल मुख्यमन्त्रीको दाबीसहित फेरि प्रदेशमै धादिङबाट निर्वाचन लड्दैछन्।