सहयोगी भावनाको विकास गरौं : प्रदेश प्रमुख शर्मा
हेटौंडा : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सुन्दर र समुन्नत समाज निर्माणका लागि सबैले आफूमा सहयोगी भावना जागृत गराउँदै लैजानुपर्ने बताएका छन् ।
सहयोगी मन नेपालको चौथो स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले सबैले आफूमा मानवीय व्यवहार अन्तरगत हार्दिकता, सामाजिक सहिष्णुता एवम् बन्धुत्व र पारस्परिक मेलमिलापको भावना जागृत गराई व्यवहारमा उर्तान सके उत्कृष्ट समाजको निर्माण हुने धारणा व्यक्त गरे ।
‘हामीले आफू, आफ्ना र आसपासमा भएकालाई मात्रै होइन, जसलाई सहयोग आवश्यक छ, जसले सहयोग याचना गरिरहेको छ र वास्तवमै जो पीडित छ, त्यो व्यक्ति वा वर्गप्रति पनि सम्मान एवम् सहयोगको भावना जागृत गराउँदै लैजानुपर्छ, 'उनले भने ।
वृद्धवृद्धा, अशक्त, विपन्न वर्ग, एकल महिला, जनजाती तथा अल्पसंख्यक समूदायलगायतको हितमा राज्यले विभिन्न योजना बनाइ कार्यान्वयन गरिरहेको बताउँदै राज्य अझै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।
उनले नेपालमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक समाजको अध्यास रहेको भन्दै धर्म, संस्कृति, रितीरिवाज तथा परम्पराको सम्बद्र्धन गर्नुपर्ने उल्लेख गरे ।
सो अवसरमा प्रदेश प्रमुख शर्माले सहयोगी मन नेपालद्वारा प्रत्येक वर्ष गरिँदै आएको एकजना वृद्धा र एकजना अशक्तलाई सम्मान गरे । सामुदायिक विद्यालयका अध्ययनरत एकजना जेहेन्दार विद्यार्थीलाई पनि छाज्ञवृत्ति प्रदान गरिएको संस्थाका अध्यक्ष केदार प्रसाद चौलागाईंले बताए ।