शीर्षकबिनाका कथा
शीर्षकबिनाका कथा र लक्ष्यबिनाका बाटा धेरै हुन्छन्। कथा विगत हो भने लक्ष्य भविष्य। कथा र लक्ष्यहरू विश्वास या घातसँग जोडिएका हुन्छन्। विश्वास या घात यी गुण दुई पक्षमा आधारित छन्। एउटा विश्वास या घात दिने अर्थात् दिने र अर्को लिने। लिने र दिनेबीचको सम्मिश्रणमा विश्वास र घात स्थापित हुन्छ। फूल झर्नकै लागि फुल्छ। त्यसैगरी संसारमा जीवहरू पनि मर्नकै लागि जन्मन्छन्। फूलले सुवास दिन्छ। यो उसको पहिचान हो। उसलाई थाहा हुँदैन कि भोलि बिहान मन्दिरमा चढ्छु या घाटमा। यद्यपि श्रद्धापूर्ण समर्पणमा नै चढ्छ। कहीँ सौन्दर्यमा सजिइदिन्छ त कहीँ कसैको भोक मेटाउन। कसले कसरी के प्रयोजनमा प्रयोग गर्ने हो पत्तो हुन्न।
कति कथाहरू लेखिएका छन् ? ती सबै कथामा कति कथाहरू शीर्षकबिना नै लोकप्रिय पनि छन्। कति लक्ष्यहरूले लक्ष्यहीन भएर नै पनि अनुयायीहरूको साथ पाइरहेका पनि छन्। लोकप्रिय हुनु र जीवन्त रहनु जीवनका फरक धार हुन्। कथा वर्तमान होइन, विगत हो। विगतमा छाडेका छाप र पहिचानको दृष्टिकोण हो कथा। लक्ष्य सपना हो, भविष्यरूपी कल्पना हो। यो आत्मविश्वासको जगमा अडेको हुन्छ। संसारको सर्वोत्कृष्ट सृष्टि हो, मानिस। चेतनशील र संवेदनशील छ। आफ्नो भाषा आफैं बनाउँछ र आफ्नै भाषा र शैलीमा अरू जीवलाई पनि कजाउँछ। कुनै दुर्घटना नभए मानिसको जीवनले तीन चरण पार गर्छ। बाल, युवा र वृद्ध। चरणअनुसार यसले बोकेको कथा र लक्ष्यहरू पनि फरकफरक हुन्छन्।
आवश्यकताले रूपान्तर गरेका अनुभूतिहरू विभिन्न चरण हुँदै कथा बन्छन्। जीवनका तीन चरणमा कति लक्ष्यहरू कुहिरोको कागसरी रुमलिन्छन्। भरोसाका बाँधहरू भत्काउँदै लक्ष्यहीन अवस्थामा बगिरहेका पनि हुन्छन्। विश्वासका आस्थाहरू निमोठ्दै कथाहरू बनिरहेका हुन्छन्। जब मानिसले लक्ष्य निर्दिष्ट गर्न सक्दैन, तब लक्ष्यहरू आफैंमा लक्ष्यहीन बनिदिन्छन्। यसैगरी सबै कथा मानिसले सुनाउन सक्दैन। ती सुनाउन नसकेका कथाहरू शीर्षकविहीन नै हुने हुन्। मानिसले सोच्न थाल्छ कि जीवन आफ्नै हो, जसरी बाँचे पनि हुन्छ। मानिसले शाश्वत सत्य र जीवनको खोज के हो थाहा पाउन सक्नुपर्छ। सारा सिद्धान्त, वाद, सम्प्रदाय, धर्मभन्दा माथि उठेर जीवनको उद्देश्यलाई साक्षात्कार गर्नेले कथा लेख्ने हुन्।
आत्मबोधमा निहित आत्मसम्मानले कोरिएका रेखाहरूमा आफूलाई डोहोर्याउनेहरूले लक्ष्य साँध्ने हुन्। लक्ष्य साँधिएका अनुभवले माझिएका कथाहरू नै जीवन्त हुने हुन्। अनुयायीहरू जन्मने हुन्। कथाका पात्रहरूमा झल्किएको स्वच्छताले कथालाई शीर्षक प्रदान गर्छ। मानव हुन आवश्यक शारीरिक बनावटका आधारमा मानिसको सृष्टि भएको हुन्छ। मुख, कान, नाक, आँखालगायत सबै अंग जहाँ हुनुपर्ने हो सबैको त्यहीँ नै छ। जे गर्नुपर्ने हो ती अंगले त्यही नै काम गरिरहेका छन्। मुखले बोलिरहेका छन्। कानले सुनिरहेका छन्। आँखाले देखिरहेका छन्। यिनले गर्ने क्रिया र प्रतिक्रियाहरूमा सिर्जित सोचहरूलाई एकरूपतामा गाँस्न भने सकेन।
बोल्ने मुख सबैको उही ठाउँमा त छ तर बोलीवचनमा भने समानता छैन। न त आँखाले देखेका र कानले सुनेका तथ्यहरूउपर बनेका दृष्टिकोण तथा सोचहरू नै समान छन्। कानले के सुन्ने र आँखाले के देख्ने आफ्नै चाहनाअनुसार देख्न र सुन्न लालायीत हुन्छ मानिस। उसको चाहना मनको नियन्त्रणमा हुन्छ। सृष्टिको अस्तित्वको रूपमा रहेको मानव, जीवजन्तु, मौसम सबै एकअर्काका परिपूरक हुन्। मानिसको मनलाई प्रकृतिले पनि प्रभाव पारिरहेको हुन्छ। भनिन्छ, पञ्चतŒवबाट मानव शरीर बनेको हो। मौसमले तनलाई प्रभावित पार्ने र तन प्रभावित भएपछि स्वाभाविक रूपमा मन प्रभावित हुने नै भयो। हेराइ र बुझाइले सोच पैदा गर्छ र सोचले मनलाई नियन्त्रण गर्छ।
सागरझैं गहिरो र आकाशझैं विशाल मनमा लक्ष्यहरू हराउन पुग्छन्। अथाह शक्तिको धनी मस्तिष्कले फरकफरक सोच पैदा गर्न थाल्छ। मन र मस्तिष्क एउटै ध्वनिमा गुञ्जन छाड्छ। अनुकूल प्रतिकूल, सहज असहजका अवस्थाहरू निर्माण हुन्छन्। त्यसैले प्रत्येक मानिसको हेराइ र बुझाइले दृष्टिकोण तय गर्छ। किन जन्मिन्छन् शीर्षकबिनाका कथाहरू र लक्ष्यविहीन दोबाटोहरू ? विश्वास र भरोसाको टेकोमा कोरिएका चित्रहरू टेको खुस्किँदा भत्किने नै भए। बिग्रिने नै भए।
यदि यो संसारमा सबैभन्दा हलुंगो र सबैभन्दा गह्रौंका साथै तीव्रगति मापनको कुनै एउटै वस्तु छ भने त्यो हो मानिसको मन। सबैभन्दा बलियो र सबैभन्दा कमजोर अर्को वस्तु हो, विश्वास। मन र विश्वासलाई कुन रूप दिने उसको लक्ष्यले कथा निर्माण गर्छ। वर्तमान वैज्ञानिक युगले साक्षीका रूपमा तथ्यहरूको खोजी गर्छ। मानिसले आफ्नो जन्म र मृत्युबीचको यात्रालाई तथ्यपरक ढंगले स्थापित गराउन चाहँदा तथ्यहरू साक्षीको रूपमा रहने हुन्। आफ्नो मनलाई नियन्त्रण गर्दै विश्वासका धरोहरहरूमा यात्रा तय गर्नुपर्ने हुन्छ। जब मानिसले मन र विश्वासलाई सन्तुलित बनाउन सक्दैन अनि जन्मिन्छन्, शीर्षकबिनाका कथा र लक्ष्यबिनाका दोबाटाहरू।