भारतमा अविवाहित महिलाले पनि २४ हप्तासम्म गर्भपतन गराउन पाउने
नयाँ दिल्ली : भारतीय सर्वोच्च अदालतले सबै महिलालाई सुरक्षित र कानुनी रूपमा गर्भपतन गर्ने अधिकार रहेको बताएको छ । अदालतले मेडिकल टर्मिनेसन प्रेग्नेंसी अन्तर्गत अविवाहित महिलाले पनि अब २४ हप्तासम्मको गर्भपतन गराउन पाउने निर्णय गरेको छ।
अविवाहित महिलाको गर्भपतनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै अदालतले यस्तो बताएको हो ।
यस मुद्दाको सुनुवाइका क्रममा न्यायमूर्ति डीवाई चन्द्रचुडले भने, ‘जसरी समाज परिवर्तन हुन्छ, समाजको नियम पनि परिवर्तन हुन्छ, त्यसैले कानून पनि स्थिर रहनु हुँदैन ।'
उनले असुरक्षित गर्भपतन रोक्न सकिने बताए। उनले भने, 'मानसिक स्वास्थ्य सम्बन्धी बुझाइमा थप विचारको आवश्यकता छ। गर्भवती महिलाको वातावरणको ख्याल राख्नुपर्छ। विवाहित महिला पनि श्रीमानको जबरजस्ती र बलात्कारको सिकार हुन सक्छन् ।'
सर्वोच्च अदालतले अहिलेसम्म २० देखि २४ हप्तासम्मको गर्भपतनको अधिकार विवाहित महिलालाई मात्र दिएको थियो।