बागमतीमा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी
हेटौंडा : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।
गएको भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय भई असोज ११ गते प्रदेश प्रमुख कार्यलयमा पेस भएको अध्यादेश प्रदेश प्रमुख शर्माले आज जारी गरेका हुन्।
उनले नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए।
अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवासम्बन्धी काम कारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नीतिगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ।
त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ।
अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी 'प्रदेशभित्रका अस्पतालको संचालन र व्यवस्थापन आदेश, २०७५' खारेज गरेको छ।