१३३ जना विद्यार्थी सम्मानित
भक्तपुर : सेवा निवृत्त शिक्षक समाजले 'शैक्षिक अनुभव' नामक पुस्तकको बुधबार भक्तपुरमा विमोचन गरेको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुस्तकको ११औं अंकको विमोचन गरेका हुन्।
कार्यक्रममा भक्तपुर नगरका विभिन्न विद्यालयहरूमा अध्ययनरत १३३ जना विद्यार्थीहरू सम्मानित भएका छन्। भक्तपुर नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम ख्वपको पहिचान विषयमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी सम्मानित भएका हुन्।
सेवा निवृत्त शिक्षक समाजको साधारणसभा, शैक्षिक अनुभव विमोचन, विद्यार्थी तथा शिक्षक सम्मान कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मान गरेका हुन्।
भक्तपुर नगरका विभिन्न स्कुलहरूमा नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमको वार्षिक परीक्षामा शतप्रतिशत, ९९ र ९८ अंक ल्याउन सफल नगरभरिका १३३ विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरी सम्मान गरिएको हो।
२३ वटा सामुदायिक विद्यालयबाट चार जना प्रथम, सात द्वितीय र सात तृतीय गरी १८ जना र ३० वटा संस्थागत विद्यालयबाट ३७ प्रथम, १२ द्वितीय र ८४ जन तृतीय विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको हो। कार्यक्रममा तीन जना सेवा निवृत वरिष्ठ शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख प्रजापतिले देशभर फैलिएको डेंगु नियन्त्रणका लागि विद्यालय सहकारी तथा सरोकारवाला सबैसँग सहकार्य गर्नुपर्नेमा जोड दिए।
सेवा निवृत्त शिक्षक समाजका संस्थापक अध्यक्ष नाति कवा, जिल्ला शिक्षा समन्वय समिति भक्तपुरका निमित प्रमुख कर्णबहादुर बुढाथोकी, सम्मानित निवृत्त शिक्षक प्राध्यापक उद्वव सुजखू, विमोचित पुस्तकका सम्पादक मण्डलका सदस्य ज्ञानसागर प्रजापतिले पुस्तकमा १९ जना शिक्षकहरूले विभिन्न विषयमाथि आफ्नो अनुभवको कलम चलाएको जनाए।
सेवा निवृत्त शिक्षक समाजका संस्थापक भक्त राजभण्डारीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा उपाध्यक्ष रामगोपाल कर्माचार्य र कोषाध्यक्ष विश्वराम कवां लगायतले पनि शिक्षाक्षेत्रका विभिद विषयमा चर्चा गरेका थिए।